Comments Add Comment

सामरीमा कहिले बन्ला मकवानपुरगढी र आमभञ्ज्याङ जोड्ने पुल ?

सामरीले बगाएकी बालिकालाई एक किमी तलबाट उद्धार

samari-river
१ असार, हेटौंडा । मकवानपुरको आमभञ्ज्याङ-३ भालुखोला र मकवानपुरगढी जोड्ने पुल निर्माण नहुँदा स्थानीयले निकै सास्ती भोगेका छन् ।

यो स्थानमा तुइनलाई विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने सरकारी प्रतिवद्धताअनुसार काम सुरु भएपनि ढिलासुस्तीका कारण समयमानै काम नसकिँदा सामरी खोला हुँदै ओहोर-दोहोर गर्ने स्थानीयले सास्ती भोगिरहेका छन् ।

आज  पनि सामरी खोलाले बगाएर एक बालिका गम्भिर घाइते भएकी छिन् । गढी-७ बस्ने १७ बर्षकी सम्झना छत्कुलीलाई सामरी खोलाले बगाएको हो । उनलाई बचाउन जाँदा अरु तीन जना पनि घाइते भएको आमभन्ज्याङ ३ का विष्णु दंगालले बताए ।

जिल्ला विकास समिति मकवानपुरको सहयोगमा झोलुङ्गेपुल निर्माणको काम सुरु भएपनि त्यसलाई द्रुत गतिमा निर्माण गर्न नसक्नु र यस झोलुङगे पुल निर्माणका लागि सरकारी स्तरबाट नै रोक लगाएका कारण काममा ढिलाइ भएको छ ।

सामरी खोला ओहोर दोहोर गर्नका लागि शारदा उच्च माविका विद्यार्थीसहित दुई गाविसका स्थानीयले ठूलो समस्या बेहोर्ने गरेको झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका दंगालले बताए ।

दिउँसो करिब साढे ३ बजे खोलाले बगाएकी छत्कुली केही घण्टासम्म अचेत अवस्थामा थिइन् । खोला तर्ने क्रममा उनलाई खोलाले बगाएकी उनलाई  करिब १ किलोमिटर पर किनारबाट उद्धार गरिएको स्थानीय प्रमोद फुयाँलले बताए ।

सो क्षेत्रमा दिउँसो परेको मुसलधारे वर्षाले सामरी खोलामा बाढी आएको थियो । छत्कुली घरायसी सामान किनेर हेटौंडाबाट आमभञ्ज्याङ हुँदै गढी गाविसस्थित घर फर्किँदै थिइन् ।

उनको हेटौंडा अस्पतालमा उनको उपचार भइरहेको छ । झोलुङ्गेपुल निर्माण नभइरहेको समयमा बर्षेनी यहाँका नागरिकले खोला तर्दा यस्तै समस्या बेहोर्दै आएका छन् ।

वर्षायामको तीन महिना दुई गाविसका वासिन्दाहरुले धेरै समस्या बेहोर्नुपर्ने अवस्था रहेको गढी गाविसका समाजसेवी रामजी सापकोटाले बताए ।

झोलुङ्गेपुल निर्माण गर्नका लागि दबाब दिन भोलि दुबै गाविसका स्थानीयको टोली स्थानीय विकास मन्त्रालयमा जाने तयारी गरिएको छ । दुई गाविस जोड्ने गरी पक्की मोटरेबल पुल पनि निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

(शिव चौलागाईंको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment