Comments Add Comment

पागलले इतिहास बनाउँछन्, सद्देले पढ्छन् !

पुण्यप्रसाद सुवेदी, बेलायत

डा. गोविन्द केसीलाई नपुग्दो केही थिएन । वरिष्ट विशेषज्ञ डाक्टर । औलादौला धन, महंगा कार, भव्य महल र पत्नी सहित सन्तान सुख भोग्न भाग्यले छेकेको थिएन । ऐश, ऐश्वर्य र उपभोगमा यो एक बारको जुनी डुबाइदिन सक्थे । अधिकांश मानिसहरुको साझा लक्ष्य वा सपना पनि यही हो । यही सपनालाई पूरा गर्न अरु मानिसहरु गर्न हुने नहुने, वैध अवैध, जे पनि गर्छन् । गरिरहेकै छन् । तर, यी अर्कै तन्तुले बनेका मानिस, अरुले नहिँडेको बाटो हिँडे ।

Dr-Govinda-Kc

दुनियाँले मानेको सुःख, सन्तुष्टि र आनन्दले यिनको मन तानेन । सेवा, त्याग, निष्ठा र समर्पणमा जीवनको लक्ष्य र आनन्द दुबै देखे । तुच्छ धन आर्जनका लागि लाखौं करोडौं जिन्दगीको सुरक्षा र भविष्य माथि भाला रोप्न एकरति नहिचकिचाउने द्रव्य पिशाचहरुका विरुध्द धावा बोल्नु आफ्नो कर्तव्य सम्झे ।

जनताको स्वास्थ्य अधिकार स्थापित गराएरै छाड्ने प्रतिज्ञाका साथ मृत्युसंग जुधिरहेका यी नेपाल आमाका सपुतको सफलतामा आम नेपालीको स्वस्थ भविष्य गासिएको छ । त्यस्तै असफल भै हाले भने स्वास्थ्यलाई रक्सिभट्टी धन्धा सरह मान्ने मुठि्ठभर अपराधीहरुको खुनी सपना पूरा हुनेछ । यो युद्ध अब क्याइमेक्समा पुगिसकेको छ ।

इतिहासमा कहिलेकाहीँ मात्र जन्म लिने यस्ता विरल चरित्र नायकहरुको पुकार समयमै सुन्न र बुझ्न सकेनौं भने अर्को यस्तै युग पुरुष आउन शताब्दी लाग्न सक्छ । दुर्भाग्य हाम्रो नियति बन्न सक्छ ।

दिनरात आफ्नो र परिवारको मात्र चिन्ता गरेर बस्ने र दुनियाँ भाँडमा जाओस् भन्ने अमानवहरुको यो बस्तीमा एउटा फरिस्ता आएको छ । समयमै चिन्न सकेनौं भने, उसको कदममा सशक्त साथ दिएनौं भने इतिहासले हामीलाई धिक्कार्ने छ ।

सुविधा र सेवाको घाम राम्ररी छिर्न नसकेका देशका दुर्गम र पिछडिएका गाउबस्तिमा पुगी विरामीको सेवा गर्ने गर्छन् यिनी । कुनै एनजीओ वा आइएनजीओबाट सहयोग नलिई आफ्नै तलवबाट बचाएको पैसाले दुःखी गरिवको सेवा गर्छन् ।

हैजा र महामारीले अलास तलास दुर्गम जिल्लामा पुगी, बिरामीको संक्रमण आफूमा हुन सक्ने सम्भावित खतरालाई वास्तै नगरी सेवामा जुट्छन् यिनी । जबकि राजधानीका अन्य डाक्टरहरु राज्यले तलब भत्ताको अफर गर्दा पनि डरले जाँदैनन् ।

आफ्ना सहकर्मी डाक्टर साथीहरु छुट्टी मनाउन देश देशावरको भ्रमण र मनोरञ्जनमा लिप्त भैरहँदा आफू चाहिं औषधीको भारी पिठ्यूँमा बाँधेर पैदलै पदल अनकण्टार गाउँतिर बढिरहेका हुन्छन् ।

अरुहरु निजी क्लिनिक खोल्दै नोटको खेतीमा व्यस्त भैरहँदा आफूचाँहि प्राकृतिक र मानवीय विपतले रोइरहेका हाइटी, बर्मा, फिलिपिन्स, भारत आदिका जनताको आँसु पुछ्दै हुन्छन् ।

प्रशस्त कमाउन सक्ने हैसियतमा पुगेर पनि सादा र सरल जीवन शैली अंगालेका उनी दुःखीका घाउ सुम्सुम्याउन र मलमपट्टी गर्नुमा अलौकिक आनन्द देख्दछन् । यी जोगी डाक्टर करोड नेपालीको नैसर्गिक स्वास्थ्यको अधिकार रक्षाका लागि प्राणको बाजी लगाइरहेका छन् ।

एक कार्टुन चाउचाउ बाँड्नुपर्दा बाजागाजा, क्यामेरा, पत्रकारको बन्दोबस्त गरी जगत हल्लाउन चाहने ढोंगी र पाखण्डीहरुले गाँजेको यो समाजमा हल्ला नगरी चुपचाप काम सकेर फर्किने यी निष्काम कर्मयोगी फरिस्तालाई देशले चिन्छ कि चिन्दैन ?

६/६ पटकसम्म आमरण अनसन बस्नुपर्ने त्यस्तो कुरा के हो ? के त्यो माग पूरा गर्न ज्यादै जटिल वा असम्भव छ ?
डा. केसीको मागको मर्म वा भावना भनेको-

· स्वस्थ जीवन बाच्न पाउने अधिकार सबैको हो । यसको रक्षा हुनु पर्दछ ।
· पैसाका तोडले बनेका डाक्टर बास्तवमा डाक्टर होइनन् । यिनले बचाउने कम र मार्ने ज्यादा गर्न सक्छन् ।
· मेकिल कलेज भनेका नाफा कमाउने उद्देश्यले खोलिएका रक्सीभटि्ट वा होटल लज होइनन् ।
· आवश्यक संरचना वा पूर्वाधार, सक्षम जनशक्ति, उचित व्यवस्थापन र मापदण्ड पूरा नगरी कलेज खोल्न पाइदैन । संचालनमा आइ रहेका कलेजहरुको गुणस्तर वृद्धि गरियोस् ।
· काठमाण्डौमा टोलै पिच्छे मेडिकल कलेज हुने तर टाढाका जिल्ला गाउँहरुमा एउटा पनि नहुनु अन्याय हो ।
· विद्यार्थी भर्ना गर्दा हाल लिइने गरेको शुल्क एक प्रकारले डकैटि हो ।
· सेवा कम शुल्क ज्यादा लिनु निन्दनीय हो ।
· कम सम्पति भएका जेहेन्दार र प्रतिभाशाली विद्यार्थीहरुलाई छिर्नै नसक्ने बनाउने र धनाढ्यहरुका मन्द बुद्धिका छोराछोरीहरुलाई पैसाका भरमा जबरजस्त डाक्टरको उपाधी थमाउनु घृणित कार्य हो ।
· स्वास्थ्य क्षेत्रलाई क्यासिनो बनाउन तल्लीन द्रव्य पिसाच माफियाहरुको कब्जाबाट मुक्त गर्नु पर्दछ ।
· स्वास्थ्यमा आम जनताको पहुच स्थापित हुनु पर्दछ ।
· स्वास्थ्य क्षेत्रलाई राजनीतिक भर्ति केन्द्र बनाउन पाइदैन ।
· स्वास्थ्य नीति जनमूखि सेवा मूखि हुनु पर्दछ आदि भन्ने नै हो ।

यो त राम्रो कुरा हो । राम्रो माग हो । यो सरकारले आफैं गर्नुपर्ने काम हो । त्यसमा पनि अरुले देखाइदिँदा खुसी भएर धन्यवाद दिनुपर्ने हो । अझ यस्ता डाक्टरलाई पुरस्कृत गर्दै जिम्मेवारी दिनु पर्ने हो । किन त्यस्तो भइरहेको छैन ?
कुरा स्पष्ट छ, देश सफा भयो भने, जनता बलिया भए भने, यिनको लुटको व्यापार मर्छ । माफियाहरुसँगको साझेदारी र कमिशन चौपट हुन्छ । यिनलाई देशको स्वास्थ्यसँग के मतलब !रुघा लाग्दा राष्ट्रको ढुकुटीबाट करोडौं करोड झिकेर विदेशमा मेडिकल टूर गर्छन फेमिलीसहित । देश भाँडमै जाओस् ।

अरु देशमा भएको भए डा. केसी राज्यद्वारा उच्च सम्मानित हुने थिए, पुरस्कृत हुने थिए । तर, भिल्लको देशका मणी भए यिनी ।

माग पूरा गरिदिने झूटो बाचा गर्दै, झुक्याउँदै, आलटाल गर्दै, अन्त्यमा यो वेथिति, विसंगति र भ्रष्टाचारको मलिलो माटोमा अपराधको रुपैयाँ फलाउने धन्दालाई निरन्तर राख्न चाहन्छन् माफिया र सरकार । डा. केसी यी लुटेराहरुको लागि चुनौती र बाटाका काँडासरि भएका छन् ।

Punya-Prasad-subedi-photo
पुण्यप्रसाद सुवेदी

लाज पचाएका, नैतिकता गुमाएका, देश र जनताप्रति दायित्वबोध नभएका, छिमेकीहरुले हरेक क्षेत्रमा तरक्की गरिरहँदा आफ्नो देश पनि बनाउँ भन्ने भावना र ईख नभएका यी तल्लो दर्जाका कमिसन एजेन्टहरु डा. केसीलाई आँखाको धूलो ठानिरहेका छन् ।

माथेमा प्रतिवेदन स्वास्थ्य र प्राज्ञिक क्षेत्रका विज्ञहरुले अत्यन्त गहन अध्ययन र अनुसन्धान पश्चात तयार पारेको दुरगामी महत्वको शोध हो । अनुसन्धान हो । सुझाव हो । यसलाई लागु गरिए स्वास्थ्य क्षेत्रका विकृति, विसंगति हटी जनमूखि, उत्तरदायीपूर्ण, गुणस्तरयुक्त, स्वस्थ स्वास्थ्य क्षेत्रको निर्माणको प्रक्रिया थालनी हुने थियो ।

थैलीवालहरुले पैसाको भरमा सान देखाउनका लागि छोराछोरीको बिहे “राणा र शाह” खान्दानमा गराउनका लागि मेडिकल कलेज उपयोग भएका छन् । पैसाका भरमा डा. भएकाहरुले बिरामीको कलेजो दुख्ता मुटु चिरेका छन् । नाइटो दुख्ता किड्नी झिकेका छन् ।

मन्द बुद्धिका थैलीवाला खान्दानका सन्तान नक्कली डा. बनेर मान्छे मारिरहेका छन् ? कमजोर अवस्थाका प्रतिभावान छोराछोरीहरु हे प्रभु, अर्को जुनिमा यो देशमा जन्मन नपरोस् भनेर प्रार्थना गरिहेछन् ।

राजधानीमा टोलैपिच्छे मेडिकल कलेज हुँदा जिल्लाहरुमा मानिसहरु झारफूक, धामी झाँक्री लाएर बाँचिरहेका छन् । सम्पति लुट्न खोलिएका नक्कली मेडिकल कलेजमा आवश्यक पूर्वाधार छैनन् । प्राध्यापक छैनन् । प्रयोगशाला छैनन् । विरामी पर्याप्त छैनन् । सामान्य नेपाली जनताले जुनिभरमा कमाउन नसक्ने पैसा एकमुष्ठ असुलेर उनीहरुलाई “पढ पढ नानी हो” गरि गिज्याइरहेछन् ।

भएकै मेडिकल कलेजको स्तरउन्नति गर्न त कता हो कता, न्यूनतम मापदण्ड समेत पूरा गर्न त कता हो कता, अझ अरु कलेज खोली लुटने योजनामा तल्लीन छन् माफियाहरु । विश्वमा काहिँ यस्तो गाईजात्रा हुँदैन शिक्षाको क्षेत्रमा ।

हेरेर हेरी नसक्नु, सहेर सही नसक्नुसम्मको यो लुट, यो वर्वादी, यो खेलँाची, यो संवेदनहीनतालाई लल्कार्दै एक डाक्टर मृत्युसंग जुधिरहेका छन् ।

डा. केसी प्राणान्त हुने अवस्थातिर उन्मूख छन् । नेपाल आमाको हुर्मत लिने सरकारका मुखिया भई खाएका यी धुन्धुकारीहरु आफ्नो व्यक्तिगत स्वार्थको रक्षा खातिर देशमा उल्कापात गराइरहेका छन् । अन्य अन्य वाहाना बनाई, नदेखे जस्तो गरी, महत्व नदिई डा. केसीसँगै स्वस्थ नेपालको सपना बिलाएको हेर्न चाहन्छन् यिनीहरु ।

डा. केसी सम्पूर्ण नेपाली जनताका तर्फबाट प्रतिनिधि भई अनसनरत रहेकाले उनका माग प्रति ऐक्यवद्दता जनाउंदै सडकमा ओर्लिनु सबैको दायित्व हो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई व्यापारिका हातबाट थुतेर जनताका हितका लागि प्रयोग गर्ने महान उद्देश्यका साथ आमरण अनसनरत डा. केसी नेपाल आमाका सच्चा र इमान्दार छोरा हुन् । सबै डा. केसी हुन सकिँदैन । तर समर्थक र सहयोगी त हुन सकिन्छ नि ।

त्यसैले सवै वर्ग, पेशा, तह र क्षेत्रका ज्ञानी नागरिकहरु हो, समय घर्किरहेको छ । न्यायको आवाज बुलन्द गर्न सडक पर्खिरहेको छ । डा. केसीको स्थिति एकदम जटिल हुँदैछ ।

यस्तो संवेदनशील घडीमा डाक्टर र मेडिकल विद्यार्थीमात्र आन्दोलन गर्ने, बाँकी हामीचाहिँ फेसबुक र टि्वटरमा सरकारलाई गाली मात्र गरी बसेर दायित्व पूरा हुँदैन ।

विदेशमा हुने सम्पूर्ण नेपाली दिदी बहिनी, दाजुभाइहरु सरकारलाई संगठित दवाब दिनुहोस् । संघ संस्थाहरु हो, नेपालका नेता विदेश जाँदा स्वागत कार्यक्रम गर्ने मात्र तपाईहरुको काम होइन । यसबेला डा. केसीको माग प्रति ऐक्यवद्दता प्रदर्शन गर्नुहोस् ।

गुण्डा मर्दा रुवावासी गर्ने नेताहरुहो, डा. केसीका लागि केही बोल ।

लेखकहरु हो, डा. केसीले सुरुगरेको यो धर्मयुध्दको पक्षमा केही लेखहरु लेख । कविहरु कविता लेख, गीत लेख । नागरिक समाजका अगुवाहरु हो , घरबाट बाहिर निस्क । निष्पट्ट अन्धकारको विच बल्दै गरेको एउटा दियो हुरिसँग जुधिरहेको छ ।

बुद्धिजीवी र कलाकारहरु हो, देशले यसबेला तिमीहरुलाई खोजी रहेको छ । कृपया ढोका खोलेर बाहिर निस्क ।

तिजको खुशियालीमा झुमी रहेका चेलीबेटीहरु हो तिम्रो भोज भतेर, नाचगान, एक छिनका लागि बन्द गर । तिम्रा दाजु डा. केसी तिम्रै सुरक्षित मातृत्वका लागि मृत्युसँग जुधिरहेका छन् ।उनलाई हेर्न जाऊ ।

यो मुद्दा पार्टीको होइन । देशको हो । तसर्थ विभिन्न पार्टीमा आबद्ध कार्यकर्ताहरु हो, आफ्नो पार्टीभन्दा ठूलो देशलाई मानेर डा. केसीका लागि सडकमा ओर्ल ।

सम्पूर्ण व्यापारी, मजदुर, किसान, विद्यार्थी, पत्रकार, वकिलहरु हो, एक घण्टा पनि विलम्ब नगरी स्वःस्फूर्त रुपमा आजै र अहिल्यै सडकमा ओर्ल । डा. केसीको माग प्रति ऐक्यबद्दता जनाऊ । समयले घण्टी बजाइसकेको छ । डा. केसीको ज्यान तलमाथि भयो भने यो देशले पाप र ग्लानीको बोझ थाम्न सक्ने छैन ।

अन्त्यमा, डा. केसीलाई पागल भन्नेहरु हो, राम्ररी सुन – पागलले इतिहास बनाउँछन् र सद्देहरुले त्यसलाई पढ्छन् । डा. केसीले बनाएको इतिहास भोलि तिम्रा सद्दे सन्तानहरुले पढ्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment