१ चैत, काठमाडौं । अहिले देशभर करिव ३५ लाख मोटरसाइकल गुड्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र ११ हजार १०१ मोटरसाइकल/स्कुटर दुर्घटना भए । यसमा ३ हजार १ सय ८६ जना घाइते भएका छन् भने १५७ जनाको मृत्यु भएको छ ।
अधिकांश मृत्युको कारण टाउकोमा लाग्ने चोट भएको महाशाखाका एसएसपी बसन्त पन्त बताउँछन् । प्रायः दुर्घटनास्थल पुग्दा मृतकको टाउको फुटेको देखिन्छ ।किनभने दुर्घटना भएर लड्दा अधिकांश चालकको टाउकोबाट हेल्मेट फुत्किसकेको हुन्छ । उसोभए हेल्मेटले टाउकाको सुरक्षा गर्दैन त ? स्वभाविक रुपमा प्रश्न उठ्छ ।
नेपालको सडकमा सबैभन्दा बढी चाप मोटरसाइकलकै छ । दैनिक ६ सयको संख्यामा मोटरसाइकल थपिने नाडा अटोमोवाइल एसोसिएसन बताउँछ । नेपाली बजारमा वार्षिक चार लाख हेल्मेट बिक्री हुँदै आएको छ । तर, हेल्मेटको गुणस्तर कस्तो हुनुपर्ने ? सरकारले अहिलेसम्म कुनै मापदण्ड बनाएको छैन ।
हालै नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको ‘नेपाल स्ट्यान्डर्ड’ तयार पारेको छ । विभागका निर्देशक मणिराम भुषाल भन्छन्, ‘हेल्मेटको जुनबेला काम आउनुपर्ने हो, त्यही बेला नै फुस्कने गरेको पाइन्छ । सहजै फुट्ने वा फुस्किने हेल्मेट गुणस्तरहीन हो । यदि हामीले तयार पारेको ‘नेपाल स्ट्यान्डर्ड’ लागू भएमा दुर्घटनाबाट हुने ८० प्रतिशत मृत्यु कम हुन सक्छ ।’
नेपाल स्ट्यान्डर्डलाई उद्योग मन्त्रालय अन्तरगतको नेपाल गुणस्तर परिषदले मंसिरमा मान्यता दिइसकेको छ । परिषदको अध्यक्ष उद्योग मन्त्री नै हुन् । तर, यो मापदण्डलाई अनिवार्य रुपमा लागू गर्नका लागि मन्त्रिपरिषदमा पेस भई कानुन निर्माण हुनुपर्छ । त्यो भने अहिलेसम्म भएको छैन ।
कस्तो हुने आकार ?
नेपाली मोटरसाइकल चालकले हेल्मेटको आकारमा त्यति ध्यान दिएको पाइँदैन । जसले जोसुकैको हेल्मेट प्रयोग गर्ने प्रचलन छ । यदि सुरक्षामा ध्यान पुर्याउने हो भने टाउको अनुसारको हेल्मेट प्रयोग गर्नुपर्ने भुषाल बताउँछन् । तोकिएको आकारमा हेलमेट निर्माण गर्नुपर्ने हुन्छ ।
५००, ५१०, ५२० देखि ६४० एमएमसम्म १५ आकारको हेल्मेट निर्माण गर्नुपर्ने नेपाल स्ट्यान्डर्डमा तोकिएको छ । र, एक हजार पाँच सय ग्रामभन्दा बढी तौलको हेल्मेट निर्माण गर्न पाइँदैन । भुषाल भन्छन्, ‘कममा जति तौलसम्म भए पनि हुन्छ । तर, हेल्मेटको सम्पूर्ण मापदण्ड भने पूरा भएको हुनुपर्छ ।’
हेल्मेटको बनावट
हेल्मेटको बाहिरी भाग नन-मेटालिक सामग्रीले निर्माण गर्नुपर्छ । कुनै ठाउँमा ठोक्किएपछि ‘इम्प्याक्ट इनर्जी’ हेल्मेटको बाहिर भागले सोस्न सक्ने हुनुपर्छ । यसो भएमा दुर्घटना हुँदा पनि टाउकोमा क्षति कम पुग्छ ।
हेल्मेट उत्पादन गरी बजारमा पठाउनुपूर्व ल्यावमा परीक्षण हुनुपर्छ । त्यसको लागि हेल्मेटमा निश्चित दुरीबाट ठूलो लोडले हिर्काई परीक्षण गरिन्छ । हेल्मेटलाई कुनै तिखो चिजले कोपेर टाउकोमा असर पर्दैन । त्यसको लागि ल्याबमै लामो दुरीबाट तिखो चिजले हानेर परीक्षण गरिने भुषाल बताउँछन् ।
त्यति मात्र नभएर हेल्मेट निश्चित लोड थेग्न सक्ने पनि हुनुपर्छ । त्यसको लागि ल्याबमै लोडले थिचिन्छ, त्यसपश्चात उक्त हेल्मेट पहिलेकै अवस्थामा आउनुपर्ने हुन्छ ।
हेल्मेटमा राखिने भेल्टिलेसन र देख्न सक्ने क्षमताको पनि मापदण्ड भएको भुषाल बताउँछन् । तेर्सोरुपमा १०५ डिग्रीसम्मको दृष्य हेल्मेट प्रयोगकर्ताले देख्न सक्ने गरी निर्माण भएको हुनुपर्छ । त्यस्तै, ७ डिग्रीमा माथि र ४५ डिग्रीमा तल हेर्न सकिने खालको बनावट हुनुपर्छ । यस्तो बनावटले सम्भावित दुर्घटनालाई कम गर्नका लागि मद्दत पुग्ने भुषाल बताउँछन् ।
त्यस्तै, हेल्मेट लगाएको मानिसले कति चर्कोेसम्म आवाज सुन्न सक्ने ? यसको पनि आफ्नै मापदण्ड छ । १० डेसिबलभन्दा कम आवाज मात्र सुन्ने खालको हेल्मेट निर्माण गर्न पाइँदैन ।
हेल्मेटको भाइजरको पनि आफ्नै मापदण्ड छ । यसले अनुहार, आँखा, नाकलगायतको सुरक्षा गर्ने काम गर्छ । भाइजर पनि निश्चित लोड थाम्न सक्ने गरी निर्माण भएको हुनुपर्ने भुषाल बताउँछन् ।
हेलमेटमा फित्ता हुन्छ । यसले हेल्मेटलाई टाउकोबाट हत्तपत्त फुस्कन दिँदैन । यस्तो फित्ता २० एमएमभन्दा कम फराकिलो बनाउन पाइँदैन । ताकि दुर्घटना हुँदा पनि त्यो नचुडियोस् । र, त्यही फित्तामा चेन स्ट्रयाम्प हुन्छ । जसले च्यापुको सुरक्षा गर्छ । उक्त स्ट्रयाम्प सार्ने उद्देश्यले राखिनुपर्छ । नन मेटल स्ट्रयाम्पले -१५० एन प्लस माइनस फाइभ) सम्मको लोड धान्नुपर्ने हुन्छ ।
जो लेखिनै पर्छ
तयार भएर बजारमा आइसकेको हेल्मेटमा चारवटा कुरा अनिवार्य रुपमा लेखिनुपर्ने नेपाल स्ट्यान्डर्डमा उल्लेख छ । उत्पादकको नाम वा ट्रेड मार्क, आकार, उत्पादन भएको वर्ष र हेल्मेटको तौल अनिवार्य रुपमा लेखिनुपर्ने भुषाल बताउँछन् ।
तर, नेपालमा हेल्मेट कम्पनी कति छन् भन्ने तथ्यांक पाइँदैन । कोहिनुर हेल्मेट कम्पनीले ठूलो संख्यामा हेल्मेट उत्पादन गर्दै आइरहेको छ । यद्यपि नेपालमा अधिकांश भारतबाट आयात हुने हेल्मेट प्रयोग गरिन्छ । यसका साथै थाइल्याण्ड, चीन, अमेरिका, जापान कोरिया अस्ट्रेलिया लगायतका देशमा निर्माण भएका हेल्मेट आयात हुँदै आएको छ । तर, सबै हेल्मेट गुणस्तरीय हुन्छ भन्ने छैन ।
नक्कली लोगो भएको हेल्मेट नेपाली बजारमा प्रसस्तै पाइन्छन् । त्यसैले हेल्मेट खरिद गर्दा त्यहाँ चार कुरा -उत्पादकको नाम वा ट्रेड मार्क, आकार, उत्पादन भएको वर्ष र हेल्मेटको तौल) उल्लेख छ-छैन भन्ने कुरामा ध्यान दिनुपर्ने भुषाल बताउँछन् ।
किन गुणस्तरीय हेलमेट ?
मापदण्ड पूरा गरेको हेल्मेट प्रयोगले टाउकोलाई सामान्य चोट लाग्नबाट ५१ प्रतिशत जोगाउँछ ।
६९ प्रतिशत गम्भीर घाइते र ३३ प्रतिशत अनुहार घाइते हुनबाट बचाउन सकिने अनुसन्धानले देखाएको छ । गुणस्तरीय हेल्मेटले दुर्घटना घटाउन नसकिए पनि दुर्घटनाबाट हुने मृत्युलाई भने अत्याधिक रुपमा कम गर्न सकिने भुषाल बताउँछन् । गुणस्तरीय हेल्मेट प्रयोग गरेको अवस्थामा जति ठूलो दुर्घटनामा परे पनि टाउकोकै चोटका कारण मानिसको मृत्यु हुने सम्भावना निकै कम हुन्छ ।
कसरी बन्यो नेपाल स्ट्यान्डर्ड
मणिराम भुषाल अमेरिकामा मेकानिकलमा स्नातकोत्तर सकेर नेपाल फर्किएका हुन् । उनकै अगुवाइमा हेल्मेटको नेपाल स्ट्यान्डर्ड निर्माण गर्ने कार्य शुरु भएको हो ।
नापतौल विभागका महानिर्देशक, ट्राफिक प्रहरी, हेल्मेट उत्पादक कम्पनी, पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्रोफेसर, रोड सेफ्टीमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका करिव २८ जनाको टिमले यो स्ट्यान्डर्ड बनाउन शुरु गर्यो ।
वैशाखबाट प्राविधिक अध्ययन सुरु गरेर छ महिनामा नेपाल स्ट्यान्डर्डको काम सकाएको भुषालले जानकारी दिए ।
यो आईएसओ मेथडबाट तयार पारिएको छ । विश्वभरीका मापदण्डको रिफरेन्समा यो तयार पारेको उनको भनाइ छ । ‘हामीले प्राय भारतीय मापदण्डसँग मिल्ने गरी तयार पारेका छौं ताकि भोलि नेपालबाट भारत पनि निर्यात गर्न सकियोस्,’ भुषालले भने । यो मापदण्ड अहिले ऐच्छिक अवस्थामा छ ।
तर, मन्त्रिपरिषदले निर्णय गरी कानून बनाएको अवस्थामा अनिवार्य रुपमा नेपाल गुणस्तर चिह्न (एनएस छाप) भएको हेल्मेट मात्र नेपाली उत्पादकले बजारमा पठाउन पाउनेछन् । उक्त छाप लिनका लागि तोकिएको मापदण्डअनुसारको परीक्षण पूरा गर्नुपर्ने हुन्छ ।
छैन ल्याब
विश्वका अधिकांश देशमा ल्याब टेस्टपछि मात्र हेल्मेट उत्पादनको लागि अनुमति दिइन्छ । यदि हेल्मेटमा भएको समस्याकै कारण मानिसको मृत्यु भएमा उक्त हेल्मेटलाई परीक्षण गरिन्छ । हेल्मेटको कमजोरी भएमा कम्पनी नै खारेज हुन पनि सक्छ ।
नेपाली बजारमा पाँच सय रुपैयाँदेखिकै हेल्मेट उपलब्ध छन् । तर, कम मूल्यका हेल्मेट प्राय गुणस्तरीय छन् ? परीक्षण गर्ने नेपालमा अहिलेसम्म ल्याब बनेको छैन । आर्थिक वर्ष २०७६/७७ मा ल्याबको लागि बजेट छुट्याउने तयारी भएको नापतौल विभाग बताउँछ ।
करिब साढे दुई करोड रुपैयाँमा ल्याब निर्माण हुने भुषालको भनाइ छ । उनकाअनुसार दुई करोड रुपैयाँ सामग्री खरिदको लागि लाग्छ भने ५० लाख भवन निर्माणमा । ‘अहिले भएका भवन ल्याबको लागि काम आउँदैन । किनभने १०-१२ मिटर माथिबाट सामग्री खसाएर परीक्षण गर्नुपर्ने हुन्छ । त्यसको लागि त्यही प्रकारका भवन डिजाइन गर्नुपर्छ’, डाइरेक्टर भुषाल भन्छन् ।
दुई वटा हेल्मेटको प्रसंग ?
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री बनेका डा. उपेन्द्र देवकोटाले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । तर, त्यसले नियमितता पाउन सकेन । केही वर्ष पहिला पनि ट्राफिक प्रहरीले मोटरसाइकलमा सवार दुवै जनाले हेल्मेट लगाउनुपर्ने बताएको थियो, यसले पनि निरन्तरता पाउन सकेन ।
एसएसपी पन्त भन्छन्, ‘ट्राफिकले यो नियम लागु गर्नुपर्ने भनेपछि, व्यापकरुपमा जनगुनासो आउन थाल्यो । त्यसैले यसलाई पूर्णरुपमा पालन गराउन नसक्ने अवस्थामा पुग्यौं ।’
मोटरसाइकलको पछाडि बस्ने मानिस दुर्घटना हुनासाथ हुत्तिने भएकाले उच्च जोखिममा हुन्छ । हेलमेटको मापदण्डको कानुन आएपछि डबल हेल्मेट लगाउनुपर्ने नियमलाई पनि अनिवार्य रुपमा लागू गराउने एसएसपी पन्त बताउँछन् ।
प्रतिक्रिया 4