Comments Add Comment

बागलुङ रेडक्रसमा तालाबन्दी

Nepal-Redcross२० जेठ, बागलुङ । विधान मिचेर अघि बढेको आरोपमा केही उपशाखाका सभापतिले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङमा तालाबन्दी गरेका छन् ।

विधान विपरीत एकतर्फी रुपमा उपशाखाको अधिवेशन गराएको भन्दै भीमापोखरा, लहरेपीपल र रेश उपशाखाका सभापतिले बुधबार ताला लगाएका हुन् । भीमापोखरा उपशाखामा सदस्यता विवादकै बीचमा जिल्लाले अधिवेशन तोकेको सभापति विद्यापति शर्माले बताए ।

उनले गत चैतभित्र सदस्यता लिनुपर्ने विधानको व्यवस्था भए पनि त्यसपछि थपिएका सदस्य समेटेर अधिवेशन डाकिएको बताए । विरोधपछि पुरानो समिति भङ्ग गरेर नयाँ तदर्थ समिति गठन गरेकोमा समेत जिल्ला शाखाको आलोचना भएको छ ।

रेडक्रसको मूल्य, मान्यता र नियमलाई पालना नगरी एकलौटी ढङ्गबाट तोकिएको अधिवेशन स्थगित गर्न माग गर्दै तालाबन्दी गरिएको सभापति शर्माले बताए ।

यस्तै, बागलुङ नगरपालिका–८ र ९ को संयुक्त लहरेपीपल उपशाखा हुँदाहुँदै बानपा–८ मा पुनःउपशाखा खोलिएकोमा पनि विरोध जनाइएको छ ।

जिल्ला शाखा सभापतिले एकलौटी रुपमा शाखा खोलेपछि उपशाखाले ध्यानाकर्षण गराएको लहरेपीपल उपशाखाका सभापति रुद्रबहादुर केसीले बताए । रेश उपशाखालाई पनि विघटन गरेर सदस्य नै नभएका व्यक्तिलाई संयोजक तोकेकोमा पनि विरोध गरिएको छ ।

जिल्ला शाखाको निर्णय बिनानै उपशाखा विघटन गरेको, संयोजक तोकेको र सदस्यलाई नै जानकारी नदिई निर्वाचन गर्न लागेको असन्तुष्ट पक्षको भनाइ छ । पटकपटक आग्रह गर्दा पनि सभापतिले अटेर गरी एकलौटी गर्न खोजेपछि दबाब स्वरुप कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ ।

माग पूरा नभए आन्दोलनका थप कार्यक्रम ल्याउने उनीहरुले चेतावनी दिएका छन् । जिल्ला शाखाका सभापति जब्बरबहादुर लामिछानेले भने आफूले विधानअनुसार काम गरेको बताए ।

उनले वैधानिक रुपमा शाखा स्थापना गरेको भन्दै उपशाखाका सभापतिले तालाबन्दी गरेर गलत कदम चालेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment