Comments Add Comment

पिकनिक उद्घाटनमा कड्किए मन्त्री

५ चैत, पोखरा । एक पार्टीका कार्यकर्ताले चिया गफमा भने, ‘यहाँ राजनीति गर्न र म केही हुँ भनेर देखाउन २० जना जति फुक्काफाल कार्यकर्ता भए पुग्छ ।’

त्यसका लागि उनले तीनवटा मौलिक तरिका पनि पेश गरे– केन्द्रमा एकजना नेतासँग सम्बन्ध जोड्ने, प्रदेशका ‘चालु’ मन्त्रीलाई आफ्नो बनाउने र केन्द्रीय नेता, मन्त्री जिल्ला आउ–जाउ गर्दा अविरजात्रा गराउन कार्यकर्ताको झुण्ड बनाउने ।

‘अब संस्कार, विचार, सिद्धान्त, तर्क केही नचाहिने भयो’, उनले भने, ‘केन्द्रीय नेता वा मन्त्री आउँदा अविरजात्रा गराउँन र फोटो खिचेर फेसबुकमा पोस्ट गर्न/गराउन सकियो भने राजनीतिक जीवन बन्ने भयो ।’

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको तनहुँ यात्रामा देखिएको ‘तमासा’लाई लिएर ती कार्यकताले यस्तो टिप्पणी गरेका थिए ।

पर्यटन मेला उद्घाटन गर्न शुक्रबार तनहुँतिर लागेका मन्त्री गुरुङलाई चितवनको दासढुंगा र तनहुँको देवघाट जोड्ने पुल नपुग्दै कार्यकर्ताहरुले रोकेर भव्य स्वागत गरे । अविर, माला र खादाले पुरिएका मन्त्री त्यहाँबाट के उम्किएका थिए, दौडिँदै आएका दुईजनाले फेरि गाडी रोकेर खादा थपिदिए ।

पुल कट्नेबित्तिकै मन्त्रीका लागि खानाको व्यवस्था मिलाइएको थियो । मन्त्री गाडीबाट ओर्लिनासाथ गाउँपालिका अध्यक्षलगायत नेकपाका कार्यकर्ताले घेरेर गर्नसम्म स्वागत गरे ।

देवघाट गाउँपालिकाको छरछरे झरनामा मेला उद्घाटन गरेर निर्माणाधीन शालिग्राम करिडर निरीक्षण गर्ने मन्त्री गुरुङको कार्यक्रम थियो । प्रदेश सरकारको १ करोड बजेटबाट बन्दै गरेको शालिग्राम करिडरको काम छरछरे झरना माथिको बञ्चरे भीरले रोकेको छ । हतार मानिरहेका मन्त्री त्यता के लागेका थिए, कार्यकर्ताहरुको दौडादौड चल्यो ।

मन्त्री गुरुङले त्यहाँको वस्तुस्थिति बुझ्न खोज्दा गाउँपालिकाका अध्यक्ष दुर्गा थापालाई उछिनेर ‘जाहेर’ गर्नेहरु प्रशस्त निस्किए । मन्त्री गुरुङले काम अघि बढाउन प्रदेश सरकारले छलफल गरेर ‘एक्सन’ लिने बताए ।

‘आफूले चुनेर पठाएका जनप्रतिनिधिप्रति चासो र आकर्षण हुनु स्वाभाविकै होला’, चिया गफमा ती कार्यकताले भने, ‘तर, मन्त्रीलाई ज्यूहजुर गर्नेको लस्कर नै देखिनु उदेक लाग्दो कुरा हो ।’

छरछरे झरनामा क्यानोनिङको परीक्षण गराउन मन्त्री गुरुङले गाइड लिएर गएका थिए, जुन सफल पनि भयो । त्यसपछि सुरु भएको औपचारिक कार्यक्रममा मन्त्रीको ठूलो गुणगान भइरह्यो ।

अनेक संघ–संस्थामा बसेकाहरुलाई मञ्चमा आसन चाहिने र मञ्चमा भएका सबैले बोल्नैपर्ने कुसंस्कार छरछरेमा नदोहोरिने कुरै भएन । त्यसबाट मन्त्री गुरुङ पनि वाक्क भइसकेका रहेछन् । उनले मुखै फोरेर ‘यस्तो भद्दा कुराको सिको नगर्न’ सुझाव दिए । उनले भने, ‘हामीले ठीक, बेठीक नबुझी विकास गरेको कुसंस्कार त्याग्नुपर्छ ।’

मन्त्री गुरुङ शनिबार बिहान देवघाटधाम आश्रममा बटुकहरुसँगै खाना खाने योजनामा थिए । तर, नेकपाका स्थानीय नेता–कार्यकर्ताले बिहान देवघाट धाम घुमेर खाना पिकनिकमा खाने प्रबन्ध गरे ।

बिहान देवघाट विकास समितिका पदाधिकारीहरुसँग घुम्दै छलफल गरेर मन्त्रीको टोली स्थानीयले आयोजना गरेको पिकनिकस्थलतिर लाग्यो, जहाँ अविर, माला र खादा बोकेको समुह तम्तयार अवस्थामा थियो । मन्त्री पुग्नेबित्तिकै स्वागत भारी बोकाएर सुरु भयो पिकनिक उद्घाटन कार्यक्रम । त्यसपछि सुरु भयो, आसन ग्रहण र भाषणको भुत्ते शृंखला ।

प्रमुख अतिथिको बोल्ने पालोमा मन्त्री गुरुङ कड्किए, ‘पिकनिक भनिएको छ । फेरि यहाँ पनि औपचारिक कार्यक्रम । सबैलाई आसन ग्रहण गराउनैपर्ने, खादामाला ओढाउनैपर्ने, अतिथि र प्रमुख अतिथि बनाउनैपर्ने, जतिसक्दो लामो बोल्नैपर्ने, अगाडि दुईजना हुँदैन भाषण गर्नैपर्ने । यो तरिका त्याग्नैपर्छ ।’

उनले थपे, ‘नेता र मन्त्री आएपछि आर्थिक सहयोग माग्नैपर्ने, धेरै सहयोग गर्छु भनिदिनुपर्ने । आर्थिक सहयोग नमिलेपछि फेरि गाली गर्ने । यही संस्कारका कारण दल र नेताको बद्नाम भइराखेको छ । पिकनिकमा यस्तो लम्बेतान कार्यक्रम किन गर्नुपर्‍यो ? खाने कुरा खाएपछि पिकनिक उद्घाटन भइहाल्यो नि । …नेपाली राजनीतिक संस्कार बिग्रनुमा दलका कार्यकर्ता र जनताको पनि हात छ ।’

मन्त्री गुरुङ त्यसै कड्किएका होइनन् । हिजोआज रक्तदान कार्यक्रममा सभापति, प्रमुख अतिथि आदि बनेर भाषणको वर्षा गर्ने चलन आएको छ । सरसफाइ कार्यक्रमको धेरैजसो समय कुचो समाउने भन्दा आसन र भाषणमा बित्छ । वृद्धाआश्रममा एकहजार सहयोग हस्तान्तरण गर्दा वा फलफूल बाँड्दा पनि भाषण गर्ने, खिच्ने, फेसबुकमा पोस्ट गर्ने लगायतका नसुहाउने तमासा गरिन्छ । यस्तो तमासाको सूची बनाउने हो भने धेरै लामो बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment