Comments Add Comment

नाकाबन्दीको असर : फेसनेबल कपडाको अभाव

Kapada (2)

२१ असोज, काठमाडौं । दशैंमा नयाँ लुगा कपडा र जुत्ता किन्ने सोचमा हुनुहुन्छ ? नयाँ डिजाइन र फेसनका लुगाकपडा किन्ने तपाइको चाहाना हो भने यो दशैंमा तपाईले बजार चाहार्नु ब्यर्थ छ । किनभने बजारमा दशैंलाई लक्षित गरेर मगाइएका कपडा र जुत्ता सबै भारतीय नाकामा नै थन्किएका छन् ।

अघोषित नाकाबन्दीका कारण दशैंलाई लक्षित गरी ब्यापारीले चीन, भारतसहित तेस्रो मुलुकबाट झिकाएका नयाँ फेसन आइटम बोकेका कन्टेनर भारतकै नाकामा रोकिएका छन् । विशेषगरी लुगाकपडा, जुत्ता लगायतका आइटम वीरगञ्ज नाका हुँदै आउने गरेको छ । तर, समान बोकेका सबै कन्टेनर नाका मै थन्किएपछि दशैंलाई लक्षित गरी आउने नयाँ डिजाइनका फेसन आइटमको अभाव बजारमा चर्को बनेको छ ।

‘पछिल्लो समय तराईको बन्दका कारण काठमाडौंमा समान आउने क्रम बन्द भएको थियो । झन् भारतको नाकाबन्दीपछि अलि-अलि आउने सामान पनि आएको छैन । माग अनुसारको फेसन आईटम दिन सकिएको छैन,’ हिमालयन सीमापार बाणिज्य संघका उपाध्यक्ष बच्चु पौडेलले भने । चीनको नाका नखुलेपछि भारत हुँदै ल्याएका चिनियाँ सामान पनि बाटैमा रहेकाले दशैंका लागि नयाँ डिजाइनको कपडा बजारमा पर्याप्त नभएको उनले बताए ।

Kapada3

अहिले बजारमा धेरैजसो पुरानै स्टकका फेसन आइटमहरु छन् । भोटाहिटीको एक पसलमा कपडा किन्न आएका सुवास श्रेष्ठ आफूले खोजेजस्तो कपडा नपाएपछि खाली हात नै फर्किए । उनले जति कपडा हेर्दा पनि चित्त नबुझेको सुनाए । ‘नयाँ खालका कपडा आए होला भनेर आएको, एउटै कपडा भनेजस्तो भेटिएन,’ उनले भने, ‘आँखा लाग्ने कपडा नै नभएपछि के किन्नु ? अब एकपटक न्युरोडको पसल तिर खोज्छु ।’

ब्यापारीहरु पनि नयाँ डिजाइन र फेसनका सामान नभएपछि ब्यापार पनि सुकेको गुनासो गर्छन् । न्युरोडको डेस्टिनी फेसन स्टोरका सञ्चालक सञ्जय श्रेष्ठले अघिल्ला दशैंमा भन्दा यसवर्ष ७० प्रतिशत ब्यापार घटेको बताए ।

‘भनेजस्ता नयाँ फेसनका सामान पनि छैन । त्यसमाथि ग्राहक नै नभएपछि भएको सामान पनि बेच्न सकिएको छैन,’ उनले अनलाइनखबरसँग तितो पोखे, ‘मुख्य कमाइ हुने सिजन मै ब्यापार सुकेपछि के मज्जा ?’

उनले दिल्लीबाट कार्गो गरेर सामान झिकाउन पनि नपाएको बताए । ‘तेल धेरै ल्याउन बिमानले पनि कार्गो गर्न छोडेका छन् । नयाँ आइटम जसरी पनि ग्राहकलाई दिउँ भन्दा पनि सकिएको छैन,’ श्रेष्ठले भने, ‘अहिले त लोकल आइटमहरु बेचेर बस्नु परेको छ ।’

महाराजगञ्जको यूएफओ फेसन सेन्टेरले पनि आफ्नो ब्यापारमा ५० प्रतिशत गिरावट आएको जनाएको छ । अघिल्लो ‘लट’ मा आएको सामान बेचिरहेको यूएफओको पनि दशैंमा ब्यापार मन्द भएको एक कर्मचारीले जानकारी दिए ।

अहिले काठमाडौंका प्राय सबै फेसन आइटम बेच्ने पसलहरुको कथा उस्तै छ । दशैंका बेला खुट्टा टेक्ने ठाउँ नहुने बजार, पसल र सपिङ मलमा ग्राहकको संख्या अति न्युन छ । पसलमा यसै पनि कम ग्राहक छिर्छन् भने आएका ग्राहक पनि नयाँ डिजाइनका सामान नदेखेर फर्किने गरेको ब्यापारीहरु सुनाउँछन् ।

दशैंमा नयाँ लुगाकपडा र जुत्ता किन्ने नेपालीहरुको संस्कारलाई यसवर्ष भारतीय नाकाबन्दीले प्रभावित गरेको छ । दशैंमा नयाँ कपडा/जुत्ता किन्ने योजना बनाउनेहरु पनि गाडीमा हुने भीडले घरबाट बजार आउन पनि तयार देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment