Comments Add Comment

पहिरोमा पुरिएर म्याग्दीमा पाँच जना बेपत्ता

१४ साउन, म्याग्दी । म्याग्दीको मुदी र मुनामा बुधबार राति पहिरोले पुरिएर पाँचजना बेपत्ता भएका छन् ।

मुदी गाविस–५ नेरवाङको गारखोरियामा पहिरोले गोठ पुरिँदा एकै घरका तीनसहित चार जना बेपत्ता भएका छन् । मुना गाविस–४ कुनौटोमा पनि पहिरोले पुरिएर एक बालिका बेपत्ता भएकी छन् ।

घरमाथिको खोला थुनिएपछि आएको बाढीले घर पुर्दा ९ वर्षीया एलिना पहरे पुन बेपत्ता भएको मुनाबाट स्थानीय अगुवा देवेन्द्र रोकाले जानकारी दिनुभयो । बालिकाको बुवा सामान्य घाइते भएका छन् । स्थानीयवासी र प्रहरीले बेपत्ताको खोजी गरिरहेका छन् ।

यसैगरी मुदीको गारखोरियामा गोठ पुरिँदा त्यहाँ रहेका कम्तीमा चार गोठाला बेपत्ता भएको प्रथम धौलागिरि जनयुवा क्लब मुदीका अध्यक्ष खबिन घर्तीले जानकारी दिनुभयो । बेपत्ताको पहिचान खुल्न सकेको छैन । बेपत्ता हुनेको सङ्ख्या अझ बढ्न सक्ने स्थानीयवासीको अनुमान छ ।

स्थानीयका अनुसार पहिरोले सयवटा बाख्रा र ५० वटा गाई, भैँसी पनि पुरेका छन् । बिहीबार बिहानै बेपत्ताको खोजी तथा उद्धारका लागि मुदी र नेरवाङका बासिन्दा घटनास्थलमा पुगेका छन् ।

पहिरोपछि गौरखोलामा आएको बाढीले मुदी र नेरवाङ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । पुल नहुँदा उद्धारकर्तालाई घटनास्थलमा पुग्न समस्या भएको छ । नजिकको मुदी गाउँबाट घटनास्थलमा पुग्न दुई घन्टा पैदल हिँड्नुपर्छ ।

घटनास्थलमा ताकम प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी टोली खटाएको म्याग्दीका प्रहरी नायब उपरीक्षक हीरा गिरीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment