Comments Add Comment

तेल र ग्यास छाड्न भारतको अझै आनाकानी

Bhairahawa-Belhiya-Bhansar१८ असोज, काठमाडौं । भारतले नाकाबन्दी खुलाउन मातहतका निकायलाई निर्देशन दिएको भनिए पनि अझै आयात सहज हुन सकेको छैन ।

नेपालकै ठूलो वीरगञ्ज भन्सार नाका सोमबार पनि ठप्प छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले धर्ना जारी राखेका छन् ।

विराटनगरको रानी भन्सार नाकाबाट सोमबार विहान तेल बोकेका २ ट्यांकरसहित ३१ वटा गाडी नेपाल भित्रिएका छन् । तर तेलका दुई वटा ट्यांकर र ग्यासको एउटा बुलेट मात्रै नेपाल भित्रिएका छन् । धेरैजसो फलफूल तथा तरकारी बोकेका गाडीहरु नेपाल भित्रिएको रानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए ।

आइतबारको तुलनामा सोमबार धेरै गाडीहरु नेपाल भित्रिने अपेक्षा गरिएको बस्नेतले बताए । रानी भन्सारबाट आइतबार ७ वटा गाडी नेपाल भित्रिए पनि तेल बोकेको एउटा पनि गाडी आएको थिएन ।

रानी भन्सार नाकामा अवरोध गर्न बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई आइतबार प्रहरीले हटाएको थियो । सोमबार भने मोर्चाका कार्यकर्ताहरु भन्सार क्षेत्रमा देखिएका छैनन् । मोर्चाको आन्दोलनका कारण विराटनगर भन्सार नाका यही असोज ६ गतेदेखि प्रभावित छ ।

यसैगरी भैरहवा भन्सार नाकाबाट आइतबार राति १२९ गाडी नेपाल भित्रिएका थिए । त्यसमा तेल बोकेका तीन वटा ट्यांकर र २ बुलेट ग्यास मात्र थिए । सोमबार विहान १० बजेसम्म २ ट्रक खसीबोका र फलफूल रहेको एउटा पिकअप भ्यान मात्र नेपाल भित्रिएको छ ।

नेपालगञ्जको जमुनाहा नाकाबाट सोमबार विहानसम्म एउटा पनि गाडी नेपाल नभित्रिएको भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए । नेपाल भित्रिने पर्खाइमा भारतीय भूमिमा डेढसय गाडीहरु रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment