+
+

कर्णाली र थरुहट प्रदेश माग्दै सुदूरपश्चिम आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २५ गते १२:१८

२५ साउन, काठमाडौं । सुदृुरपश्चिम र मध्यपश्चिममा ६ प्रदेशको विरोधमा आन्दोलन चर्किएको छ । आन्दोलनका कारण कर्णालीमा सोमबार हवाइ सेवासमेत अवरुद्ध भएको छ भने तराईका कैलाली र कञ्चनपुरमा थरुहट राज्यको माग गर्दै बन्दको आह्वान गरिँदा जनजीवन प्रभावित भएको छ ।

सिद्धार्थ राजमार्ग
सिद्धार्थ राजमार्ग

सुदूरपश्चिमाञ्चलका विभिन्न जिल्लामा लगातार पाँच दिनदेखि बन्द आह्वान हुँदा जनजीवन कष्टकर बनेको छ । थारु कल्याणकारी सभाले तीन दिनदेखि थरुहट प्रदेशको माग गर्दै कैलाली, कञ्चपुर जिल्ला बन्द आह्वान गरेको छ ।
थारु समुदायको बाहुल्य रहेको कैलाली र कञ्चनपुर जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउन माग गर्दै आह्वान गरिएको बन्दलाई थरुहट तराई पार्टीलगायतले समर्थन गरेका छन् ।

कैलाली, कञ्चनपुर लगायतका जिल्लामा सोमबार पनि बजार, पसल शिक्षण संस्था र यातायात सेवा ठप्प छन् । बन्दको प्रभाव सुदूरपश्चिमका प्रायः सबै जिल्लाहरुमा परेको छ ।

कर्णालीवासीले ६ प्रदेश नमान्ने

हुम्ला, जुम्लालगायत कर्णाली अञ्चलका पाँचवटै जिल्लामा पनि ६ प्रदेशको विरुद्धमा आवाज उठेको छ । कर्णालीका पाँच जिल्लालाई कैलाली, कञ्चनपुर सुर्खेतसम्म हालेर प्रदेश बनाइएकोमा कर्णालीबासी रुष्ट बनेका हुन् । उनीहरुले कर्णालीलाई स्वायत्त प्रदेश बनाइनुपर्ने माग गरेका छन् ।

कर्णालीबासीको विरोधका कारण मुगु, हुम्ला र जुम्लाको हवाइ यातायातसमेत अवरुद्ध भएको छ ।
लगातारको बन्दको कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । त्यसअघि हिन्दु राष्ट्रको माग राख्दै र अखण्ड सुदूरपश्चिमको माग गर्दै बन्द आह्वान भएको थियो ।

Banda-Rupandehi

सुर्खेतबासी कर्णालीसँग नबस्ने
उता मध्यपश्चिमाञ्चलका तीन जिल्लालाई कर्णालीसँग मिसाइएको भन्दै सोमबार सुर्खेत जिल्ला बन्द आह्वान गरिएको छ । ६ प्रदेशको सीमांकनबाट मध्यपश्चिमाञ्चलका जिल्ला विभाजित भएको भन्दै नागरिक संघर्ष समितिको आह्वानमा बन्द गरिएको हो ।

कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिमको क्षेत्रमा पारिएको भन्दै आन्दोलन घोषणा भएको हो ।

बन्दमा जिल्लाका सबै राजनीतिक दल, संघसंस्था तथा स्थानीयले समर्थन गरेका छन् । बन्दका कारण यातायात, बजार र शिक्षणसंस्था ठप्प छन् । मध्यपश्चिमलाई अखण्ड भएको घोषणा नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिले चेतावनी दिएको छ ।

सल्यानमा सर्वदलीय बन्द

यसैवीच प्रदेशको सीमांकन गर्दा राप्ती र सल्यानप्रति अन्याय गरिएको भन्दै सल्यानमा क्रियाशील राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् । सोमबार बिहान कांग्रेस सल्यानका सभापति गणेश चन्दको सभापतित्वमा बसेको सर्वदलीय बैठकले सल्यानलाई प्रदेश नम्बर ६ मा राख्ने र राप्तीलाई टुक्राउने निर्णयको विरोध गरेको छ ।

बैठकपछि जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति निकालेर प्रदेशको सीमांकनमा सल्यानलाई अन्यायपूर्ण र अव्यवहारिक ढंगले छैठौं प्रदेशमा राखिएको भन्दै अखण्ड राप्तीसहित पहिचान र सामर्थ्य खुल्ने हालको प्रदेश नम्बर ५ मा सल्यानलाई समावेश गर्न माग गरेका छन् ।

विज्ञप्तिमा जिल्लाका विभिन्न क्षेत्रबाट स्वतःफूर्त रुपमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै माग सम्बोधन नभए अझ सशक्त आन्दोलन गर्न बाध्य हुने उल्लेख छ ।

विज्ञप्तिमा कांग्रेसका सभापति गणेश चन्द, एमाले अध्यक्ष हरि केसी, एमाओवादी सचिव निमबहादुर केसी, राप्रपा नेपालका अध्यक्ष मनोज सिंह, राप्रपा सचिव दुर्गाबहादुर सिंह, नेकपा माले सचिव बलबहादुर गिरी, राजमो नेपालका इश्वरी विक र नेकपाका महेश देवकोटाको हस्ताक्षर छ ।
Rupandehi-1
रुपन्देहीमा पनि आन्दोलन

यसैबीच रुपन्देहीमा चाहिँ मधेसवादीहरुले बन्दको आह्वान गरेका छन् । भैरहवाबाट सलमान खानले पठाएको समाचार अनुसार मधेसी मोर्चाको बन्दले रुपन्देहीको जनजीवन प्रभावित भएको छ ।

६ प्रदेशको सीमाकंनको विरोधमा मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी (राजेन्द्र महतो) र तराई मधेश सदभावना पार्टीले बन्द आहृवान गरेका हुन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका रुपन्देही अध्यक्ष अजय वर्माले प्रदेशको सीमांकन संसोधन नगरेसम्म मधेसमा आन्दोलन जारी रहने बताए ।

मोर्चाको बन्दले चोक हुदै सवारी साधनहरु सञ्चालनमा नआए पनि सिद्धार्थ राजमार्गको केही स्थानमा छोटो दुरीकाका लागि सवारी साधनहरु सञ्चालित छन् ।

भैरहवा बुटवल लगयत क्षेत्रहरुमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् । भैरहवाबाट छुट्ने लामो दुरीका सवारी साधनहरु भैरहवा बसपार्कमै थन्किएका छन् । शिक्षण सस्था, उद्योग, बजार, पसल, बैंक वित्तीय संस्थालगायत सबै बन्द रहेका छन् । भारतबाट आउने नेपालीहरु सीमा नाका बेलहियामा अलपत्र परेका छन् ।

सिरहामा टायर बालेर प्रदर्शन

siraha
मधेस प्रदेशमा पनि ६ प्रदेशको विरोधमा आन्दोलनको संकेत देखिएको छ । आइतबार सिरहाको हेमनारायण चौकमा एमाओवादी र मधेसवादी दलका कार्यकर्ताले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

विरोध कार्यक्रममा बोल्दै एकीकृत माओवादीका केन्द्रिय सदस्य तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव रामरिझन यादवले मधेस पहाड मिलाएर नै एकता कायम हुन्छ भने सप्तरीदेखि पर्सासम्म बनाइएको दोस्रो प्रदेशमा उदयपुर, सिन्धुली तथा मकवानपुर किन मिसाइएन भन्ने प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?