Comments Add Comment

आधा सिलिण्डर ग्यास बेच्ने निर्णय उल्ट्याउन आपूर्ति मन्त्रालयले मानेन

Gas Line (2)

१९ माघ, काठमाडौं । सरकारले ‘आधा सिलण्डर ग्यास भरेर बेच्ने’ निर्णय उल्ट्याउने उद्योगीहरुको प्रस्ताव अस्वीकार गरेको छ ।

ग्यास उद्योगीहरुले आयात बढेको नाममा सामान्य अवस्थाको जस्तै भरी सिलिन्डर बेच्ने व्यवस्था गर्न सरकारलाई दबाव दिएका छन् । तर, मंगलबार आपूर्ति मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले तत्काल भरी सिलिन्डर भरेर बेच्ने अनुमति दिन नसकिने निश्कर्ष निकालेको आपूर्ति मन्त्रालयका सह-सचिव दीपक सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

आयल निगम र सरकारी अधिकारीले भने अहिले नै त्यसो गर्दा ग्यासको अभाव झनै चर्किने बताएका छन् । ‘नागरिकले सहज रुपमा ग्यास पाउँछन् भन्ने बस्तुनिष्ट आधार बिना निर्णय नउल्ट्याउने सहमति भएको छ’ बैठकपछि सह-सचिव दीपक भने-‘२४ गते बस्ने बैठकमा उद्योगी-व्यवसायीले भरी सिलिन्डरमा जाँदा नागरिकले सहज रुपमा ग्यास पाउने आधारहरु प्रस्तुत गरेमा पूनर्विचार गरिनेछ ।’

ग्यासको वितरण सहज बनाउन भन्दै सरकारले गत कात्तिकमा आधा सिलिण्डर (७ दशमलव १ किलो) ग्यास बेच्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय वीरगञ्ज बाहेकका नाकामा केही सहज भएसँगै केही ग्यास उद्योगले गएको ११ गतेदेखि नै स्वेच्छिक रुपमा भरी सिलिन्डर ग्यास बजार ल्याए ।

ग्यास उद्योगीहरुले आधा भरिएका सिलिन्डर बजारमा ल्याउँदा दोहोरो ढुवानी लागत परेको गुनासो गर्दै आएका छन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले पछिल्ला दिनमा ५० प्रतिशतसम्म ग्यास भित्रिन थालेकाले पूर्ण तौलको सिलिन्डर बजारमा ल्याउनुपर्ने बताए ।

ब्यवसायीको दबावपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले नेपाल आयल निगमलाई पत्र लेखेर आधा सिलिन्डरबाट पुरा तौलको सिलिन्डरमा जानुपर्नेबारे राय मागेको थियो । तर, आयल निगमले त्यसमा असहमति जनाउँदै आधा सिलिण्डर ग्यास बेच्ने निर्णयलाई निरन्तरता दिनुपर्ने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment