Comments Add Comment

प्रचण्ड दम्पत्तिको बिदाइबारे दीपशिखा भन्छन् : कम्युनिस्टविरोधीलाई जवाफ

‘सीता दाहालको उपचार खर्च प्रवासी संगठनले व्यहोर्छ’

Photo Credit : रामप्रसाद सापकोटाको फेसबुक पेजबाट

४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नी पत्नी सीता दाहालको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरे । उनीहरुलाई बिदाइ गर्न एउटा ठूलो समूह एयरपोर्टमा लाम लागिरहेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पूर्वमाओवादीको भातृ संगठन वाईसीएलको अगुवाइमा नेकपाका दुई–तीन सय कार्यकर्ता प्रचण्ड दम्पत्तिको बिदाइ गर्न पुगेका थिए । उक्त दृश्यलाई लिएर सामाजिक सञ्जालमा नेकपा कार्यकर्ताको उछितो काढिएको छ । यसलाई हनुमानगिरी, अन्धभक्ति, दासत्व आदि नाम दिइएको छ ।

तर, वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने आफूहरुमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले कम्युनिस्टविरोधिलाई जवाफ दिन प्रचण्ड दम्पत्तिको ‘भव्य बिदाइ’ गरेको अनलाइनखबरलाई बताए ।

‘यतिबेला हाम्रो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको छ, केही मै हुँ भन्ने मिडियाकर्मी पनि हाम्रो पार्टी नेतृत्वको तेजोवध गर्न लागि परेका छन् । यस्ता व्यक्ति र प्रवृत्तिलाई जवाफ दिनका लागि र पार्टी अध्यक्षको मनोबल बढाउनका लागि वाईसीएलले भव्य बिदाइ योजना बनाएको हो । वाईसीएलको अगुवाइ भए पनि यसमा नेकपाका पूर्वएमाले निकट कार्यकर्ता पनि सहभागी हुनुहुन्थ्यो,’ दीपशिखाले भने ।

स्मरणीय के छ भने दुई दिनअघि सञ्चारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रममा अध्यक्ष प्रचण्डको कटु आलोचना गरेका थिए । ‘जनताका छोराछोरी मार्दा वास्ता भएन, आज आफैं मारिने भएपछि विप्लवमाथि प्रतिबन्ध लगाउने ?’ भन्दै उनले प्रश्न उठाएका थिए । साथै प्रचण्डले पत्नीलाई उपचारका लागि अमेरिका लैजान लागेको विषयलाई लिएर पनि उनले प्रश्न उठाएका थिए । त्यसलगत्तै पूर्वमाओवादी कार्यकर्ता लामिछानेमाथि खनिएका छन् । यसरी खनिनेमा दीपशिखादेखि प्रचण्डकी छोरी र नातिनीसम्म छन् ।

त्यसैले प्रचण्ड दम्पत्तिको आइतबारको बिदाइ पनि घुमाउरो रुपले रवि लामिछानेलाई नै जवाफ दिनलाई त होइन ?

यस प्रश्नमा दीपशिखा भन्छन्, ‘उहाँले जुन रुपमा एउटा राष्ट्रिय टेलिभिजनमा हाम्रो पार्टी अध्यक्षको निन्दा गर्नुभयो, त्यो पत्रकारिताको सीमाभन्दा बाहिर थियो । उहाँको हरेक भिडियो लाखौं मानिसहरुले हेर्ने भएकाले त्यसबाट जनमानसमा भ्रम उत्पन्न हुन्छ । त्यसैले हामीले उहाँलाई जवाफ दिनुपर्ने आवश्यकता परेको हो । एयरपोर्टको सन्दर्भमा पनि हामीले उहाँ र उहाँजस्ता नेकपाका आलोचकहरुलाई पार्टीको नेतृत्वप्रतिको आस्था कार्यकर्तामा कत्ति पनि डग्मगाएको छैन भन्ने देखाउन खोजेका हौं । आलोचकहरुलाई हामी ज्यूँदै छौं भनेर मनोवैज्ञानिक काउन्टर दिन खोजेका हौं ।’

प्रचण्डको अमेरिका यात्राका सन्दर्भमा अर्को बलियोसँग उठेको प्रश्न हो, सीता दाहालको उपचार खर्च । प्रधानमन्त्री बन्दा आफ्नो सम्पत्ति विवरणमा तीन तोला सुन र एक कठ्ठा जग्गा मात्र भएको देखाएका थिए । तर, अहिले अमेरिकामा चार जना लगेर श्रीमतीको उपचार गर्ने पैसा उनले कहाँबाट जुटाए ? कतिले चाहिँ सीताको उपचार खर्च सरकारले व्यहोर्ने अनुमान पनि गरिरहेका छन् ।

तर, दीपशिखाले भने सरकारको खर्चमा उपचार नहुने बताए ।

‘मैले बुझेसम्म नेकपाको प्रवास संगठनले उपचारको प्रबन्ध मिलाएको छ । खर्च पनि उहाँहरुले नै जुटाउनुहुनेछ । साथै अध्यक्ष कमरेडको व्यक्तिगत खर्च पनि अलिकति पर्न सक्छ,’ उनले भने ।

उपचारका लागि अमेरिका नै पुर्‍याउनुपर्ने अवस्था थियो र ? भन्ने प्रश्नमा उनले भने, ‘नेपालमै उपचार सम्भव थियो भने अमेरिका लैजानु गलत हुन्थ्यो । तर मैले बुझेसम्म नेपालमा सम्भव थिएन । पार्किन्सन्सको पनि लास्ट स्टेजमा रहेछ । अमेरिकाको एउटा अस्पतालमा यो रोगको पछिल्लो अनुसन्धान भएको र केही व्यक्तिहरुको सफल उपचार पनि भएको सुनिन आयो । त्यसैले उता लैजाने सल्लाह भएको हो । तर, त्यहाँ गएर पनि निको हुने ग्यारेन्टी चाहिँ छैन ।’

उनले पत्नीको जिद्दीले गर्दा प्रचण्ड पनि जानुपरेको उल्लेख गरे ।

‘खासमा अध्यक्ष कमरेड नगएको भए पनि हुन्थ्यो होला । तर सीता कमरेड उहाँलाई एक दिन पनि छोड्न सक्नुहुन्न । नेपालमै पनि एक दिन बाहिर बिताउनुपर्ने भयो भने आफू पनि सँगै जाने जिद्दी गर्नुहुन्छ । एक दिन मात्रै छुट्टिनुपर्‍यो भने निहुँ खोज्न थाल्नु हुन्छ । अहिले त झन् बिरामी भएको बेलामा उहाँले छोड्ने कुरै भएन । कन्भिन्स गर्न खोजिएको हो तर मान्नुभएन,’ दीपशिखाले भने ।

उनले थपे, ‘अध्यक्ष कमरेड केही समयदेखि उच्चतम पारिवारिक तनावमा हुनुहुन्छ । यस्तोबेला अनर्गल कुरा गरेर उहाँलाई अझै कमजोर पार्ने खेल भइरहेको छ । तर, हामी उहाँलाई कमजोर हुन दिँदैनौं ।’
यो पनि पढ्नुहोस सीता दाहालको स्वास्थ्य समस्या के हो ? नेपालमा उपचार सम्भव छैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment