Comments Add Comment

काठमाडौंका आफ्नै नेतालाई सप्तरीका शिक्षकको प्रश्नै प्रश्न !

Students Strike (4)

एस.के. शान

१४ मंसिर, सप्तरी । जिल्लाका ११ शैक्षिक संगठनहरुले आफ्नै छाता संगठनप्रति प्रश्नै प्रश्न तेस्र्याएका छन् । नेपाल शिक्षक महासंघसहित ११ वटा संगठनका जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाडौंमा रहेका आफ्नै केन्द्रीय नेताप्रति आक्रोश पोखेका हुन् ।

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव भएपछि विद्यालय सञ्चालन गर्न अप्ठ्यारो हुँदा छाता संगठनहरुले बालबालिकाको प्रयोग गरेर मानव साङ्लो बनाएकोमा जिल्लाका शिक्षकहरुले आपत्ति जनाएका छन् । यत्रो दिनदेखि तराई/मधेसका विद्यालयहरु सञ्चालनमा नआउनुप्रति कुनै किसिमको ध्यान नदिइनु दुःखको कुरा भएको उनीहरुले गुनासो पोखेका छन् ।

सप्तरीबाट यसरी विज्ञप्ति जारी गर्नेहरुमा नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डल, नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीका अध्यक्ष योगेन्द्रप्रसाद साह, नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष परशुराम यादव, नेपाल राष्ट्रिय शिक्षक परिषद सप्तरीका अध्यक्ष देबुप्रसाद यादव छन् ।

त्यस्तै नेपाल शिक्षक मञ्च सप्तरीका अध्यक्ष सुकदेव यादव, एकीकृत अखिल नेपाल शिक्षक संगठन सप्तरीका अध्यक्ष रामेन्द्रनाथ यादव, मधेशी शिक्षक फोरम नेपाल सप्तरीका अध्यक्ष श्यामप्रसाद यादव, अखिल नेपाल शिक्षक संगठन, सप्तरीका अध्यक्ष किशोरकुमार साह, प्याब्सन सप्तरीका अध्यक्ष पंचदेव यादव, नेशनल प्याव्सन (एन-प्याव्सन) सप्तरीका अध्यक्ष बौकु साह र नेपाल प्याव्सन सप्तरीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै आफ्ना छाता संगठनका पदाधिकारीहरुसँग प्रश्नै प्रश्न तेस्र्ययाएका हुन् ।

हामीले विद्यार्थीलाई उतारेनौं, तपाईंहरु किन ?

‘बालअधिकार र संरक्षणको माग गर्नु जायज कुरा भएको र यसमा दुईमत हुनै नसक्ने बताउँदै यसकै आडमा राजनीति गर्नु वा राजनीतिमा फस्नु काठमाडौंस्थित छाता संगठनका केन्द्रीय पदाधिकारी एवं शिक्षकहरुका लागि अशोभनीय पक्ष हो र हामी यस कुकृत्यको भत्र्सना गर्दछौं’ सप्तरीका शिक्षकहरुका तर्फबाट निकालिएको विज्ञप्तिमा भनिएको छ । आन्दोलनको यत्रो दिन भइसकेको अवस्थामा पनि आफूहरुले बालबालिकालाई हालसम्म सडकमा नउतारेको दाबी गर्दै उनीहरुले बालबालिकालाई नै उतारेर समस्याको समाधान नहुनेमा जोड दिएका छन् ।

‘हामीले उतारेनौं, तपाईंहरुले उतार्नुभयो । अब भन्नुस् बालअधिकार र संरक्षणको पक्षपाती को हो ?’

जिल्लाका शिक्षक संगठनका पदाधिकारीहरुले आफूहरु राजनीति गर्ने नभई छाता संगठनका पदाधिकारीहरुले राजनीति गरिरहेको आरोप लगाएका छन् । ‘आफूहरु राजनीतिमा छैनौं’ काठमाडौंमा बसेर तपाईं छाता संगठनका केन्द्रीय पदाधिकारीहरु राजनीति गरिरहनुभएको छ, हामी गरिरहेका छैनौं ।”

तराईको विद्यालय बन्दबारे खोई ?

‘बहुसंख्यक राष्ट्रिय मिडियाको भाषामा अघोषित नाकाबन्दीभन्दा पहिला लगभग ५० दिनसम्म तराई मधेसका बालबालिका विद्यालय जान पाएनन्’ शिक्षक संगठनका पदाधिकारीहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यतिबेला र आजका दिनसम्म पनि किन यी छाता संगठनहरु र शिक्षकहरुले किन एक शब्द पनि बोलेका छैनन् ?’

‘तराई/मधेश आन्दोलनको एक सय ६ दिनभन्दा बढी एवम् काठमाडौंको संकट पनि ५६ दिनभन्दा बढी बितिसक्दा समेत यसै विषयहरुमा केन्द्रिय, क्षेत्रिय स्तरमा सघन अन्तरक्रियाहरु गर्नुपर्ने थियो कि थिएन ?’ विज्ञप्तिमा सुझावरुपी आरोप लगाइएको छ ।

‘शिक्षकहरु राजनीति गर्दैनन् तर राजनीतिलाई दिशावोध गराएको, राजनैतिक अवधारणा सांगठनिक स्तरमा प्रकट गरेकै छन् । तर, बालबालिकाको प्रयोग गरेर होइन’ विज्ञप्तिमा भनिएको छ, “नैतिक बल छ भने तपाईको सुरक्षाको जिम्मा लिन्छौं र हामीले आयोजना गरेको स्थानमा तपाईहरु आउनुस् वा तपाईहरु सुरक्षाको जिम्मा लिनुस् । हामी तपाईले आयोजना गरेको स्थानमा आउन र बहस गर्न तयार छौं । सुरक्षा शब्दको प्रयोग गर्नुपर्ने कारण तपाईहरुको विचलन र मतिभ्रमको परिवेशले ल्याएको बाध्यता हो ।”

हामी पैदल हिँडेका छौं, तपाईंहरु किन सक्नुभएन ?

विज्ञप्तिमा भनिएको छ- ‘टेलिभिजन अन्तर्वार्तामा केही विद्यार्थीले पैदल विद्यालय जानुपरेको गुनासो गरेका पाइएको छ, तराई/मधेस र पहाडका ९५ प्रतिशत बालबालिका पैदलै विद्यालय जान बाध्य छन् । के पैदल हिँडनु पाप हो ? पैदल हिँडेर पनि विद्यालय जाऔं, आत्मनिर्भर बनौं भनी हामीले किन सिकाइरहेका छैनाैं ?’

सप्तरी जिल्लाका आन्दोलनकारीहरुसँग लगभग ४५ दिनसम्ममा लगातार सातपटक वार्ता गरेर विद्यालय सञ्चालनमा अवरोध नगर्न सहमत गराएको जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ, ‘यसमा तपाईहरुको कुनै भुमिका प्रत्यक्ष अप्रत्यक्ष देखिएन । यद्यपि यहाँका संगठनहरु पनि तपाईहरुकै विस्तारित रुप हो कि होइनन् ?

‘सयौं थुँगा फूलका बनाऔं’

नेपालमा देखिएको वर्तमान संकट स्पष्टतः देशभित्र विद्यमान रहेको निषेधको राजनीति भएको जिल्लाका शिक्षकहरुले बताएका छन् । ‘प्रत्यक्ष रुपमा बच्चाहरुबाट प्रदर्शन गराएर राजनीति र कुटनीतिमा प्रवेश गराएको छ’ विज्ञप्तिमा भनिएको छ, “अब कुन मुखले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने र विद्यालयमा राजनीति प्रवेश नगराउन भन्ने माग गर्ने ? गुरुहरुलाई प्रश्न रहेको छ ।”
बालअधिकार र अधिकारहरुको क्षेत्रमा काम गर्ने संघ संस्था, राष्ट्रिय मिडिया, सरकार, आन्दोलनरत पक्षहरु र अन्य आ-आफ्नो चस्मा फराकिलो बनाउन विज्ञप्तिमा आग्रह गरिएको छ ।

काठमाण्डौं र एउटा खास वर्ग मात्र क्रमशः नेपाल र नेपाली होइनन्’ विज्ञप्तिमा भनिएको छ, “‘वर्गीय घेराभन्दा बाहिर आऔं र नेपाललाई समग्रमा हेरौं । अनि मात्र हुन्छ सयौं थुँगा फूलका हामी एउटै माला नेपाली ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment