Comments Add Comment

भिडियो पाइरेसी रोक्दै फेसबुक

Facebook
सोसल नेटवकिङ साइट फेसबुकले आफ्नो वेबसाइट मार्फत हुने भिडियो पाइरेसी रोक्न नयाँ प्रविधिको घोषणा गरेको छ ।

फेसबुकले ल्याएको नयाँ भिडियो म्याचिंग टेक्नोलोजीले भिडियोका सर्जकहरुलाई उनीहरुका भिडियो यदि अनुमति नलिइकन फेसबुकमा पोष्ट गरिएमा सूचना प्रदान गर्ने गर्दछ ।

केही दिनअघि मात्रै यु ट्युब स्टार हांक ग्रिनले एक ब्लगमार्फत फेसबुकको आलोचना गर्दै फेसबुकले भिडियो पाइरेसी रोक्ने काममा निकै सुस्त रहेको टिप्पणी गरेका थिए ।

यु ट्युबमा विभिन्न च्यानलहरु संचालन गर्दै आएका ब्राडी हरनले भने फेसबुकको नयाँ विधिप्रति आफुलाई अझै आशंका रहेको बताएका छन् ।

सोसल साइट फेसबुकले आफ्नो भिडियो बिजनेस बढाउने प्रयत्न गरिरहेको छ र गएको जुलाइमा मात्रै उसले पहिलोपटक विज्ञापनिक भिडियोबाट प्राप्त आयलाई त्यसका सर्जकसँग पनि बाँड्ने घोषणा गरेको थियो ।

गएको जुनमा विज्ञापन कम्पनी ओगिल्भीले गरेको एक अनुसन्धान अनुसार फेसबुकमा पोष्ट गरिने मध्ये ७३ प्रतिशत भिडियो अन्य साइटहरुबाट चोरिएका हुने गरेको पाइएको थियो ।

आफ्नो नयाँ प्रविधिका बारेमा जानकारी दिँदै फेसबुकले भनेको छ : हाम्रो म्याचिंग टुलले फेसबुकमा अपलोड गरिने दशौँ लाख भिडियोहरुको तत्कालै तथा पूर्ण सत्यताका साथ मूल्यांकन गर्दछ । यदि भिडियोहरु अनुमति नलिइकन पोष्ट गरिएको पाइएमा प्रकाशकहरु त्यस्ता भिडियोहरु हटाउनका लागि हामीलाई सूचित गर्न सक्नेछन् ।

फेसबुकको यो प्रविधिले कुनै एउटा भिडियोमा अर्को भिडियोका दृश्यहरु चोरेर हालिएको कुरा पनि पत्ता लगाउन सक्नेछ अनि यस बारेमा त्यसको वास्तविक सर्जकलाई जानकारी गराउने र भिडियो हटाउने नहटाउने विषयमा उनीहरुको राय माग गर्नेछ ।

फेसबुकका अनुसार उसले विस्तृत भिडियो व्यवस्थापन प्रणालीको विकाश गर्ने योजना बनाएको छ र ऊ भिडियो पाइरेसी सँग जुध्न प्रतिबद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment