Comments Add Comment

बीप एप : भिडियो कलदेखि जामको सूचनासम्म

म्यासेन्जरभन्दा राम्रो गुणस्तरमा फोटो पठाउन सकिने दावी

काठमाडौं । सीजी लाइफ सेलले नयाँ बहुउपयोगी एप सार्वजनिक गरेको छ । एपले नेपालमा डिजिटल माध्यमबाट सूचना आदानप्रदानलाई नयाँ स्तरमा विकास गर्ने कम्पनीको दाबी छ ।

‘बिप’ नाम दिइएको यो एप एउटा म्यासेजिङ प्लेटफर्म हो, जहाँबाट भ्वाइस कल, भिडियो कल गर्न र म्यासेज एवं फाइलको आदान प्रदान गर्न सकिनेछ ।

यो एप आईओएस र एन्ड्रोइड दुबै मोवाइल अपरेटिङ सिस्टममा चल्छ । यसलाई गुगल प्ले स्टोर वा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल सीजी लाईफ सेलले एपको विकास गरेको हो । यो एपले सूचना सम्प्रेषणमा सहजता ल्याउने चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताए ।

डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा आफ्नो पनि योगदान होस भन्ने चाहेको र यस एपबाट नागरिकको सूचनाप्रविधिको पहुँचमा वृद्धि हुने उनको भनाइ थियो ।

यस्ता छन् फिचर

म्यासेन्जर, ह्वाट्स एप लगायतमा उपलब्ध फिचर बीप एपमा पनि उपलब्ध छ । तर, फेसबुक म्यासेन्जर वा ह्वाट्स एपमार्फत भन्दा राम्रो गुणस्तरमा फोटो आदानप्रदान गर्न सकिने कम्पनीको दावी छ ।

यसका अतिक्ति यस एपमार्फत विभिन्न गेम निःशुल्क डाउनलोड गर्न सकिनेछ । फलो मी र लोकेसन सेयर जस्ता फिचरहरु प्रयोग गर्न सकिने यस एपको अर्को विशेषता हो, १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल ।

बीप एपमा आफ्नो मोवाइल फोनको भाषा परिवर्तन गर्न सकिनेछ भने कुनै पनि मोवाइल अपरेटरका ग्राहकहरुले सजिलै प्रयोग गर्न सक्नेछन् । सरप्राइज प्वाइन्टद्वारा विभिन्न उपहार जित्न सकिने सिजीले जनाएको छ ।

मोवाइलमा मात्रै नभएर ल्यापटप र डेक्सटपमा पनि प्रयोग गर्न सकिने भएकाले यसको प्रयोग अधिक हुने विश्वास सिजीको छ । एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसमसम्बन्धी जानकारी र समाचार थाहा पाउन सकिनेछ ।

डाटा सेन्टर नेपालमै

अहिलेसम्म सञ्चालनमा रहेका यस किसिमका एपहरुको डाटा सेन्टर नेपालमा छैनन् । बिपको डाटा सेन्टर भने नेपालमै रहने सिजीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् । यसले एप थप सुरक्षित हुने उनको भनाइ छ ।

नेपालमै डाटा सेन्टर स्थापना गरिएका कारण नेपालीको डाटा बाहिर देशमा जानबाट जोगिनुका साथै नेपालको राजस्वमा पनि योगदान पुग्ने चौधरी बताउँछन् ।

कहाँ जाम हुँदैछ ? एपमै हेर्न पाइने

बिशेष गरेर अहिले काठमाडौं उपत्यकामा ट्राफिक जामको ठूलो समस्या छ । कहाँ, कतिबेला जाम हुँदैछ भन्ने कुनै जानकारी नलिई हिँड्दा सवारीसाधनहरु लामो समय जाममा बस्नु पर्ने बाध्यता छ ।

यो एपले जामका सूचना समेत दिनेछ । केही दिनभित्रै ट्राफिक अपडेटका सूचनाहरु राखिने कम्पनीले जनाएको छ । बीपले ट्राफिक अपडेट गरेसँगै तपाईले कहाँ जाम छ भन्ने हेर्न सक्नुहुनेछ ।

यदि तपाई कसैलाई भेट्न जादै हुनुहुन्छ तर, लोकेशन पत्ता नलागेर समस्यामा पर्नुभयो भने ‘फलो मी’ अप्सनको प्रयोगबाट तपाईको समस्या समाधान हुनेछ । फलो मी अप्सनले तपाईले भेट्न चाहनु भएको मान्छेको लोकेशन देखाउँछ ।

मनि ट्रान्फरको सुविधा पनि चाडै

मोवाइल टू मोवाइल मनि ट्रान्सफरको सुविधा पनि बीप एपमा हुनेछ । हाल ई–सेवा, आइएमई पे लगायतले दिएजस्तै सुविधा एपमा हुनेछ । तर, यसका लागि केही समय लाग्ने कम्पनीले जनाएको छ । यो सुविधा प्रयोगमा ल्याउन आवश्यक पर्ने प्राविधिक प्रक्रिया पुरा हुन केहि समय लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment