Comments Add Comment

अमेरिकामा तीन चिजको डर : पत्नी, कानून र जागिर !

Statue-of-Liberty_USA

विजय थापा, वाशिंगटन डीसी 

हाकिमले गाउँका युवालाई सोधेछन्, जागिर खान्छौ ? भर्खर ढिँडो खाएको हजुर, खान्न ।जागिरको अर्थबारे ज्ञान नभएका कारण युवकले यसरी जवाफ लगाए । चुटकिला हो या सत्य, यसतर्फ नजादा नै उत्तम ।

नेपालमा मानिसहरू कोही र कसैसंग डराउदैनन् । न कानुनसंग, न जागिरसंग । नेपालमा मानिस डराउने भनेको पत्नीसंग मात्रै हो । सर्बोच्च अदालतले आदेश दिँदा पनि मानिस टेर्दैनन् । कानुनलाई टेरपुच्छर नलगाउनेले जागिर जाला भनी कल्पना पनि गर्दैनन् । राजनीतिक पहुँचका कारण नोकरी बच्छ । पहुँचवालाले जागिर बचाउने गर्छन् । काममा जतिसुकै थर्कमान गर्ने क्षमता भए पनि घरमा पत्नीसंग चुइँक्क पर्ने लाखौ वीर नेपाली छन् ।

bijaya-thapaतर, अमेरिकामा मानिस तीन कुरामा डराउने गर्छन् । पहिलो कानुन । दोश्रो जागिर र तेश्रो पत्नी । केही नबिराए वा गैरकानुनी काम नगरे अमेरिकामा कानुनसंग  कोही डराउदैनन् । त्यतिकै कानुनले केही गर्दैन । दोश्रो, सबै भन्दा खतरा जागिर हो । कतिखेर के हुन्छ, थाहा नै नहुने जिनिस जागिर हो । कालभन्दा पनि डरलाग्दो । आयो टप्प  टिप्यो भने झैँ एकै क्षणमा जागिर स्वाहा हुन्छ ।

अमेरिकामा जागिर जहिले पनि धारिलो खुकुरीको धारमा अडेको हुन्छ । जागिर लाग्ने खुकुरीको टुप्पोमा बसेको हुन्छ  । अलिकति भयो कि काटिहाल्ने खुकुरीजस्तै ।

तेश्रो, अमेरिकामा मानिसहरू पत्नीसंग पनि डराउने गर्छन् । पत्नीले कतिखेर सम्बन्ध बिच्छेदको दरखास्त हाल्ने हो भनी त्राहीमाम भै रहने हुन्छ ।

सुनको अन्डा दिने भनेको नै धर्मपत्नी हुन्छिन् । किनभने लोग्नेभन्दा स्वास्नीको कमाइ ज्यादा हुन्छ । यसरी अमेरिकामा मानिस तीन चिजसंग जीवनभर चिन्तित हुनुपर्ने देखिन्छ ।

एउटी गए अर्की ल्याउन सकिने ठान्ने हुनाले त्यसमा पनि त्यति ठूलो चिन्ता लिँदैनन् । तर,यी दुईमध्ये भयङ्कर र औंसीको रात ल्याउने भनेको नै जागिरबाट हात धुनु परेको दिनलाई मानिन्छ ।

अमेरिकामा जागिर आँधी जस्तो गरेर आउँछ । भूँवरीभन्दा कम हुँदैन । जागिर जाने भनी पूर्वसूचना पनि आउँदैन । मैले के भुल गरें भनी सोध्न पनि नपाइने हुन्छ । अमेरिकामा बिहान हाँसेर हिँडेको मानिस साँझपख निराश भएर घर फर्कने अवस्थामा पुर्याउने चिजको नाम हो जागिर । अमेरिकामा ओठमा मुस्कान ल्याउने संज्ञा नै जागिर हो भने एकै क्षणमा लोप्रे ओठ बनाउन बाध्य गराउने चिजको अर्को नाम पनि हो जागिर ।

अमेरिकामा मानिस तीन कुरामा डराउने गर्छन् । पहिलो कानुन, दोश्रो जागिर र तेश्रो पत्नी 

अमेरिकामा जागिर जीवनभर रहन्छ भन्ने भरोसा कहिले गरिँदैन । र, जिन्दगीभर जागिर रहला भन्ने पनि आम मानिसले सोच्ने गर्दैनन् । जागिर जाँदा पनि कम्तिमा ६ महिनासम्म घर धान्ने नगद रकम आफुसंग सञ्चित हुनुपर्ने हुन्छ । अमेरिकामा परिवारले यसरी जीवन चलाइरहेका हुन्छन् । जागिरको आशा गर्नु तर भर नपर्नु भने झैँ जागिरको पूरै भर पर्दा दुख पाइन्छ भनी संचित गर्ने चलन हुन्छ ।

अचानक व्यवस्थापनले के निर्णय गर्ने भन्ने नै हुँदैन । जागिरमा बिहानीपख हाँसी खुसी बितायो, साँझपख रुन्चे अनुहार लिँदै घर पुग्न बाध्य बनाउने चिजको नाम नै हो जागिर । धोकाको अर्को नाम हो जागिर ।

अमेरिकाको परिवेशमा परिवारका सदस्य बेसी भएका हुनाले परिवारमा तीन परिवारले कम्तिमा कमाउने र एकजनाको जागिर गए पनि दुई जनाले घर चलाउने परिपाटी हुन्छ । अमेरिकाको जागिरे जीवनमा घरका तीनजना सदस्यमध्ये एक जनाको जागिर खतरामा हुन्छ । र, कुनै पनि बेला एक सदस्यको जागिर गयो भन्दा अनौठो मानिँदैन ।

मारेर काम सक्यो, छुट्टि हुने बेलामा माफ गर, भोलिदेखि नआउनु है भनी दुई चार मीठो शब्द भन्दै बिदाबारी दिइन्छ । भर्खर गाडी किन्यो, भोलिदेखि जागिर चट् । बर्षौ लगाएर घर बल्ल बल्ल किन्यो, काम सकेर बिदा हुने बेलामा तिमीलाई भोलिदेखि यहाँ काम छैन भनी सूचना दिइन्छ । कुनै पनि बेला जागिरबाट हात धुनुपर्ने अवस्था हुन्छ । जागिर जानासाथ थाप्लोको ऋण जस्ताको तस्तै । ऋण घट्ने सम्भावना नै हुँदैन ।

अमेरिकामा नेपालजस्तो मागेर काम चलाउँला भन्ने हुँदैन । अमेरिकामा मामा, काका, ससुरा तथा भान्जा आदि इत्यादिले काम गर्दैनन् । आफ्नै आमा र बाबाले पनि सापट दिँदैनन् ।

झन् सात्तो गएर तिर्नुपर्ने बिजक आएको आयैको गर्छ । यो गर्छु र उ गर्छु भन्यो, पर्सिदेखि जागिर हिँड्यो । अमेरिकामा नेपालजस्तो मागेर काम चलाउँला भन्ने हुँदैन । अमेरिकामा मामा, काका, ससुरा तथा भान्जा आदि इत्यादिले काम गर्दैन । आफ्नै आमा र बाबाले पनि सापट दिँदैनन् । जागिर गए नातागोता बेपत्ता हुन्छन् ।  सुको झार्दैनन् ।  जागिरले आर्थिक आम्दानी न्युनतम भएको परिवारको बिल्लीबाठ लगाउने पनि गरेको हुन्छ ।

अमेरिकामा जागिर पाउन पनि सरल र जागिर चट हुन कति पनि समय लाग्दैन । जागिरको सुनिश्चिता हुँदैन । लामो समयसम्म दीर्घकालीन भन्ने हुँदैन । आर्थिक मन्दीको साथै अन्तरराष्ट्रिय स्तरमा आउने औंसीपूर्णे जस्तो आर्थिक कारोबार मन्दीको कारण आर्थिक भुइँचालो आउने हुनाले जागिरमा प्रतक्ष्य या अप्रतक्ष्य प्रभाव बनाई हुँदा छँदाको जागिरबाट हात धुनुपर्ने अवस्थामा पुगिन्छ ।

अमेरिकाजस्तो मुलुकमा जागिरको प्रत्याभूति कहिले हुँदैन । एकै ठाउँमा जागिर खाई अवकाश लिउँला भने सोचाइले मेल खाँदैन । उमेरसम्म जागिर खाई निबृतिभरण प्राप्त गरुँला भन्ने सपना पनि चंगा चैट भएझैँ जागिर खुस्कने हुनाले बडो संबेदनशील हुनुपर्ने अवस्थामा जीवनको पांग्रा चलाउनुपर्ने हुन्छ अमेरिकामा । जागिर हाम्रो बपौति हुँदैन । एक पुस्ताबाट अर्को पुस्तामा स्थान्तरण हुँदैन ।

जागिरप्रति निर्धक्क हुनु, ज्यादा आत्मबिश्वास हुनु, ढुक्क हुनु, कानमा तेल हाल्नु, जागिरको बिकल्प नखोज्ने, काम गर्ने ठाउँमा के भैरहेको छ भन्ने कुरा कान ठाडो नपारेर जागिरको खोजमा भौतारिनु, यता र उति चहार्नुबाहेक कुनै बिकल्प नहुने हुन्छ । जागिर कसरी बचाउने, यसको लागि अग्रिमरुपमा पूर्वतयारी हुनुपर्ने हुन्छ । बेलामा बुद्धि नपुर्याए आफू र परिवारले दु:ख पाइने हुन्छ । किनभने, अमेरिकामा जहिले पनि जागिर भनेको खुकुरीको धारमा अडेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment