Comments Add Comment

होम स्टेमा रमाउँदै विदेशी विद्यार्थी

२२ असार, बनेपा । अचेल डाँडापाखामा हरियाली सौन्दर्य बढेको छ । मधुर आवाजमा किराको साङ्केतिक धुनमा झमझम वर्षा भइरहेका बेला आउने हुस्सुले प्राकृतिक सौन्दर्यमा बेग्लै रौनक थपेको छ ।

चिसो र शीतल भएको अनुकुल वातावरणमा रमाइरहेका छन् विदेशी विद्यार्थी । भूकम्पका कारण पर्यटन क्षेत्रमा पनि नकारात्मक प्रभाव परेका बेला काभ्रेपलाञ्चोकका होम स्टेमा विदेशी विद्यार्थी आर्कर्षित हुन थालेका छन । उनीहरु डाँडाँपाखाबाट देखिने मनोरम दृश्यावलोकन, नेपाली संस्कृति, खानपान र कृषि प्रणाली देखेर रमाइरहेका छन् ।

पात्लेखेत गाविसमा रहेको होम स्टेमा बसेर भरपुर मनोरञ्जन लिएका १८ जना ताइवानका विद्यार्थीलाई गाई, वा भैँसी दुहेको र कुखुराले बच्चा जन्माएको विषय अनाैठो लागेको छ । यी विद्यार्थीको नेतृत्व गरेका छन् ताइवानका विद्यार्थी उडी र कोरालले । न्यूनतम शुल्क रु एक हजार तिरेर होम स्टेमा बसेका उनीहरु नेपाली खानपानमै रमाएको पात्लेखेत होम स्टे प्रर्वद्वन समितिका अध्यक्ष केशव बडालले बताए ।

ताइवानको विद्यार्थीको सो टोली सातौँं भएको जानकारी दिँदै उनले नेपालको कृषि र संस्कृति बुझ्नका लागि धेरै विदेशी विद्यार्थी आएको बताए । उद्योग वाणिज्य संघ धुलिखेलको एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत पात्लेखेतको होम स्टेलाई प्रर्वद्वन गर्न आर्थिक सहयोग समेत गरिएको जानकारी दिँदै प्रर्यटन प्रवद्र्धनका लागि करिब रु १३ लाखको बजेट व्यवस्था भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिसुन्दर श्रेष्ठले बताए ।

उनले पर्यटन प्रर्वद्वनसँगै बजारीकरणमा समेत जोड दिइएको उल्लेख गर्दै आयआर्जन र स्वरोजगारका लागि कृषि र पर्यटनलाई पाँच वर्षे कार्यक्रममा राखिएको बताए । विसं २०६८ सालदेखि पात्लेखेत गाविसमा सञ्चालन भएको होम स्टे दर्ता भएका १८ मध्ये १२ वटा मात्रै सञ्चालनमा छन् ।

ताइवानका विद्यार्थी उडले आफूहरुलाई हरियाली सौन्दर्यले लोभ्याएको उल्लेख गर्दै होम स्टेमा बस्न प्रेरित गर्नेलाई धन्यवाद दिए । सो होम स्टेमा यसअघि जापान, जर्मन र हल्याण्डबाट समेत विद्यार्थी आएका थिए । जिल्लामा करिब दुई दर्जन होम स्टे छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment