Comments Add Comment

प्रहरीलाई मध्यरातमा ब्लफ कलको सास्ती

फोन नं-१००ः केटाकेटी खेलाउनेदेखि केटी जिस्काउनेसम्म

Police-control-room७ वैशाख, काठमाडौं । तपाईले कतै आपराधिक घटना, दुर्घटना वा कुनै गलत गतिविधि देख्नुभयो भने तत्काल प्रहरीलाई डायल गर्ने नम्बर हो १०० । तर, यो नम्बरमा प्रहरीले अनेकखाले समस्या झेल्नु परेको छ ।

केही दिनअघि वौद्ध तीनचुलेस्थित पिपलबोटबाट १०० नम्बरमा फोन आयो । राति करिब ९ आएको फोनमा तीनचुलेको गुम्बा नजिकै झगडा परेको खबर थियो ।

महानगरीय प्रहरीको कन्ट्रोल रुमबाट तत्काल घटनास्थल पुग्न स्थानीय प्रहरीलाई निर्देशन गयो । ७ मिनेटमा घटनास्थल भनिएको ठाउँमा प्रहरी पुग्यो । तर, त्यहाँको अवस्था सामान्य थियो ।

घटनास्थल पुगेको प्रहरीले फोन आएको नम्बरमा फोन फर्काउँदा अफ थियो ।

त्यसैगरी अत्तरखेलबाट मान्छे लड्यो भन्दै राति ९ बजे फोन आयो । नजिकै रहेको प्रहरी घटनास्थल पुग्यो । तर, त्यहाँ कोही पनि थिएन ।

अत्तरखेलबाट आएको अर्को फोनमा सवारी दुर्घटना भएको भन्ने खबर थियो । त्यहाँ पनि फोन आएको ५ मिनेटमा प्रहरी पुग्दा सुस्त मनस्थिति भएको मान्छेले फोन गरेको भेटियो ।

गलत सूचनाका कारण प्रहरीले दुःख पाएका केही उदारणमात्रै हुन् यी घटना ।

प्रहरीको सहयोगका लागि १०० मा फोन गर्नुभयो भने उपत्यकामा हो भने महानगरीय प्रहरीको कार्यालय रानीपोखरीमा उठ्छ । अन्य जिल्लाको हकमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमले यो फोन उठाउँछ ।

आपतकालीन अवस्थामा प्रहरीको सहयोग लिन सकियोस भनेर बनाइएको नम्बर हो यो । तर, पछिल्लो समय यही नम्बरमा आउने कतिपय फोनले भने प्रहरीलाई हैरानी दिने गरेको छ ।
 
४ लाखमा ८७ हजार ब्लफ कल

महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल रुमले एक पटकमा १६ जनासम्मको फोन उठाउन सक्छ । १०० नम्बरकरो फोन उठाउन २४ सै घण्टा प्रहरी तैनाथ हुन्छन् ।

अघिल्लो १ वर्षमा मात्रै ४ लाख २३ हजार फोन महानगरीय प्रहरी कार्यालयको कन्ट्रोलरुममा आएका थिए ।

कन्ट्रोल रुममा आएका फोनमध्ये सबैभन्दा बढी २ लाख ५ हजार सोधपुछ लागि आएका थिए । त्यो भन्दा बाहेक झगडा, होहल्ला, चोरी, जुवातास लगायतका घटनाका सूचनाहरु आएको प्रहरी बताउँछन् ।

तर, कन्ट्रोल रुममा आएका धेरै फोनले प्रहरीलाई हैरानी दिएको छ ।  अघिल्लो एक वर्षमा आएका ४ लाख फोन मध्ये ८७ हजार कल ब्लफ रहेको प्रहरी स्रोतले बतायो ।

मातेर फोन गर्छन्, महिला प्रहरीलाई जिस्क्याउँछन्

प्रहरीको १०० मा फोन गर्दा पुरुष र महिला दुवै प्रहरीले फोन उठाउँछन् । केही व्यक्तिहरु यस्ता पनि हुन्छन्, जसले महिलाको स्वर सुन्नेवितिकै जिस्क्याउन थाल्छन् ।

केहीले त छाडा बोलेर गालीसमेत गर्ने गरेको  विगत केही वर्षदेखि कन्ट्रोल रुममा बसेर फोन उठाउँदै आएकी एक महिला प्रहरीको अनुभव छ ।

उनी भन्छिन्-कहिलेकाहिँ त सुन्नै नसकिने गरी गाली गर्छन् । उनीहरु रक्सीले मातेका हुन्छन् । त्यसरी फोन गर्नेहरुको नम्बर टिपेर कार्वाहीसमेत पनि हुने गरेको छ ।

कतिपयले छोराछोरीलाई खेलाउन पनि प्रहरीलाई फोन गर्ने गरेका भने । अधिकांशले रक्सीको तालमा फोन गरेर हैरानी दिने गरेको  महानगरीय प्रहरीका डीएसपी नरेशमान श्रेष्ठ बताउँछन् ।

डीएसपी श्रेष्ठ भन्छन् जस्तो सूचना आए पनि प्रहरीले रेस्पोन्स गर्नैपर्छ, तर केही फोनले भने हैरानी नै दिने गरेका छन् ।

ब्लफ कलले वास्तविक अपराध नियन्त्रणमा समस्या हुन्छः एआइजी

महानगरीय प्रहरीका एआइजी प्रतापसिंह थापा १०० मा ब्लफ कल गर्नेहरुका कारण कतिपय वास्तविक घटनामा पनि प्रहरीलाई नआउन सक्ने बताउँछन् ।

थापा भन्छन्-ब्लफ कलले फोन र प्रहरी दुवैलाई अनावश्यक व्यस्त बनाउँछ, यसले गर्दा वास्तविक पीडितहरुले प्रहरी सेवा पाउन ढीलो हुन सक्छ ।

त्यसरी ब्लफकल गर्ने कतिपयलाई बोलाएर सचेत गराउने गरिएको एआइजी थापाले बताए । १०० नम्बरको फोन नागरिकको सुरक्षा र सुविधाका लागि राखिएको भन्दै यसलाई अनावश्यक रमाइलोका लागि प्रयोग नगर्न र प्रहरीको कामलाई साथ दिन एआइजी थापाको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment