Comments Add Comment

सुजाताले भनिन्- जनतामा कांग्रेस ‘ड्यामेज’ भइरहेको छ

sujata-koirala२६ मंसिर, काठमाडौं । केही जिल्लाहरुको भ्रमण गरेर राजधानी फर्किएकी कांग्रेस नेतृ सुजाता कोइरालाले केही नेताहरुले पार्टीलाई उल्टो बाटो हिँडाएर जनतामा बदनाम गराइरहेको आरोप लगाएकी छन् ।

भूकम्पबाट ध्वस्त संरचनाहरुको पुननिर्माणसम्बन्धी विधेयक अघि बढ्न नदिनु पार्टीको ठूलो भूल भएको भन्दै नेतृ कोइरालाले यसबाट कांग्रेस बदनाम भएको बताइन् ।

अनलाइनखबरसँग कुरा गर्दै कोइरालाले भनिन्- ‘यो के भइरहेको हो मैले बुझ्न सकेकी छैन, बाहिर जनताबीच कांग्रेस ड्यामेज भइरहेको छ । भूकम्पपीडित जनतामाथि कांग्रेसले अपराध गरेको आरोप आइरहेको छ ।’

आफू दुई दिनसम्म संसद बैठकमा गए पनि कांग्रेसले किन प्राधिकरण विधेयक पेश हुन दिएन भन्ने बुझ्न नसकेको कोइरालाको भनाइ छ । ‘हाम्रो नेतृत्व पूरै असफल भएको छ, कसले निर्णय गर्ने, कसले निर्देशन दिने भन्ने थाहै हुन छाडेको छ’ कोइरालाले भनिन् ।

भूकम्पपीडितहरु खुला आकासमुनि बाँच्न बाध्य भइरहेका बेला प्राधिकरण सम्बन्धी ऐन पारित नगर्नु उनीहरुको पीडामाथि नूनचूक छर्ने काम भएको कोइरालाले बताइन् ।

कांग्रेसले संविधान संशोधन विधेयकसमेत सँगै पेश हुनुपर्ने भनेर लिएको अडानको पनि कोइरालाले बिरोध गरिन् । सीमांकनमा कुरा नमिलेसम्म अहिले संविधान संशोधन गर्न आवश्यक नरहेको उनले प्रष्ट पारिन् ।

‘संविधान संशोधन किन गर्ने ? समावेशी समानुपातिक यो संविधानमै छ,जनसंख्याका आधारमा निर्वाचन क्षेत्र भनिएकै छ, मधेशी मोर्चाको माग सीमांकनमा हो, यसको कुरा नमिली संशोधन विधेयक किन चाहियो ?’ कोइरालाले प्रश्न गरिन् ।

आफू एक सातासम्म मध्य र सुदूरश्चिमको भ्रमण गर्न जाँदा कार्यकर्तामा कांग्रेस नेतृत्वप्रति घोर निराशा पाएको र पार्टी जनताबीच बदनाम भएको अनुभव गरेको कोइरालाले सुनाइन् ।

उनले भनिन्- हिजो सुशील दाइले प्रधानमन्त्रीमा उम्मेदवारी दिएर ठूलो गल्ती गर्नुभयो, आज प्राधिकरण विधेयक पेश हुन नदिएर झन् ठूलो गल्ती भइरहेको छ, यो कांग्रेसलाई सिध्याउने खेल हो ।

आगामी महाधिवेशनमा सभापतिको दाबी गरिरहेकी कोइरालाले अब कांग्रेसमा नयाँ नेतृत्व आवश्यक रहेको बताइन् । आफूलाई सभापति उठ्न कार्यकर्ताबाट दबाव आएको उनले दाबी गरिन् ।

‘साथीहरुले तन, मन र धनले सघाउँछौं, तपाई उठ्नुस भनेका छन्, म अब पूर्व र मधेसको भ्रमण गरेपछि आफ्नो धारणा सार्वजनिक गर्छु’ कोइरालाले अनलाइनखबरसँग भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment