Comments Add Comment

कास्कीको रामघाट बन्द गर्ने बालुवाखानी मजदुरको चेतावनी

Ramghat-Majdoor-Andolan

सन्देश श्रेष्ठ
२२ असार, पोखरा । पोखराको सेती नदीस्थित रामघाटको बालुवाखानीमा काम गर्ने मजदुरहरुले आगामी साउन १ गतेदेखि अनिश्चितकालिन घाट बन्द गर्ने चेतावनी दिएका छन् ।

रामघाट बालुवा खानी मजदुर समिति गठन गरेका उनीहरुले मंगलबारदेखि नै हातमा कालोपट्टी बाँधेर आन्दोलन सुरु गरेका छन् ।

रामघाटबाट जिल्ला विकास समितिले प्राप्त गर्ने आम्दानीको ५० प्रतिशत रकम घाट संरक्षणमा खर्च गर्नुपर्ने मजदुरहरुको माग छ । विगतका वर्षमा मजदुरहरुले जसरी काम गर्दै आइरहेका छन् त्यसैगरी नै आफ्नो पसिनाको मूल्य आफैले निर्धारण गर्न पाउनुपर्ने उनीहरुको माग छ ।

राजश्वको नाममा रामघाट दोहन गर्ने नीति खारेज गरी संरक्षणका लागि बाषिर्क योजनासहित ठेक्का लगाउनुपर्ने, घाटमा काम गर्ने मजदुरहरुको सुरक्षा हुनुपर्ने, रोजीरोटिको ग्यारेण्टी हुनुपर्ने र रामघाटको विकासको लागि ठेकेदारले पनि २५ प्रतिशत सहयोग अनिवार्य गर्नुपर्ने माग मजदुरहरुले राखेका छन् ।

असार २२ गतेदेखि २७ गतेसम्म हातमा कालोपट्टी बाँधेर विरोध जनाउने, २८ गते जिल्ला विकास समितिमा ज्ञापनपत्र बुझाउने र साउन १ गतेदेखि माग पूरा नहुँदासम्म अनिश्चितकालिन घाट बन्द गर्ने आन्दोलनका कार्यक्रम तय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक कर्णबहादुर पुनले जानकारी दिए ।

समितिका सचिव प्रेम विकले मजदुरहरुलाई बिचल्ली बनाउने गरी जिविसले रामघाट ठेक्कामा लगाउन खोजेकाले आन्दोलनमा उत्रिनु परेको बताए ।

समितिका कोषाध्यक्ष मनोज रसाइलीले घाट संरक्षणको साथै मजदुरहरुको रोजिरोटीको ग्यारेण्टी गरेर मात्र बालुवाखानी ठेक्कामा लगाउनुपर्ने बताए । उनले मजदुरले बोकेको गिट्टी, बालुवाको मूल्य ठेकेदारले तोक्ने गरी सिण्डीकेट लगाउन खोजिएकाले त्यसको विराध गरेको स्पष्ट पारे ।

तीन घन मिटर बालुवाको मजदुरले ३ हजार ५ सयदेखि ४ हजार ५ सयसम्म लिने गरेका थिए भने अहिले मजदुरलाई ठेकेदारलेे दिनगन्ती ज्याला मात्र दिने र गिट्टी, बालुवाको मूल्य आफूखुसी तोक्नेगरी जिविसले ठेक्का लगाउन खोजेकाले आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

प्रतिष्पर्धाका आधारमा व्यक्ति वा संस्थालाई घाट संचालनको जिम्मा दिँदा घाट संरक्षण गर्नुको सट्टा गिट्टी वालुवा दोहन मात्र गर्ने गरेकाले घाट संरक्षण र मजदुरको रोजिरोटीको ग्यारेण्टी भए ठेक्का जसले लिएपनि केही फरक नपर्ने उनीहरुको भनाइ छ । जिविसले वालुवाखानी ठेक्का लगाएर करोडौं राजश्व उठाए पनि घाटको संरक्षणमा ध्यान नदिएको गुनासो मजदुरहरुको छ ।

आर्थिक वर्ष ०७१/७२ मा वालुवाखानी संचालनको ठेक्का आपूुहरुले लिएपछि २३ लाख रुपैयाँ घाटको संरक्षणमा खर्च गरेकोमा जिविसले १३ लाख बराबरको जाली मात्र दिएको पुनले बताए ।

मजदुरसँग समन्वय नै नगरी हचुवामा अत्यधिक रकम बृद्धि गरेर जिविसले ठेक्का लगाउन खोेजेको आरोप मजदुरहरुको गुनासो छ ।

आर्थिक वर्ष ०७१/७२ मा मजदुरहरुले १ करोड २५ लाख रुपैयाँमा खानी संचालनको ठेक्का लिएकामा अहिले जिविसले करसहित २ करोड ४१ हजार रुपैयाँमा ठेक्का लगाउने तयारी गरेको छ । १६ वर्ष अघिदेखि जिविसले रामघाटको बालुवाखानी ठेक्कामा लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment