Comments Add Comment

पर्यटकको पर्खाइमा छ पैँयुकोट दरबार

treking
३ वैशाख, पर्वत । ऐतिहासिक महत्व बोकेको चौबिसे पैँयुराज्यको दरबार ओझेलमा परेको छ । उचित संरक्षण र प्रचारप्रसारको अभावमा यहाँको होस्राङ्दीस्थित पैँयुकोट दरबार ओझेलमा परेको हो ।

पछिल्लो समयमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास सुरु गरिएको छ । ऐतिहासिक र धार्मिक हिसाबले समेत महत्वपूर्ण मानिने पैँयुकोटमा आन्तरिक र बाह्य पर्यटकसमेत भित्र्याउने लक्ष्यसहित यसको विकास गर्न लागिएको हो ।

पाँच सय वर्ष पुरानो पैँयुकोट दरबार र कालिका मन्दिरलाई पैँयुक्षेत्रको ऐतिहासिक सामग्रीसहितको सङ्ग्रहालय बनाउने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले अभियान थालिएको हो ।

एक वर्षभित्रमा सङ्ग्रहालयका लागि भवन निर्माण कार्य थालिने पैँयुकोट संरक्षण समितिका पूर्व अध्यक्ष तथा पूर्व जिविस उपसभापति टीकाराम भुसालले जानकारी दिए ।

“ऐतिहासिक र धार्मिक तथा पर्यटकीय महत्वसमेत बोकेको क्षेत्र भएकाले यसको विकास र प्रवद्र्धनको काम थालिएको छ”, उनले भने – “यसलाई मध्य दक्षिण पर्वतको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सफल बनाउन आवश्यक छ ।”

यस क्षेत्रमा पहिले सेन राजाले बनाएको मन्दिर र अग्लो डाँडा रहेकाले धेरै आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना छ । यसलाई दृश्यावलोकन तथा घरवास क्षेत्रको रुपमा विकास गर्दै पदमार्ग बनाउन सकिने सम्भावना छ ।

शालिग्राम शिलादेखि पैँयुकोट हुँदै गोलाङको लेकसम्म पदयात्रा मार्ग बनाउन सकिने तथा यसलाई दक्षिण एसियाकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी तथा डहरे र पञ्चासे हुँदै पोखरासम्मको पदयात्रा मार्ग बनाउन सकिन्छ ।

पर्वतको पर्यटन गुरुयोजनामा समेत पञ्चासेदेखि पैँयुकोट हुँदै सेतीवेणीसम्मको पदयात्रा मार्ग प्रस्ताव गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा सडक निर्माणसँगै जोखिममा परेकाले यसलाई वैकल्पिक पदयात्रा मार्गका रुपमा विकास गर्न सकिने देखिएको छ ।

यो पदयात्रा मार्गमा पर्ने शालिग्रामको छापाको मगर बस्ती, त्रिवेणीको चिन्नेखर्कको मगरबस्ती, उरामको गेप्ताङको मगरबस्ती, होस्राङ्दीको जम्मपुरको मगरबस्ती र भोक्सिङको गुरुङबस्तीमा होमस्टे सेवा सुरु भइसकेको छ । पदयात्रामा आउने पर्यटकका लागि खान र बस्न होमस्टे सेवा सुरु गरिएको जम्पुर होमस्टेकी अध्यक्ष नैनकला रानाले बताए ।

पैँयुकोटमा १५०२ देखि छ जना सेन राजाले राज्य गरेका थिए । राजा रामसिंह सेनले राज्याभिषेक गरेपछि लाभसिंह, चामसिंह, दागम्बरसिंह, सङ्ग्रामसिंह, भूपभैरव र अकवरसिंहले राज्य गरेको पाइन्छ ।

राजा अकवरसिंह सेनलाई नेपाल एकीकरणको समयमा आक्रमण गरेपछि उनले आफ्नै बारुदखानामा आगो लगाएर आत्महत्या गरेपछि पैँयुकोट राज्य नेपालमा गाभिएको थियो । त्यसअघि मगर जातिका आले, राना, थापा र चितौरेले पालैपालो गरी राज्य सञ्चालन गर्दै आएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment