Comments Add Comment

पानामा पेपर्स प्रकरणमा अख्तियारले छानबिन थाल्यो

Panama-Paper

७ वैशाख, काठमाडौं । संसार हल्लाएको पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ  ।

नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि अख्तियारले चासो देखाएको हो । आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम जोडिएपछि नेपाल सरकारका निकाय र विदेशस्थित कूटनीतिक नियोगसँग पनि सूक्ष्म तवरले द्विपक्षीय छलफल एवम् अनुसन्धान सुरु गरिएको बताए ।

आयोगले आन्तरिक राजस्व विभाग, उद्योग विभाग, ठूला करदाता सेवा कार्यालय लगायतका निकायसँग पनि छलफल गरिरहेको र यो प्रकरणसँग जोडिएका केही विषयमा छानबिन सुरु गरेको जनाएको छ ।  ‘आयोगले पनि अध्ययन गर्न आवश्यक देखिएको छ’ आयोग प्रवक्ता पुष्करले भने, ‘यो अहिलेसम्म पूर्ण रुपमा स्पष्ट भइसकेको छैन । तर उक्त मेगा भ्रष्टाचारसँग नेपालको पनि कुनै न कुनै सम्बन्ध जोडिएको हुनसक्छ ।’

आयोगले विभिन्न मुलुकमा रहेका कूटनीतिक निकायसँग पनि आवश्यक परामर्श गरिरहेको छ । ‘नेपालका केही व्यक्तिको नाम जोडिनुले हामीलाई अध्ययन गर्नैपर्छ भन्ने देखाएको छ’ प्रवक्ता पुष्करले भने, ‘हामीले पहिलो चरणको सामान्य अध्ययन सकाएका छौं । त्यसको विवरणका आधारमा थप अध्ययन हुन्छ ।’

सबै तथ्यका आधारमा नेपालका करिब एक दर्जन अधिकारी एवम् व्यवसायी मुछिएको पाइएको र त्यसले मुलुकको प्रतिष्ठामाथि पनि आँच पुर्याएको आयोगको ठहर छ ।

विश्वका सत्तारूढ एवम् चर्चित नेता, खेलाडी, अभिनेता र व्यवसायीले कर छली गरेको उक्त पानामा पेपर्समा उल्लेख गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment