Comments Add Comment

मानसिक सन्तुलन गुमाएका विदेशीले पर्यटक-प्रहरीलाई हैरानी

Pourist-police

८ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालले दुई महिनादेखि एक मेक्सिकन महिलालाई स्याहारिरहेको छ । एरिका नाम गरेकी ती महिलालाई मानसिक सन्तुलन गुमाएको भन्दै टुरिष्ट प्रहरीले अस्पताल पुर्‍याएको थियो ।

दुई महिना बितिसक्दा पनि कोही उनको सोधखोज गर्न आएको छैन । न उनलाई स्वेदश फर्काउने पहल भएको छ न त १ रुपैयाँ उपचार खर्च अस्पतालले पाएको छ ।

करिब ७ महिनाअघि भारतबाट टुरिष्ट भिसामा नेपाल आइपुगेकी थिइन् एरिना । काठमाडौंका विभिन्न होटल तथा रेष्टुरेन्टमा जाने, तर केहि नखाई लामो समय बसिदिने र झगडा गर्ने गरेको भन्दै उनीविरुद्ध भृकुटीमण्डपस्थित पर्यटक प्रहरीमा उजुरी परेको थियो ।

पुतलीसडक, बौद्ध, हृवाइट गुम्बालगायतका ठाउँहरुमा झगडा गर्ने, खानेकुरा खाएर पैसा नतिर्ने, कतै कपडा खोलेर हिँड्ने लगायतका हर्कत गर्न थालेपछि मानसिक सन्तुलन गुमाएको ठहर पर्यटक प्रहरीले गर्‍यो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर अस्पताल पुर्‍याइएको थियो ।

एरिनालाई स्वदेश फिर्ता पठाउन नेपालस्थित मेक्सिकन कन्सुलर, भारतस्थित दुतावास लगायतलाई भनिसकेको भए पनि सबैले वेवास्ता गरिरहेको पर्यटन प्रहरीकी इन्स्पेक्टर तुलसा खतिवडा बताउँछिन् । पछिल्लो समय पर्यटन विभागले केहि पहल गरिरहेको उनले बताइन् ।
पर्यटन प्रहरीलाई हैरानी दिने एरिना पछिल्लो पात्र हुन् । विदेशी पर्यटकबाट यस्ता घटना बारम्बार भइरहन्छन् ।

भृकुटीमण्डपस्थित पर्यटक प्रहरीसँग अहिले कोही बाबा बनेर बसेका, कोहि बोल्दै नबोल्ने, कोहि चक्कु बोकेर हिँड्ने पर्यटकहरुका तस्वीरहरु छन् । केहीले त उजुरीका आधारमा नियन्त्रणमा लिन पुगेका प्रहरीलाई समेत हातपात गर्ने गरेका छन् ।

इन्स्पेक्टर खतिवडा भन्छिन्, ‘हामीले पर्यटकलाई सहजिकरण गरिदिने र उनीहरुको समस्या सुनिदिने हो । तर, केही पर्यटकले नै समस्या दिने गरेका छन् ।’ अन्य जिम्मेवार निकायले वेवास्ता गर्दा पर्यटन प्रहरीले त्यसको हैरानी बेहोर्नु परेकोसमेत उनको गुनासो छ ।

एक वर्षमा चार सय उजुरी

नेपालमा आउने कुनै पनि देशका पर्यटकलाई समस्या परे स्थानीय प्रहरीमार्फत पर्यटन प्रहरीमा सूचना पुग्ने गर्छ । प्राप्त सूचनाको आधारमा समस्यामा परेका पर्यटकको गुनासो सुनिदिने र समन्वय गरिदिने काम पर्यटन प्रहरीको हो ।

नेपालमा आउने कतिपय पर्यटकहरु आपराधिक मानसिकता भएका नेपालीहरुकै शिकार हुने गरेका छन् । त्यस्ता समस्या बेहोर्ने पर्यटकले पनि पर्यटक प्रहरीमा उजुरी दिन सक्छन् ।

पछिल्लो एक वर्षमा मात्रै ३ सय ९७ वटा उजुरी पर्यटकहरुले गरेका छन्, जसमा ११ वटा घटनाको मात्र अनुसन्धान पूरा भएको छ । सातवटा गम्भिर प्रकृतिका अपराधको अनुसन्धान गर्न सम्बन्धित स्थानका प्रहरी कार्यलयमा पठाइएको छ । बाँकी ३ सय ७८ घटनाको पनि अनुसन्धानग सिफारिस भएको खतिवडाले जानकारी दिइन् ।

२ सय ६२ वटा सामान हराएको, १ सय वटा चोरी, १३ वटा ठगी र ३ वटा डकैतीका घटनाका विषयमा विदेशी पर्यटकहरुले उजुरी गरेका छन् ।

यस्तो छ, पर्यटन प्रहरीको अवस्था

नेपाल आउने विदेशीहरुले कुनै आपराधिक घटना बेहोर्नु परे सहजिकरण र सहयोगका लागि २०३५ सालमा पर्यटन प्रहरीको स्थापना भएको थियो । भृकुटीमण्डपस्थित पर्यटन बोर्डसँगै रहेको पर्यटन प्रहरीमा सुरुमा ७ जनाको मात्रै जनशक्ति थियो ।

तर, पछिल्लो समय पर्यटकहरुका गन्तव्यस्थल बढेसँगै पर्यटक प्रहरीले पनि आफ्नो दायरा फराकिलो पारेको छ । उपत्यकामा मात्रै स्वयम्भू, वसन्तपुर, ठमेल, पशुपति, एयरपोर्ट, पाटन, भक्तपुर गरी ८ स्थानमा पर्यटन प्रहरीहरु छन् ।

उपत्यका बाहेक झापाको काँकडभिट्टा, सोलुको लुक्ला, धनुषाको जानकी मन्दिर, रसुवाको स्याप्रुवेसी, कास्कीको पोखरा, वीरेठाँटी र धम्पुस, घान्दु्रक, पर्साको विरगञ्ज, मनाङको चामे, मुस्ताङको जोमसोम, रुपन्देहीको लुम्बिनी र बेलैयासँगै म्याग्दीको घोरेपानीमा पनि पर्यटन प्रहरी स्थापना भइसकेको छ ।

एउटा इकाइमा कम्तिमा १० जना रहने गरी स्थापना भएका पर्यटन प्रहरीको देशैभरीको दरवन्दी भने २ सय २७ छ । तर हाल करिब १ सय ९० जना मात्रै कार्यरत छन् ।

पर्यटन प्रहरीमा आउने प्रहरीले अंगे्रजी जानेको हुनुपर्छ भने अहिले प|mेन्च, चाइनिज लगायतका भाषा बोल्नेहरु पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment