Comments Add Comment

खुमबहादुरको गुनासोः कांग्रेसमा पैसाको चलखेल बढ्यो

Khum Bahadur Khadka

१४ माघ, काठमाडौं । दिल्लीबाट मृगौला फेरेर स्वदेश फर्केका कांग्रेस नेता खुमबहादुर खड्काले डाक्टरको सल्लाह विपरीत आफ्नो निवासमा भीडभाड बढाएका छन् ।

मास्क लगाएर कार्यकर्तासमक्ष प्रस्तुत हुने गरेका खड्का आगामी महाधिवेशनमा शेरबहादुर देउवासँग मिलेर उपसभापति वा महामन्त्रीमध्ये एउटा पद हत्याउने रणनीतिमा लागेका छन् ।

 निवासमा अन्तरवार्ता लिन आएका सञ्चारमकर्मीसँग खड्काले आउँदो महाधिवेशनमा देउवा पक्षबाट उपसभापति वा महामन्त्रीमध्ये एकमा चुनाव लड्न लागेको बताए । आफ्नो इच्छा महामन्त्रीमा रहेको तर, साथीहरुले उपसभापतिमा लड्न सुझाव दिएको खड्काले बताए ।

देउवा पक्षबाट विमलेन्द्र निधीले यसअघि नै महामन्त्रीका लागि उम्मेद्वारीको घोषणा गरिसकेका छन् ।

खड्काले अहिले नेपाली कांग्रेसभित्र त्याग र समर्पणको भन्दा पनि पैसाको चलखेल बढिरहेको अनलाइनखबरसँग गुनासो गरे । कांगेसमा आफूले जति सुशील, शेरबहादुर वा रामचन्द्र, कसैले पनि त्याग नगरेको उनले दाबी गरे ।

केही दिनअघि खड्काले निवासमा आफूनिकट नेताहरुलाई भेला गरी महाधिवेशनबारे छलफल गरेका थिए । सो भेलाले उनलाई अघि बढ्न सुझाव दिएको थियो । भेलामा सहभागी अधिकांश नेताहरु देउवा पक्षीय थिए ।

कति छ खड्काको शक्ति ?

कांग्रेसमा खुमबहादुर खड्काको शक्ति कति होला ? खड्काको नाम लिँदा कांग्रेसभित्र कोइरालापक्ष सधैं डराउने गरेको छ भने देउवा पक्षले उनकै शक्तिका आधारमा जित्ने आशा गरेको देखिन्छ ।

कांग्रेसमा खड्काको आफ्नो बेग्लै गुट छ । यो गुटका नेताहरु हिन्दु धर्म पुनस्थापर्नाको अभियानमा छन् । केही समयअघि खड्काको समूहले देशभर आन्दोलन नै गरेको थियो । अहिले यो समूह महाधिबेशनको तयारीमा जुटेको छ र यसको नेतृत्व खड्काले गरेका छन् ।

दाङका बुद्धिराम भण्डारी, सुशीला चौधरी, तनहुँका शंकर भण्डारी, स्याङ्जाका राजु भण्डारी, मकवानपुरका इन्द्र बानियाँ, गुल्मीका सुवर्ण ज्वारचन लगायतका एक दर्जन सांसदहरु खड्का निकट मानिन्छन् ।

यसैगरी केन्द्रीय सदस्यहरुमा पुष्पा भुसाल, शंकर भण्डारी र अजय चौरसिया लगायतका केन्द्रीय सदस्यहरु खड्काको पक्षमा छन् ।जिल्ला सभपातिहरुमा नवलपरासीका देवेन्द्रराज कँडेल, सिन्धुपाल्चोकका मोहन बस्नेत र गुल्मीका चन्द्र केसीलगायत खड्का निकट मानिन्छन् । खड्का निकट शंकर भण्डारी उनको समूहमा १५ बढी सांसदहरु भएको दाबी गर्छन् ।

त्यसो त खड्काले नेतृत्व गरेको हिन्दु धर्म पुनस्र्थापना अभियानमा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री लक्ष्मण घिमिरे, सियाराम यादवलगायतका नेताहरु पनि प्रत्यक्ष संलग्न भइसकेका छन् ।

संस्थापन पक्षसँग निकट मानिने पर्साका सांसद राजेन्द्र आमात्य, रौतहटका मोहम्मद अफताम आलम लगायतका नेताहरु पनि खड्का निकट भएको खड्का पक्षीय नेताहरुको दाबी छ ।

आगामी महाधिवेशनमा खड्काले कस्तो योजना बनाइरहेका छन् भन्नेबारे उनीसँग गरिएको संक्षिप्त कुराकानीः

यसपालि कुन पदमा उम्मेद्वारी दिँदै हुनुहुन्छ ?

मैले उपसभापति या महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरिरहेको छु । मेरो व्यक्तिगत चाहना भनेको महामन्त्रीमा नै हो । तर, साथीहरुले मलाई उपसभापति या महामन्त्रीमा उम्मेद्वारी दिन सल्लाह गरेका छन् । अहिले साथीहरुसँग निरन्तर सम्पर्क र भेटघाट गरिरहेको छु । केही दिनपछि औपचारिकरुपमा नै उम्मेद्वारीको घोषणा गर्दैछु ।

कांग्रेसको संशोधित विधान कस्तो बन्दैछ, त्यो पनि हेरिरहेको छु । संस्थापन पक्षले उपसभापति पद थप्दै छ, अर्को पक्षले मानेको छैन । अहिलेको विधानअनुसार उपसभापति या महामन्त्रीमा उम्मेद्वारी दिने सोचाइ बनाएको छु ।

उम्मेदवारी दिन तपाईलाई स्वास्थ्यका कारण अप्ठयारो पर्दैन ?

मैले साथीहरुसँग निरन्तर भेटघाट र कुराकानी गररहेको छु । भिडभाडमा नजान डाक्टरहरुले सल्लाह दिएका छन् । स्वास्थ्यका कारण केही समस्या त पर्छ नै । तर, खुमबहादुर खड्का को हो, यसले पार्टीमा कस्तो त्याग र संघर्ष गरेको छ, सबै साथीहरुलाई थाहा छँदैछ । मैले भनिरहनुपर्दैन ।

कांग्रेसका स्थानीय कमिटीहरुको चुनावमा पनि म काठमाडौंमा बसेर पनि जिल्लाका साथीहरुसँग निरन्तर सम्पर्क र कुराकानी गरिरहेको छु । नयाँ मान्छेलाई भए पो आफूलाई चिनाउन देशभर दौडिनुपर्छ, मलाई त सबै साथीहरुले चिन्नुभएकै छ ।

सभापतिमै दाबी नगर्नुको कारण ?

पार्टीमा त्याग र संघर्षको कुरा हराउँदै गइरहेको छ, यो दुर्भाग्यको कुरा हो । अर्को कुरा, भाग्यको पनि खेल हुँदोरहेछ । अहिले नेपाली कांग्रेसमा त्यागको मूल्याङ्कन कम हुँदै गएको छ । पैसाको चलखेल बढी हुन थालेको छ । यो गम्भीर दुखको कुरा हो ।

कुन पक्षबाट उम्मेदवारी दिनुहुन्छ, कोइराला कि देउवा ?

साथीहरुले मलाई शेरबहादुर देउवा पक्षबाट चुनाव लड्न सल्लाह दिएका छन् । त्यसैले देउवा पक्षबाटै चुनाव लड्ने बलियो सम्भावना छ । संस्थापन पक्षबाट चुनाव लड्ने निकै कम सम्भावना छ ।

सभापतिका उम्मेद्वार रामचन्द्र पौडेलसँग पनि तपाईको कुराकानी भइरहेको हो ?

म नयाँ दिल्लीबाट काठमाडौ फर्केपछि उहाँ मलाई भेट्न मेरो निवासमा आउनुभएको थियो । त्यसबेला स्वास्थ्यको स्थितिबारेमा बढी कुराकानी भयो । राजनीतिक स्थितिबारे कम कुराकानी भयो । त्यतिखेर मलाई शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत अरु नेताहरु पनि भेट्न आउनुभएको थियो ।

सुशील कोइरालासँग कुरा भएको छैन ?

कुराकानी भएको छैन ।

अहिले पनि तपाई पार्टीभित्र एउटा शक्तिकेन्द्र मानिनुहन्छ, तपाईको शक्तिको स्रोत के हो ?

देशभरका कार्यकर्ताहरुको सहयोग र समर्थन मेरो शक्ति हो । अहिले पनि देशभरका कार्यकर्ताहरुले मलाई महामन्त्री या उपसभापतिमा चुनाव लड्न सल्लाह सुझाव दिइरहेका छन् । अर्को कुरा, पार्टीभित्रै मैले गरेको त्याग र संघर्ष हो । पार्टीमा मैलेजस्तो त्याग कसैले गरेको छैन ।
एकपटक पार्टीको केन्द्रीय समितिको बैठकमै मैले चुनौती दिएको थिएँ, मैलेजस्तो त्याग पार्टीमा कसैले पनि गर्नुभएको छैन । म जन्मकैद परेको हुँ । बनारसमा पनि जेलमा बसेको हुँ । साढे आठ वर्षभन्दा बढी म जेलमा बसेको छु । यसमा भ्रष्ट्राचारको मुद्दा लागेर जेलमा बसेको समय जोडेको छैन ।

म निर्वासनमा पनि बसेको छु । मैले जस्तो त्याग सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलले पनि गरेका छैनन् ।

मैले उम्मेदवारी दिएँ भने ०४६ सालअघिका नेपाली कांग्रेसका कार्यकर्ताहरुले एकपटक सोच्ने छन् । म दाबीका साथ भन्छु, ०४६ सालअघिका नेपाली कांग्रेसका ९५ प्रतिशतभन्दा बढी कार्यकर्ताहरुले मलाई भोट दिनेछन् । तर, दुर्भाग्य, कांग्रेसमा ०४६ सालअघिका कार्यकर्ताहरु कम हुँदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment