Comments Add Comment

‘हामी त बिग्रियौं, अब माओवादी त्यस्तो नहोस्’

२१ साउन, काठमाडौं । वर्तमान संसदमा एमाओवादी तेस्रो शक्ति भएजस्तै ०५१ साल ताका राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको तेस्रो शक्ति थियो । संसदमा २० सीट जितेको राप्रपाले मुलुकको राजनीति फन्फनी घुमाएको थियो । तर, त्यो राप्रपा अहिले थिल्थिलो भइसकेको छ । सूर्यबहादुर थापा र पद्मसुन्दर लावती छैनन् । राजेश्वर देवकोटा बिरामी छन् ।

अनलाइनखबरले राप्रपाका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीलाई यसबारे प्रश्न गर्‍यो : कांग्रेस र एमालेको विकल्पमा तेस्रो धार बनाउँछौं भन्दै हिँड्नुहुन्थ्यो, कहाँनेर चिप्लिनुभयो ?

Prakash-chandra-lohani

डा. लोहनीले अहिलेको एमाओवादीलाई सम्झँदै भने- ‘त्योबेलाको हाम्रो स्थिति अहिलेको माओवादीको जस्तै थियो, हामीले सन्तुलन गुमायौं, हामीले गल्ती गरेकै हो । म आशा गर्छु, माओवादीमा त्यो अवस्था नआओस् ।’

बाँकी विश्लेषण डा. लोहनीकै शब्दमा : 

राप्रपाको स्थापना गर्दा हामीले प्रजातान्त्रिक राष्ट्रवाद भनेका थियौं र त्यो शब्द मैले नै महाधिवशेनको डकुमेन्टमा राख्न लगाएको हो ।प्रजातान्त्रिक राष्ट्रवाद भनेको के हो भने हामी प्रजातान्त्रिक मूल्य मान्यता र संस्कारमा विश्वास गर्छौं । यसमा कुनै कम्प्रोमाइज्ड हुन सक्दैन ।

र, त्यो प्रजातान्त्रिक फ्रेमवर्कभित्र फस्टाउने राष्ट्रियता नै देशका लागि दह्रो राष्ट्रियता हुन्छ । किनभने राष्ट्रियताको दुरुपयोग इतिहासमा भएको छ । एउटा सानो वर्गले आफ्नो स्वार्थका लागि राष्ट्रियतालाई प्रयोग गरेको छ । अब त्यो स्थिति छैन । अब चाहिँ के भने प्रजातन्त्रमा सबैको सहभागिता र सबैलाई अवसरको समानता दिएर त्यस अन्तरगत फस्टाउने राष्ट्रवाद नै वास्तवमा दिगो राष्ट्रवाद हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो ।

प्रजातान्त्रिक राष्ट्रवादको यही अवधारणा लिएर हामी अगाडि गएको पनि हो । ०५१ सालको महाधिवशेनमा त्यो मैले नै लेखेर राख्न लगाएको हो ।

तर, जब सत्तामा हामी जाने स्थिति आयो, त्योबेलाको हाम्रो स्थिति अहिलेको माओवादीको जस्तो थियो । हामी जतातिर ढल्क्यो, त्यसैको बहुमत हुने स्थिति थियो । त्योबेलामा हामीले सन्तुलन गुमायौं । त्योबेलामा हामी आफ्नो दृष्टिकोणपट्टी नलागेर सत्तातिर लाग्यौं ।एकपटक त यस्तो भयो कि हाम्रा भएभरका मान्छेलाई मन्त्री हुँदाखेरि पनि चित्त नबुझ्ने स्थिति आयो । भएभरका मान्छे मन्त्री हुँदा पनि चित्त बुझेन । त्योबेलामा हामी चिप्लिएकै हो । हामीले गल्ती गरेकै हो ।

जब पार्टी आफ्नो दृष्टिकोण र दर्शनलाई बिर्सिएर सत्तामा मात्रै आउँछ, त्योबेलामा पार्टीभित्र विचलन आउँछ । म आशा गर्छु, माओवादीमा त्यो अवस्था नआओस् । एक त उहाँहरु पनि फुटिसक्नुभयो ।

हामीमा विचलन आयो र फुटफाट भयो । झण्डै झण्डै २० प्रतिशत भोट ल्याउने पार्टी आज यो स्थितिमा आएका छौं । आज हामी दुई प्रतिशत पनि भोट नल्याउने स्थितिमा आएका छौं । यो दुर्भाग्यपूर्ण स्थिति हो । हामीले आफ्नो वैचारिक दृष्टिकोणलाई बिर्सिएर यस्तो भएको हो ।
हाम्रो दृष्टिकोण भनेको, मैले अहिले त्यसलाई अझ परिमार्जन गरेको छु, समावेशी प्रजातान्त्रिक राष्ट्रवाद र प्रगतिशील उदारवाद हो ।

राष्ट्रवाद हुनुपर्‍यो, त्यो प्रजातान्त्रिक हुनुपर्‍यो । प्रजातन्त्र त बहुदलीय प्रणालीमा पनि छ । तर, बहुलीय प्रणालीको प्रजातन्त्रले मात्रै सबैलाई समावेशी गर्दैन । त्यसैले समावेशी प्रजातान्त्रिक राष्ट्रवाद हुनुपर्छ, जहाँ जुनसुकै वर्ग र समुदायले पनि मलाई राज्यले विभेद गरेको छैन र मैले अरुसरह समानता पाएको छु भन्ने अनुभूति आउँछ । जब हाम्रो प्रजातन्त्रले यस्तो अनुभूति दिनसक्छ, हाम्रो राष्ट्रियता बलियो हुन्छ र कसैले केही गर्न सक्दैन ।

अबको विकल्प नै यही हो । र, यो विकल्पका लागि अर्थतन्त्रमा उदारवाद नै चाहिन्छ, तर, प्रगतिशील उदारवाद ।

उदारवादका नाममा एक प्रतिशत मानिसले चाहिँ ७० प्रतिशत सम्पत्ति लिएर बस्ने, अरु बाँकी ९९ प्रतिशतले चाहिँ ३० प्रतिशत लिएर बस्ने यस्तो उदारवादले काम लाग्दैन । प्रगतिशील उदारवाद भन्नुको मतलव व्यक्तिगत स्वतन्त्रता र क्रियाशीलतालाई प्रोत्साहन गर्ने हो, तर, त्यसको केन्द्रविन्दु भनेको सबभन्दा जो गरिब छ र मौका पाएको छैन, त्यसलाई मौका दिलाउने हो । प्रगतिशील उदारवाद भनेको यही हो ।

यही दृष्टिकोण लिएर अब राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि जानुपर्छ भन्ने मेरो दृष्टिकोण हो । हामी पार्टीमा यही दृष्टिकोणलाई व्यवहारमा उतार्न सकिन्छ भनेर नै (थापा र चन्द पक्षको) एकता महाधिवेशन गरेको हो । त्यहाँ पनि नेतृत्वको झगडा नहोस् भन्नका लागि पहिले सूर्यबहादुरजी, त्यसपछि लोकेन्द्रजी, त्यसपछि पशुपतिसमशेरजी र त्यसपछि प्रकाशचन्द्र लोहनी, चारजनाले नेतृत्व दिने भनेर हामीले निर्णय गरेको हो ।

तर, त्यो जुन निर्णय थियो, त्यसलाई भंग गरियो । त्यहाँ बेइमानी गरियो । अहिले पशुपतिजी अध्यक्ष हुनुभएको छ । पशुपतिजी वास्तवमा तेस्रो वर्षमा अध्यक्ष हुने हो । उहाँले जबरजस्ती गरेर, मै नै भएँ भनेर आउने जुन स्थिति आयो, यसले गर्दा हामीवीचमा एउटा कटुता पनि आयो । हाम्रोवीचमा अदालतमा मुद्दा परेको छ । अदालतले महाधिवेशनमा भएको निर्णय लिएर आओ भनेर आदेश दिएको छ ।

मलाई त के लाग्छ भने पशुपतिसमशेरजस्तो मान्छेले जानीजानी यस्ता कुराहरु किन गर्नुभयो ? वास्तवमा हेर्नुहुन्छ भने हामी भनेका डाँडापारिको घामजस्तै हो । यो बेलामा देशलाई जुन दर्शन मैले भनेको छु, त्यसमा सशक्त योगदान गर्ने हो । त्यसो गर्‍यौं भने जनता हामीलाई साथ दिन तयार छन् । जनताले विकल्प खोजिराखेका छन् । यस्तो बेलामा एउटा सानो कुरामा लगेर पार्टीलाई जुन धरातलमा पुर्‍याउने काम भएको छ, उहाँहरुजस्तो मान्छेले किन गरिराख्नुभएको छ, यही नै बडो दुःखको कुरा छ ।

तर, हामी यसलाई समाधान गर्ने पक्षमा छौं । र, म तपाईहरुलाई भन्छु, यसको निचोड आउँछ । त्यो निचोड आउँदाखेरि अब हुने राष्ट्रिय प्रजातन्त्र पार्टी समावेशी प्रजातान्त्रिक राष्ट्रवाद र प्रगतिशील उदारवादको अवधारणा अन्तरगत नै आउँछ ।

म फेरि के भन्छु भने हाम्रो मूल्य र मान्यताचाँहि इट इज डेमोक्रेटिक । प्रजातन्त्रको मूल्य र मान्यता, बहुलवादको मूल्य र मान्यतामा हामी अडिन्छौं ।

कमल थापाजीसितको पार्टी एकताको गृहकार्यबारे मलाई केही पनि थाहा छैन । र, मलाई लाग्छ, अहिले त्यतापट्टी जानु आवश्यक छैन । आवश्यक छैन भन्दा समय आउला फेरि । तर, पहिले हामी राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको कुरालाई समाधान गरौं । त्यसपछि कमल थापा मात्रै किन, अरुसित पनि एकता हुन सक्छ ।

हामी यो पनि मान्छौं कि राजतन्त्र जसरी गएको छ, त्यसलाई जनतामा, जनमत संग्रहमा लैजानुपर्छ भन्नेमा हाम्रो कुनै विमति छैन । र, हामी यो पनि मान्छौं कि यो धर्म निरपेक्षताका नाममा नेपालका सांस्कृतिक आधारमाथि जुन किसिमको अतिक्रमण अहिले भइरहेको छ, त्यसलाई रोक्नुपर्छ । यसका लागि नेपाललाई सनातन सर्वधर्मराष्ट्र भनेर व्याख्या गर्नुपर्छ । तेरो जात, मेरो जात भन्ने यी सबै नराम्रा पक्षहरुलाई, कलंकहरुलाई तोडेर हाम्रा सभ्यताका राम्रा पक्षहरुलाई आधुनिक सभ्यताको डिजिटल नेपाल बनाउनका लागि यो मान्यतासित फ्युजन गर्नुपर्छ । प्रचण्डजीले फ्युजन भन्नुहुन्थ्यो, वास्तविक फ्युजन अब चाहिएको छ । र, यही फ्युजनको दर्शन हो समावेशी प्रजातान्त्रिक राष्ट्रवाद र प्रगतिशील उदारवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment