Comments Add Comment

पाकिस्तानसित देखियो नेपालको आत्मविश्वास

Nepal-Vs-Pakistan-cricket (22)

चिरञ्जीवी पौडेल 

२३ कात्तिक, काठमाडौं । नेपालले टेस्ट वरियताको दोस्रो स्थानमा रहेको पाकिस्तानसित प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने अभूतपूर्व मौका पायो । विश्व क्रिकेटकै एक शक्तिशाली टिमसितको भिडन्त नेपाली टोली कति पानीमा छ भनेर जाँच्ने अवसर पनि थियो ।

५० ओभरको खेलमा १२१ रनको जित अन्तर फराकिलो मानिन्छ । तर, पाकिस्तानी टोलीबाट खेलेका खेलाडीहरुको नाम हेर्दा नेपालका लागि यो ठूलो अन्तराल होइन । पाकिस्तानले नेपालविरुद्ध आफ्नो ‘वेस्ट-११’ उतारेको थियो, जसको नेतृत्व राष्ट्रिय टोलीका नियमित कप्तान अजहर अलीले नै गरेका थिए ।

पाकिस्तानसित भिड्नुअघि नेपालले बलिङमा केही प्रभाव देखाउन सक्ने तर, ब्याटिङमा धराशयी हुने अनुमान गरिएको थियो । पाकिस्तानको बलिङ विश्वमै उत्कृष्टमध्येको एक मानिन्छ जसमा टेस्ट वरियतामा दोस्रो स्थानमा रहेका स्पिनर यासिर शाहदेखि १५० भन्दा माथिमा रफ्तारमा बाउन्सर फ्याक्ने वाहब रियाजसम्म छन् ।

पाकिस्तानको बलिङलाई नेपालले सोचेभन्दा सहजरुपमा सामना गर्‍यो । ब्याटिङमा सँधै कमजोर नेपालले पाकिस्तानविरुद्ध पाँच विकेट मात्र गुमाएर २०५ रन बनाउनु ठूलै उपलब्धी हो ।

टस जितेर बिना सोचविचार नेपालले बलिङ गर्ने निर्णय लियो, किनकी नेपालको प्रमुख हतियार नै बलिङ थियो । प्रारम्भिक बलरद्वय सोमपाल कामी र करण केसीले पाकिस्तानी ओपनरहरु अजहर अलि र अहमद सेहजादलाई सुरुमा खुलेर खेल्न दिएनन् । तर, पाकिस्तानले ओपनरहरुले करणलाई निशाना बनाएर रनरेट माथि उठाए ।

बलिङमा जमे पारस

Nepal-Vs-Pakistan-cricket (3)

राम्रो सुरुवात गरे पनि नेपाली बलरले पाकिस्तानलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन् । बलिङमा सबैभन्दा अपेक्षा गरिएको बसन्त रेग्मीले अहमद सेहजाद र युनिस खान जस्ता अविस्मरणीय विकेट हात पारेका छन् । यद्यपि उनको बलिङ अन्त्यमा महंगो सावित भयो । नौ ओभर पुरा गरेका बसन्तले ७३ रन खाए ।

कप्तान पारस खड्कालाई हिजोको म्याचमा नेपालका सबैभन्दा सफल बलर मान्नुपर्ने हुन्छ । पूरा १० ओभर बलिङ गर्दा ४७ रन मात्रै खर्च गरेका उनले पाकिस्तानका आक्रामक ब्याट्सम्यान सरफराज अहमदलाई बोल्ड गरिदिए । भेट्रान स्पिनर शक्ति गौचनले भने मौका खेर फाले ।

पाँच ओभर बलिङ गरेका शक्तिमाथि पाकिस्तानी ब्याट्सम्यानहरु खनिएका थिए । विना विकेट उनले ४१ रन दिए । तीव्र गतिका बलर सोमपाल कामीले विकेट लिन सकेनन् तर पाकिस्तानी ब्याट्सम्यानहरुलाई दवावमा राखे । उनलाई कप्तानले पाँच ओभर मात्रै बलिङ गराउनुको कारण खुल्न सकेन ।

दुई ओपनरले आशा जगाए

ब्याटिङमा सुवास खकुरेलले आत्मविश्वासपूर्ण सुरुवात गरे । लामो समय टिक्न सकेनन्, तर यासिर साहको बलमा क्याच आउट हुनु उनको लागि ठूलो अफसोसको कुरा होइन । ३३ बलमा २६ रन हानेका उनले पाकिस्तानी बलरहरुलाई चार चौका हिर्काए । पछिल्लो समयमा अस्थिर र्फमका कारण टिममा भित्र-बाहिर भइरहेका सुवासलाई अनुभवका कारण पाकिस्तानविरुद्धको टोलीमा राखिएको थियो । पाकिस्तानविरुद्ध देखाएको आत्मविश्वासले उनी पुरानो लयमा फर्किन थालेको संकेत देखियो ।

Nepal-Vs-Pakistan-cricket (12)

अर्का ओपनर अनिल मण्डलले अविस्मरणीय अर्द्धशतक बनाए । सुरुमा निकै सुस्त खेलेका उनले अर्द्धशतक बनाउँदा १०० बल खपत गरे । नेपाली टोलीमा आफूलाई स्थापित बनाउन संघर्षरत अनिललाई यो इनिङले निकै मद्दत गर्नेछ । सुवास र अनिलको जोडीले नेपाली टोलीमा ओपनिङ जोडीको संकट टार्ने आशा जागेको छ ।

सुवास आउट भएपछि नेपालले तीन नम्बरमा सागर पुनलाई पठायो । ब्याटिङमा पटक-पटक अवसर पाए पनि चुक्दै आएका सागरले यसपटक भने मौका खेर फालेनन् । पाकिस्तानका लागि ६६ बलमा एक छक्का र दुई चौकासहित ३९ रन हान्नु उनका लागि ठूलै व्यक्तिगत सफलता हो । चौंथोनम्बरमा आएका ज्ञानेन्द्र मल्लले पनि निराश पारेनन् । उनले ५१ बल खेलेर ४१ रन हाने । कप्तान पारस खड्का भने ब्याटिङमा चल्न सकेनन् ।

जित्ने होइन, टिक्ने रणनीति

त्यसो त नेपाली ब्याट्सम्यानहरु मैदानमा ओर्लदा जितभन्दा पनि ५० ओभर टिक्ने रणनीति लिएको प्रष्ट देखिन्थ्यो । पाकिस्तानविरुद्ध ३२७ रनको लक्ष्य नेपालको क्षमताभन्दा टाढा थियो । त्यसले विश्वस्तरीय बलरहरुसित ५० ओभरसम्म टिकेर खेल्नु अनुभवका दृष्टिले पनि नेपाललाई निकै फाइदाजनक मानिएको छ ।

स्वादिलो भिडन्त ओझेलमा

नेपाली क्रिकेट प्रेमीहरुका लागि यो अहिलेसम्मकै स्वादिलो भिडन्त थियो, तर टेलिभिजनमा प्रत्यक्ष प्रशारण नहुँदा उनीहरुले यसको मज्जा उठाउन सकेनन् ।

मैत्रीपूर्ण म्याच भए पनि पाकिस्तानको पहिलो छनोटको टोलीविरुद्ध खेल्न पाउनु नेपाली क्रिकेटका लागि निकै ठूलो कुरा हो । देशभित्रको असहज माहोलले पनि यो म्याच ओझेलमा पार्‍यो । नेपाली क्रिकेटरहरुले भविष्यमा फेरि यस्ता शक्तिशाली टिमहरु विरुद्ध आफ्नो टोलीले भिडेको हेर्न चाहेका छन् ।

पाकिस्तानको सदासयता

पाकिस्तानले नेपालविरुद्ध आफ्नो सर्वोत्कृष्ट टोली उतारेर सदासयता देखाएको छ । विगतमा नेपालको राष्ट्रिय टोलीलाई पाकिस्तानमा क्रिकेट खेल्न बारम्बर निमन्त्रण आए पनि नेपाली खेलाडीहरु जान मानेका थिएनन् । असुरक्षाको कारण देखाएर पाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगीता हुन छाडेको लामै समय भइसकेको छ ।

पाकिस्तानले यूएईलाई आफ्नो घरेलु मैदानका रुपमा प्रयोग गर्दै आएको छ । भविष्यमा नेपालले आफ्नो टोली पाकिस्तान पठाउन सकेको खण्डमा दुवै मुलकलाई फाइदा हुने देखिन्छ । नेपाली खेलाडीहरुले अनुभव बटुल्ने छन् भने पाकिस्तानले आफ्नो देशमा अन्तर्राष्ट्रिय क्रिकेट पुनजागृत भइरहेको सन्देश अन्तर्राष्ट्रिय जगतलाई दिन सफल हुने छ । पछिल्लो समय जिम्वावेको राष्ट्रिय टोलीले पाकिस्तान आएर क्रिकेट श्रृंखला खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment