Comments Add Comment

लामो दुरी चल्ने ७५ प्रतिशत गाडी थन्किए

banda  1२१ असोज, काठमाडौं । काठमाडौंबाट लामो दुरीमा चल्ने सवारीसाधनको संख्या झण्डै ७५ प्रतिशतले घटेको छ । भारतको अघोषित नाकाबन्दीका कारण तेल पाउन मुस्किल भएपछि लामो दुरीका लागि छुट्ने यात्रुबाहक सवारी झण्डै ७५ प्रतिशतले घटेको हो ।

काठमाडौंको प्रमुख नाका नागढंगा प्रहरीले विगतको तुलनामा काठमाडौंबाट लामो दुरीमा जाने सवारी अहिले २० देखि २५ प्रतिशत मात्र छुट्ने गरेको जनाएको छ । नागढुंगामा खटिएका एक प्रहरी अधिकृतले भने-‘यसअघि दैनिक १ हजार रात्रीबस लामो गन्तब्यमा जान्थे । तर, अहिले दैनिक ३ सय गाडी मुस्किलले काठमाडौंबाट छुट्छन् ।’

बाहिरिने यात्रु पनि घटे

उनले काठमाडौंबाट बाहिरिने यात्रुको संख्या पनि घटेको बताए । अहिले काठमाडांैमा भित्रिने र बाहरिने सवारीको संख्या दैनिक ३ हजारको हाराहारीमा मात्र छ । यो समयमा दैनिक ५५ हजार यात्रु उपत्यकाबाट बाहिरिने गरेकोमा गाडीको अभाव भएपछि त्यो झण्डै आधा घटेको छ । यात्रुहरु बस नभएपछि ट्रक लगायत विभिन्न साधन प्रयोग गरी बाहिरिने  क्रम चलिरहेको प्रहरीको भनाइ छ ।

बसपार्कमा धेरै अलपत्र

काठमाडौंका बसपार्कमा यात्रुहरु गाडी नपाएर हैरान भएर बसेका दृश्य समान्य बनेका छन् । काठमाडौंबाट बाहिरिने धेरै यात्रुहरुले  बसमा सिट पाएका छैनन् भने कोचिएर यात्रा गर्न बाध्य भएका छन् । यसवर्ष दशैंको अगि्रम टिकट बुकिङ पनि नखुल्ने भएपछि धेरै सर्वसाधरण काठमाडौं कसरी छोड्ने भन्नेमा धेरै चिन्तित छन् । धेरैले बसमा भीड सुरु हुनु अगावै बाहिरिने योजना बनाएपनि गाडीमा सिट पाउन मुस्किल बनेको छ ।

तेलको वितरण अब्यवहारिक भएको गुनासो

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैंका लागि काठमाडौंबाट बाहिरिने यात्रुको  चाप विस्तारै बढ्दै गएको  समयमा गाडीको संख्या घट्दा ठूलो समस्या परेको बताए ।

‘यात्रुको चाप बढिरहेको समयमा तेल नपाएपछि लामो दुरीका यात्रुबाहक गाडी छुट्न पाएका छैनन् । यहाँबाट गएका कति गाडी तेल नपाएर उतै अडि्कएका छन्,’ सिटौलाले भने-‘लाखौं यात्रुले काठमाडौं छोड्ने समयमा मच्चिएको तेल अभावले यात्रुसंगै ब्यवसायी पनि मारमा परेका छन् ।’

उनले निगमले  तेलको वितरण पनि अब्यवहारिक रुपमा गरेको बताए । ‘लामो दुरीमा चल्ने गाडीलाई लक्षित गरेर राजमार्गका विभिन्न क्षेत्रका पम्पलाई पनि तेल दिनुपर्ने हो । त्यसअनुसार व्यवस्था नहुँदा लामो दुरीमा चल्ने बसहरु समस्यामा छन्,’ सिटौलाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment