Comments Add Comment

मिस नेपालको क्राउन लगाएरै मेरो बाइकमा चढिन्

ह्याप्पी एनिभर्सरी उषा !

Meri shrimitiआजभन्दा १४ वर्ष अगाडि मेरो जीबनको उषा बनेर आएकी थिइन् उषा । मलाई पूर्ण बनाएकी थिइन् ।

बिवाहको १५ औं वर्षगाँठमा म सम्झिरहेको छु १९ जनवरी २००० को दिनलाई । म अफिसमा पस्दा एउटी सुन्दर कन्या मेरो प्रतिक्षामा बसिरहेकी थिइन् । जम्काभेट हुनासाथ हाम्रा आँखा जुधेका थिए । म एकछिनलाई तरंगित बनिदिएको थिएँ ।

‘यीनै हुन् उषा,’ आलोकले मलाई चिनायो, ‘वीरगञ्जकी उषा खड्गी ।’

उनले मलाई नमस्कार गरिन् । मैले नमस्कार फर्काउँदै आफ्नो परिचय दिएँ ।

त्यतिबेला म नेपाल टेलिभिजनमा म्युजिक प्लस कार्यक्रम चलाउथेँ । सो कार्यक्रममको प्रोड्युसर र भिजे थिएँ म । कार्यक्रममा मसँगै होस्ट गर्ने फिमेल पार्टनर अध्ययनका लागि अष्ट्रेलिया जान लागेकाले म नयाँ पार्टनरको खोजीमा थिएँ ।

म्युजिक भिडियो डाइरेक्टर (स्व.) आलोक नेम्वाङलाई भनेको थिएँ, ‘तैंले त नयाँ-नयाँ मोडलहरु भेटिरहन्छस्, मेरो प्रोग्रामको लागि एउटा स्मार्ट केटी खोजिदेन यार ।’

उसले भनेको थियो, ‘मिस पोखरामा फर्स्ट रनरअप भएकी एउटी केटी तैले खोजेजस्तै छे ।’

त्यसको केही दिनमा उसले उषालाई मेरो अफिसमा लिएर आएको थियो । मैले उनको अन्तरवार्ता लिएँ । तथापि मेरो लागि अन्तरवार्ता सायद एउटा औपचारिकता मात्रै थियो । उनीसँग भेट्नासाथै मलाई लागेको थियो, मैले खोजेकी केटी यिनै हुन् ।

म्युजिकल कार्यक्रम भएकाले अन्तरवार्तामा मैले म्युजिकका केही प्रश्नहरु सोधें । नेपाली पप सिंगरहरुका विषयमा के-कति थाहा छ भनेर जान्न चाहें । उनलाई त्यतिधेरै आइडिया रहेनछ । तैपनि उनको स्मार्टनेस र कन्फिडेन्सले मलाई प्रभावित बनाइसकेको थियो । भनें, तिमी छनोट भयौ, अब अडिसन दिन आउ ।’ अर्को दिन अडिसन दिएपछि उनी कार्यक्रमका लागि छानिइन् ।

त्यो रातो गुलाब

मैले उषालाई को-होस्ट बनाएर कार्यक्रम सञ्चालन गर्न थाले । सुरु-सुरुमा उनी अक्मकिन्थन् । बिस्तारै पिकअप लिइन् । यता मेरो मनभित्र उनको प्रेमले भित्रभित्रै पिकअप लिइरहेको रहेछ । म उनलाई बढी नै टेककेयर गर्न थालेको रहेछु । उनका हरेक कुराहरु मलाई प्रिय लाग्न थालेका रहेछन् ।

भ्यालेन्टाइन डे नजिकिएको थियो । मैले १४ फेब्रुअरीमा प्रस्तुत हुने म्युजिक प्लसलाई भ्यालेन्टाइनमय बनाउने निर्णय गरें । त्यसका लागि एउटा प्लट पनि रेडी गरें । मैले आफूलाई नायक र उषालाई नायिका बनाएर प्लट बनाएको थिएँ । अन्तिम दृष्यमा मैले उनलाई एउटा घुँडाले टेकेर हातमा रातो गुलाब दिएर ‘आइलभ यू’ भन्नुपर्ने थियो ।

त्यसको सुटिङ नयाँ बसपार्कमा गरिएको थियो । उनी सबै दृष्यहरुमा सहजरुपमा अभिनय गरिरहेकी थिइन् । म पो नयाँ कलाकार जस्तो नर्भस हुँदै थिएँ । अन्तिम दृष्यमा म विशेष नर्भस थिएँ । साँच्चै प्रपोज गर्न लागेको अनुभूति भइरहेको थियो । जब मैले एउटा घुँडा टेकेर उनलाई रेड रोज दिएँ, मेरा आँखाहरु उनका आँखामा ठोक्किए । उनी गम्भीर बनेकी थिइन् ।

सुटिङ सकिएपछि पनि गुलाब उनको हातमै थियो । त्यसले मेरो कौतुहल बढायो । उनलाई जिस्क्याएको भावमा भनें, ‘तिम्रो पनि ब्वाइफ्रेन्ड छैन क्यारे । यो गुलाब मेरो तर्फबाट उपहार भो ।’ उनी हाँस्नुको साटो झन् सिरियस भइन् ।

त्यो १४ फेब्रुअरी

१४ फेब्रुअरी आयो । उनीसँग मेरो भेट भएको २५ दिन मात्र भएको थियो । तर, हामी काफी मात्रामा नजिक आइसकेका थियौं । मैले आफ्नो भ्यालेन्टाइनका रुपमा उनलाई मनमा सजाउन थालिसकेको थिएँ । उनको मनमा के थियो, दैव जानोस् ।

पेप्सीकोलाले धापासीको होटल सहंसामा भ्यालेन्टाइन स्पेसल कार्यक्रम राखेको थियो, जोडीहरुका लागि । हाम्रो कार्यक्रममा पनि ‘इन्भिटेसन’ आएको थियो । मैले उषालाई भने, ‘म पनि खाली तिमी पनि खाली । जोडी बनेर जाउँ भनें ।’ सुरुमा त उनी ‘नाई मत जान्न’ भन्दै तर्किइन् । तर पछि आफैंले फोन गरेर भनिन्, ‘जाउँ न त ।’

म हतार-हतार मोटरबाइक स्टार्ट गरेर उनलाई लिन पुगें । उनी अरु दिन जस्तै पछाडि सिटमा सरक्क बसिनन् । म धेर उत्ताउलिँदा हामी समयभन्दा चाँडै पुगेछौं । हामी नै कार्यक्रमस्थलमा पुग्ने पहिलो जोड थियौं ।

एकैछिनमा चहलपहल सुरु भइहाल्यो । जोडीहरु एकअर्काको हात समाएर आउन थाले । हामी दुबै पुल नजिकको एउटा टेबलमा बसेर कफी पिइरहेका थियौं । हरेक टेबलमा राखिएको थियो रेड रोज । प्रेममय माहोल थियो । सबै हिसाबले प्रेम प्रस्ताव राख्नका लागि उपयुक्त समय थियो । मेरा मुटुको ढुक्ढुकी बढ्दै गयो । उनलाई पुलुक्क हेरें । गाजल लगाएका आँखा भुईंतिर झुकेका थिए । ओठामा रातो लाली लगाएकी थिइन् । गाला लाजले आफैं राता भएका थिए ।

ठूलो साहस बटुलेर मैले टेबलमा राखिएको रोज हातले टिपें । कुर्सीबाट उठेँ अनि घुँडा टेकेर फिल्मी पोजमा आफूलाई राखेँ । अनि उनलाई गुलाब अफर गर्दै भनेँ, ‘आइ लभ यू उषा ।’ उनका आँखा अनायास ठूला भए । आधा लजाएकी थिइन् भने आधा नर्भस थिइन् । मैले आफ्नो गोजीबाट चकलेट र डल निकालेर उनलाई दिएँ, जुन मैले उनलाई पिकअप गर्नुभन्दा अगाडि किनेर राखेको थिएँ ।

‘डु यु लभ मी ?’ उनी चुपचाप बसेपछि मैले प्रश्न गरें । उनले अहम्-अहम् गर्दै ‘सोचेर एक-दुई दिनमा जवाफ दिन्छु’ भनिन् । तर त्यतिञ्जेलमा मैले उनको आँखा र अनुहार मज्जाले पढिसकेको थिएँ, जहाँ जताततै ‘एस’ ‘एस’ लेखिएका थिए । मेरो आत्मविश्वास बढिसकेको थियो ।

कडा स्वरले भनिदिएँ, ‘भोलि-पर्सीको कुरै छैन । अहिले नै ओके भन । यस्तो माहोल नत्र कहिले आउँछ ?’ मेरो कन्फिडेन्सबाट उनी लर्‍याकलुरुक गलिन् । लामो सास तानिन्, अनि घोसे मुन्टो लगाएर भनिन्, ‘आइ लभ यु टु ।’

म फुरुङ्ग भएँ । हावामा उडुँ-उडुँ झैं लाग्यो । संसारकै मूल्यवान चिज पाएँ झैं भयो । पहिलोपटक उनलाई स्पर्स गरें । अघि टेबलको वल्लो-पल्लो सिटमा बसेको म अब एउटै सिटमा टाँसिएर बसेँ । अंगालो मार्न खोज्दा उनी करेन्ट लागे झैं हल्लिइन् ।

त्यसपछि हामीले स्टेजमा हात समातेर कपल डान्स गर्‍यौं । उनका हात ताता थिए ।

प्रोग्राम सकेर राति साढे नौ बजेतिर हामी फर्कियौं । यसपटक उनी पछाडि चपक्कै टाँसिएर बसिन् । एउटा हात मेरो काँधमा र एउटा कम्मरमा राखिन् । टाउको मेरो ढाडमा अड्याइन् । मलाई आफ्नो बाइक गुडेको होइन, उडेको झैं लागिरहेको थियो । मैले उनलाई घरसम्म पुर्‍याइदिएर आफ्नो कोठामा गएँ । त्यो रात के निदाएँ होला र ?

मिस नेपाल उषा

सन् १९९९ मा मिस नेपालमा भाग लिने उद्देश्यले वीरगञ्जबाट काठमाडौं आएकी थिइन् उषा । तर त्यो वर्ष उनले प्राविधिक कारणले भाग लिन पाइनन् । अर्को वर्ष भाग लिइन् । मैले सक्दो सहयोग गरेँ ।

भन्नै पर्दा मैले उनी मिस नेपाल जित्लिन् भन्ने कल्पना गरेको थिइनँ । जितुन् भन्ने भित्री चाहना पनि थिएन । मलाई डर थियो, मिस नेपाल भइन् भने मेरी उषा मबाट टाढिन सक्छिन् । मिस नेपालमा भाग लिने उनको रहर पुगोस् भन्ने मात्र चाहन्थें । तर, उनले टाइटल नै जितिन् । त्यतिबेला उनको खुशीमा म पनि खुशी नभइरहन सकिनँ । क्राउन लाएर मसँग ‘हग’ गरिन् ।

मिस नेपाल घोषणा सकिएपछि उनलाई घर पुर्‍याउने व्यवस्था समेत आयोजकले मिलाएको रहेनछ । खाना पनि खुवाइएको थिएन । भर्खरै मिस नेपाल भएकी उषा क्राउन लगाएरै मेरो बाइकमा चढिन् । परिवारका सदस्यहरु पनि आउनुभएको थियो । सबै आ-आफ्नो साधनमा जानुभयो । मैले उनलाई घरमा पुर्‍याइदिएँ । घरमै छोयला कचिलाहरु खाइयो । म अबेर फर्कें ।

मिस नेपाल भएपछि उनी एकाएक देशव्यापी चर्चित भइन् । उनको सेड्यूलहरु प्याक हुन थाले । मिस वर्ल्डमा भाग लिन जानुपर्ने थियो । यी यावत् कारणहरुले गर्दा मलाई डर पस्यो, कतै मैले आफ्नी प्रेमिका गुमाउने त होइन । तर जति व्यस्त भए पनि, जति चर्चित भए पनि मप्रति उनको प्रेममा कहिल्यै उतारचढाव आएन । मलाई निरन्तर उस्तै माया दिइरहिन् ।

दक्षिणकालीमा बिहे

एक वर्षपछि म्युजिक प्लस प्रोग्राम बन्द भयो । त्यसपछि मैले इभेन्ट म्यानेजमेन्ट र एडभरटाइजिङ कम्पनी दर्ता गरें । म्युजिक भिडियोहरु पनि डाइरेक्सन गर्न थालें । उषाले च्यानल नेपालमा काम गर्न थालिन् ।

यतिञ्जेलसम्म हामी दुवैको परिवारमा हाम्रो प्रेमको खुलासा भइसकेको थियो । जातको कारणले गर्दा मेरो परिवारले हाम्रो सम्वन्धलाई सहजरुपमा लिएको थिएन । मेरा भाई र बहिनीले बिहे गरिसकेका थिए । जेठो छोराले बाहुनी बुहारी ल्याएको हेर्न चाहनुहुन्थ्यो बुवाआमा । उहाँहरुलाई समाज र आफन्तहरुको पनि डर थियो ।

उता, उषाका परिवारले पनि विहेको विषयलाई लिएर उनलाई दवाव दिन थाले । सबैले थाहा पाउने गरी प्रेम गरेको अवस्थामा पछि केटोले छोड्यो भने नराम्रो हुन्छ भन्ने उहाँहरुको चिन्ता थियो । अन्ततः हामीले विवाहको निर्णयमा पुग्नै पर्ने भयो । मेरो परिवारलाई ‘कन्भिन्स’ गर्न मेरो एकजना फुपुको छोराले सहयोग गर्नुभयो । खुशीसाथ नभए पनि उहाँहरु मञ्जुर हुनुभयो । २०५९ साल वैशाख २६ गते दक्षिणकाली मन्दिरमा हाम्रो बिहे भयो ।

बिहेमा मैले ७०-८० जना जन्ति लगेको थिएँ । चन्द्रनिगाहपुरबाट मेरो बुवा-आमा आउनुभएको थियो । नेवारी कल्चरमा नमिल्ने कुराहरु हटाएर बाँकी परम्परागत बिहे गरियो । अन्माउने बेलामा उनी घुँक्क-घुँक्क गर्दै रोइन् । मैले सम्झाउन खोजें, ‘के नाटक गरेको, चुप लाग ।’ उनी त झन् चित्त दुखाएर रोइन् । बेकारमा त्यसो भनेछु ।

त्यतिबेला म डेरामा एक्लै बस्थें । केही महिनाअघि मात्रै बिहे गरेको भाई छुट्टै डेरा लिएर बस्न थालेको थियो भने बहिनीको पनि बिहे भइसकेको थियो । मैले उषालाई डेरामा भित्र्याए । भित्र्याउने सबै रिवाजहरु पूरा गरेर सबै आगन्तुकहरु फर्किनुभयो । मेरो बुवा-आमाहरु भाईको कोठामा जानुभयो । घरमा हामी दुई मात्रै बाँकी रह्यौं । मैले उनलाई सोधें, ‘कस्तो लागेको छ ?’

उनले जवाफ दिइन्, ‘भोक लागेको छ ।’

भोक त मलाई पनि लागेको रहेछ । दिउँसोदेखि केही खाएका थिएनौं । घरमा पकाएको केही थिएन । म खानेकुराको खोजीमा बाहिर निस्केँ । बल्लतल्ल एउटा होटलमा नान रोटी र चिकेन पाइयो । त्यही ल्याएर खायौं र सुत्यौं ।

सुत्ने बेलामा सोधें, ‘कस्तो लागेको छ ?’ जवाफ दिनुको साटो मलाई पाखुरामा चिमोटिन् ।

हनिमुनको मस्ती

बिहेको एक हप्तापछि हामी दुवै आ-आफ्ना काममा फर्कियौं । एक महिनापछि हनिमुनका लागि पोखरा गयौं । एक साताको त्यो हनिमुनका हरेक पल हाम्रा निम्ति अविस्मरणीय रहे ।

पोखरा म पहिले कयौंपटक गएको हुँ म्युजिक प्लसको सुटिङका क्रममा । तर त्यो घुमाइ र यो घुमाईबीच आकाश-जमीनको अन्तराल थियो । यसपटक हामी आजाद पंक्षी जस्ता थियौं । कुनै दवाव थिएन । कुनै व्यस्तता थिएन । बिहान जति बजेसम्म सुत्दा पनि हुन्थ्यो । राति जति अबेरसम्म डुल्दा पनि हुन्थ्यो । हामी एक अर्काको अंगालोमा लठारिएर सडक-गल्लीमा डुल्थ्यौं । माया-प्रेमका कुरा गर्थ्यौं । भविष्यका मिठा योजना बुन्थेउँ । जिन्दगीका कुरा गर्थ्यौं । आवारा-आवारी जसरी घुम्थेउँ ।

हामीलाई एकाध ठाउँमा मानिसहरुले चिनेर समस्या पनि भयो । ‘सुटिङमा आउनुभएको हो ?’ भन्थे । त्यसपछि हामी अलि नचिनिने भएर हिँड्थेउँ । क्याप, गगल्स, स्कार्फ आदि लगाएर ।

उगेस्ना र उगेन

बिहेको दुई वर्षपछि हाम्रो जीवनमा खुशीको क्षण आयो । उषाको जिउ भारी भयो । दुवै जना खुबै रमायौं । हामीले भावि सन्तानको नाम पनि पहिले नै जुरायौं । छोरा भएमा उगेन, छोरी भएमा उगेस्ना । दुवैको नामको पहिलो अंग्रेजी अक्षरबाट ती नाम जुराएका हौं । मेरो चाहना छोरी थिइन् भने उनको चाहना छोरा ।

ओम हस्पिटलमा उषाले उगेस्नालाई जन्म दिइन् । छोरीलाई हातमा लिँदा मेरा आँखाबाट हर्षका आँशु बररर खसे । उनको निर्दोष अनुहार देख्दा मभित्र एउटा पिताको हृदय जागृत भयो । असाध्यै भावुक बनेँ । मेरो जीवनकै सबैभन्दा खुशीको क्षण हो त्यो ।

नवजात छोरीका नाममा मैले त्यसै रात गीत पनि कोरेँ । ‘तिमीले जिन्दगीलाई पूर्ण बनाइदियौ, तिम्रो कोमल स्पर्स… म भावुक हुन्छु…’ यस्तै यस्तै शब्दहरु छन् । लाइनहरु बिर्सें। डायरीमा अझै छ ।

छोरीको न्वारनपछि उषा वीरगञ्ज माइतीमा गइन् । दुई महिना बसेर आइन् । तर त्यसपछि बच्चा स्याहार्न हामीले जानेनौं । बुवा बिरामी हुनुभएकाले मेरी आमा चन्द्रनिगाहपुरबाट आउने स्थिति भएन । बच्चा स्याहार्न नसकेपछि मैले उषालाई एक महिनापछि फेरि माइती पठाइदिएँ ।

उगेस्ना अहिले हुर्किसकेकी छिन् । १२ वर्षकी भइन् । उनी जन्मेको १० वर्षपछि हाम्रो दोस्रो सन्तान छोराका रुपमा भयो । उगेनको आगमनपछि उषाको पनि छोराको रहर पूरा भएको छ । अहिले हामी चार जनाको संसार स्वर्गभन्दा कम छैन ।

ससुरालीमा बियरको वोतल

बिहे गरेको वर्ष दशैंमा पहिलोपटक मैले उनलाई चन्द्रनिगाहपुरमा लगें । ‘टिभीमा खेल्ने बुहारी’ भन्दै गाउँका मान्छेहरु हेर्न ओइरिए । यद्यपी घरमा बस्दा उषाले आफूलाई पूर्णरुपमा एउटी असल गृहणीमा ढालिन् । घरभित्रका सबै काम गरिन् । मेरा बुवा-आमा उनको शील स्वभावबाट प्रशन्न बन्नुभयो ।

उषाको परिवारसँग पहिलेदेखि नै मेरो राम्रै हेलमेल थियो । आमासँग म झन् बढी नजिक थिएँ । तर ज्वाईं भएर पहिलोपटक ससुराली जाँदा अप्ठेरो अनुभव भयो । उषाको बुवाले वियरको बोतलले पो स्वागत गर्नुभयो । परिवारभित्र बसेर कहिल्यै रक्सी नखाएको मलाई निकै अप्ठेरो लाग्यो । तर नेवार परिवारमा सँगै बसेर मदिरा सेवन गर्नु सामान्य कुरा रहेछ ।

सासुआमा र सालीले समेत वियर खाएको देखेपछि मैले पनि बाध्य भएर खाएँ । उषाले चाहिँ वियर खादिँरैनछिन् । उनले रेड वाइन खाइन् ।

हाम्रो सम्वन्ध

उषा र मेरो सम्वन्ध अहिलेसम्म सरल रेखामा नै हिँडिरहेको छ । खासै ठूला समस्याको सामना गर्नुपरेको छैन हामीले । अहिलेसम्म ठूलो झगडा परेको छैन । साना-तिना खटपट त परिहाल्छ । उनी अलि चाँडै रिसाउँछिन् । अलिकति चित्त दुखे रोइदिन्छिन् । म एकै छिनमा फकाइदिन्छु ।

ठाकठुक पर्दा म उनलाई भन्छु, ‘तिमीले कुरै बुझ्दिनौ ।’ उनले पनि मलाई भन्छिन्, ‘तपाईं कुरै बुझ्नुहुन्न ।’ हामीले एक-अर्कालाई गाली गर्न प्रयोग गर्ने डाइलग यत्ति हो ।

हामीसँग अहिले सबै थोक छ । आफ्नो घर छ, आफ्नो गाडी छ, आफ्नो अफिस छ । दुई वर्ष अगाडि जडिबुटीमा आठ आना जग्गामा करिब ९० लाखको लागतमा घर बनायौं । घरकै पहिलो तल्लामा हाम्रो एड एजेन्सी र इभेन्ट म्यानेजमेन्टको अफिस छ । अफिस र घरमा पस्ने गेट छुट्टै छन् । उषाको कुपण्डोलमा ‘पार्टनरसीप’मा खोलेको एउटा बुटिक छ ।

ह्याप्पी एनिभर्सरी

आज हामी दुवै जना बिहेको वार्षिकोत्सवका अवसरमा एउटा एनजिओमा गएर बच्चाहरुलाई केही चकलेट र गिफ्टहरु दियौं । राति सरप्राइज पार्टी दिने योजना बनाएको छु । केटाकेटीलाई पिकअप गरेपछि क्यान्डेल लाइट डिनर खान लैजाने योजना छ ।

आजका दिनमा उषालाई यत्ति भन्न चाहन्छु, ‘म हृदयदेखि तिमीलाई माया गर्छु ।’

प्रस्तुतिः चिरञ्जीवी पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment