Comments Add Comment

फिल्म बजारमा चरम लापरवाहीः प्राविधिक पैसामुखी हुँदा निर्माता तनावमा

‘क्याप्टेन’ निर्देशक भन्छन्–‘एक महिना दिनुपर्ने समय एक हप्ता दिएर हुन्छ ?’

फागूणको १७ गते बिहान ८ बजेको शोमा चलचित्र ‘क्याप्टेन’ हेर्न हल पुगेका धेरै दर्शक त्यतीबेला विरक्त भए, जतिबेला चलचित्रको धेरै दृश्यमा डबिङ नै थिएन भने कतिपय दृश्यमा पाश्र्व ध्वनी नै थिएन । चलचित्रको मिक्सिङ पनि गतिलोसँग भएको थिएन ।

चलचित्र कात्तिकमा नै रिलिज गर्ने तयारी गरेका निर्माता भूवन केसीले फागूणमा चलचित्र रिलिज गर्दा पनि पुरा काम गर्न नसकेको भन्दै दर्शकले गाली गरे, समिक्षकले खेदो खने । आखिर, ‘क्याप्टेन’को मिक्सिङ, डबिङ, भीएफएक्स र पाश्र्व ध्वनीमा यति धेरै समस्या किन आयो ?

समस्या ‘क्याप्टेन’मा मात्र होइन । सोही दिन रिलिज भएको चलचित्र ‘दि ब्रेकअप’मा पनि थियो । चलचित्रको डबिङदेखि पाश्र्व ध्वनीमा समस्या आयो ।

अब, कुरा गरौ बुधबार हलमा देखाइएको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलरको । यो चलचित्रको ट्रेलर हेर्दा धेरै आश्चर्यचकित भए । चलचित्रको ट्रेलरमा ब्याकग्राउन्ड म्यूजिक नै थिएन । यसैले यसको निर्माणपक्षले युटुबमा ट्रेलर सार्वजनिक गर्न सकेन । चलचित्रको ट्रेलरको मिक्सिङ नहुँदा समस्या आयो । अहिले चलचित्रको निर्माणपक्षले मिक्सिङको जिम्मा लिएका उत्तम न्यौपानेबाट सिनेमाको जिम्मा अरुलाई नै दिएको छ ।

नेपाली चलचित्रको मिक्सिङ, डबिङ र पाश्र्व ध्वनीमा यति धेरै समस्या किन आउन थालेको हो ? के निर्माताले हेलचक्राई गरेर काम गर्छन् वा प्राविधिकले काम नै गरिदिन्नन् । यसले चलचित्रप्रतिको विश्वास दर्शकमा घट्दै मात्र गएको छैन, करोडौ खर्च गरेर चलचित्र बनाएका निर्मातालाई अन्तिम समयमा अनावश्यक तनाव समेत खडा गरिदिएको छ । आशातित केही चलचित्रमा यो समस्या देखिदा त्यो चलचित्रका निर्माता त डुब्छन् नै, दर्शकको चलचित्रप्रतिको भरोसा पनि हट्न थाल्छ । यो बिषयमा सबैजना जिम्मेवार हुन आवश्यक हुनुपर्छ या पर्दैन ?

प्राविधिक पैसामुखी हुँदा ठूलो समस्याः दिवाकर
चलचित्र ‘क्याप्टेन’मा देखिएको समस्याको सम्पूर्ण जिम्मेवार निर्देशकको नाताले दिवाकर भट्टराइले लिन आवश्यक छ । दिवाकर यो कुरा स्विकार पनि गर्छन् । उनले अनलाइनखबरसँग भने–‘एउटा निर्देशक भएको नाताले यसको सम्पूर्ण जिम्मा मैले लिनुपर्छ र म लिन्छु पनि । तर, यी सबै काम एउटा निर्देशकले मात्र गर्न सक्दैन । प्रत्येक विधामा निर्देशकले विश्वास गरेर प्राविधिकहरुलाई कामको जिम्मा दिएको हुन्छ । उनीहरुले नै चरम लापरवाही गरिदिएपछि के गर्ने ?’

उनले अगाडि भने–‘हामीले भीएफएक्सको जिम्मा दिएका सत्यम राना र उनको टिम निकै कमजोर पर्यो । जसलेगर्दा हामीले भने जस्तो काम निकाल्न सकेनौ । मैले विश्वास गरेको अर्का प्राविधिक उत्तम न्यौपाने हुन् । उनले साउन्ड डिजाइनको काम हेरेका थिए । तर, अहिले उनीहरु यतिधेरै पैसामुखी भएका छन् कि, निर्माताको करोडौ लगानीमा हेलचक्राई गरिरहेका छन् ।’

दिवाकरको भनाई यत्तीमा मात्र रोकिएन । उनले अगाडि भने–‘एउटा चलचित्रको सबैभन्दा महत्वपूर्ण काम भनेको साउन्ड डिजाइन, मिक्सिङमा हुन्छ । तर, एउटा चलचित्रको लागि एक महिना लाग्ने काम उनीहरुले एक हप्तामा सकिदिएका छन् । ‘क्याप्टेन’को काम गर्दा उनीहरुले ‘दि ब्रेकअप’को पनि काम गरिरहेका थिए । एक हप्तामा दुइवटा चलचित्रको काम गरिदिएपछि कसरी राम्रो काम हुन्छ ?’

उनले प्राविधिकहरुले अन्तिम समयमा काम गर्नुको कारणबारे भने–‘चलचित्रको काम अन्तिम समयमा गरिदिदा निर्देशकले करेक्शन गर्न पाउँदैन । चाडै निकालिदियो भने फेरि करेक्शनका लागि निर्देशक पुग्छ । यसैले पनि यो लापरवाही तरिकाले काम भएको छ ।’

ए मेरो हजुर ३ को ट्रेलरमा उस्तै समस्या
चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलरमा ब्याकग्राउन्ड म्यूजिक नै समावेश हुन सकेन । यसकोकारण थियो, यसको जिम्मा लिएका उत्तम न्यौपानेले ‘साइँली’को काम जिम्मा लिनु । यो चलचित्रको जिम्मा लिएका उनले ‘ए मेरो हजुर ३’को काम सकेनन् । जसलेगर्दा, ‘ए मेरो हजुर ३’का निर्माता ट्रेलर रिलिजमा तनावपूर्ण अवस्थामा आए ।

‘साइँली’को पनि भिडियो मात्र भारत पुगेपछि अडियो बिहिबार मात्र भारत पुगेको छ । चलचित्र रिलिजको अघिल्लो दिनसम्म यस्तो तनाव निर्माताले भोग्नुपरेपछि कुन खुशीले उनीहरुले चलचित्र रिलिजको चाजोपाचो मिलाउन् । नेपाली चलचित्रमा अहिले यो समस्या चरम देखिएको छ ।

यस्ता व्यक्तिहरु ‘सिनेघाती’ हुन्ः भूवन केसी
चलचित्र ‘क्याप्टेन’का निर्माता भूवन केसीको आक्रोश पनि उस्तै छ । उनले, चलचित्र क्षेत्रमा अहिले यो रोग व्याप्त भएको बताए । उनले भने–‘एउटा चलचित्र बनाउन कति धेरै मिहिनेत हुन्छ । कति धेरै कलाकार र प्राविधिकको मिहिनेत लागेको हुन्छ । निर्माताको करोडौ लगानी लागेको हुन्छ । तर, एक दुइ जनाले लापरवाही गरेर कलाकार, सिंगो चलचित्रको इमेज नै बिगार्न पाइन्छ ?’

भूवनले कसैको पनि नाम लिन भने चाहेनन् । तर, उनले भने–‘मलाई त के लाग्छ भने कि यहाँ काम नै नजान्नेहरुले मैले भयंकर जानेको छु भनेर निर्मातालाई फसाइरहेका छन् । कि त आफूले सक्ने भन्दा धेरै काम पैसाको लोभमा परेर लिएका छन् र सही रिजल्ट दिन सकेका छैनन् ।’ भूवनले यस्ता व्यक्तिहरु ‘सिनेघाती’ भएको समेत आरोप लगाएका छन् ।

यो बिषयमा हामीले उत्तम न्यौपानेसँग वुझ्न खोज्दा उनको मोबाइल अफ थियो ।

नेपाली चलचित्रको प्राविधिक रुपमा देखिने यस्ता समस्याले सिंगो चलचित्रप्रतिको विश्वास दर्शकबाट घट्न थाल्छ । चलचित्रको हरेक पाटोको जिम्मा लिने जोकोहीले पनि आफूले सक्ने मात्र कामको जिम्मेवारी लिन आवश्यक छ । काम मात्र थोपरेर रिजल्ट दिन सकिएन भने, एउटा निर्माता मात्र डुब्दै, चलचित्र क्षेत्रलाई नै घाटा लाग्छ । यो बिषयमा सबैजना सचेत बनौं । होइन भने, चलचित्र रिलिजको दिनसम्म निर्माता यस्ता समस्यामा अल्झिए भने त्यसले गतिलो रिजल्ट पक्कै दिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment