Comments Add Comment

जलवायु परिवर्तनले पानीको मुहान सुक्यो : नास्ट

१५ असार, प्यूठान । जलवायु परिर्वतनले जिल्लामा अधिकांश पानीका मुहान सुक्ने र मानव जीवनमा जटिल प्राकृतिक असर देखिन सुरु भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्टले) निस्कर्ष निकालेको छ ।

प्यूठानमा जलवायु परिवर्नतले खानेपानीको मुहान सुक्दै जाँदा पानीको हाहाकार हुने तथा पानीका मुहान नै नपाइने गरेको नास्टले जनाएको छ । पछिल्लो तीन दिनमा नास्टले जिल्लामा जलवायु परिवर्तनले पारेको असरका विषयमा अध्ययन गर्दा जिल्लामा सबैभन्दा धेरै पानीको मुहान सुक्ने समस्या देखिएको नास्टका वैज्ञानिक अधिकृत पवन न्यौपानेले बताए ।

“जलवायु परिवर्तनको कारण पानीका मुहान सुक्ने समस्या धेरै रहेछ”, न्यौपानेले भने, “जिल्लामा यसका लागि अनुकूलन योजना निर्माण भएका रहेछन् । त्यसको कार्यान्वयन आवश्यक रहेको छ ।” जिल्लाका वनक्षेत्रमा विषालु च्याउ र जडीबुटी उत्पादन हुन थालेको छ । जिल्लाका वनमा केही वर्ष पहिला सामान्य रुपमा पाइने विषादियुक्त वस्तु धेरै उत्पादन हुन थालेको न्यौपानेले बताए ।

जिल्लाका ६ गाविसमा जलवायु परिवर्तनको स्थानीय अनुकूलन योजना निर्माण भएको भन्दै नास्टका सचिव लक्ष्मीबुद्धिरत्न खड्काले त्यसको कार्यान्वयनमा समुदाय नै सक्रिय हुनुपर्ने बताए ।“तरकारी तथा फलफूलजन्य वस्तुमा समेत विभिन्न प्रकारका रोगका आक्रमण देखिएको छ”, उनले भने, “नयाँ रोगको आक्रमण देखिनु जलवायु परिवर्तनको असर हो ।” उहाँले प्रविधि प्रज्ञा–प्रतिष्ठानले जलवायु परिवर्तनको कारण यस क्षेत्रमा पारेको असरका विषयमा छोटो अध्ययन गरेको भन्दै जिल्लामा यसको विस्तृत अध्ययनसँगै यस क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग नियमित छलफलको आवश्यक रहेको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment