Comments Add Comment

मेलम्चीको पानी आउनुअघि उपत्यकामा वितरण सञ्जाल बनिसक्ने

Digging a road for Melamchi pipeline (1)
३ असार, काठमाडौं। मेलम्चीको पानी सुन्दरीजलमा आउनु अघि नै उपत्यकाका ग्राहकका धारामा समानुपातिक वितरण सञ्जाल निर्माण गरिसक्ने भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याउन २७ किमी लामो सुरुङ निर्माण भइरहेको छ । सुरुङ हाल १७ किमी खनिसकिएको र १० किमी खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सुरुङ खनी सुन्दरीजलसम्म पानी ल्याएर प्रशोधन केन्द्र बनाउने जिम्मेवारी समितिको हो । सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले बताए । “थप आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माणका लागि परामर्शदाता छनोट सुरु भएको छ”–उनले भने ।

सुन्दरीजलबाट ग्राहकका धारासम्म पानी वितरणको जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई दिइएको छ । निर्देशनालयले एसियाली विकास बैंकको ऋण सहयोगमा उपत्यकाको खानेपानीमा सुधार, ढल व्यवस्थापन र खानेपानी सरसफाइ आयोजना सञ्चालन गरेको निर्देशक तिरेशप्रसाद खत्रीले बताए ।

“मेलम्चीको पानी सुन्दरीजलमा खसेर प्रशोधन भएपछि वितरणका लागि ल्याउन थोक वितरण प्रणाली अन्तर्गत चाबहिलसम्म ९.५ किमीमा एक हजार ४०० मिलिमिटर ब्यासको ठूलो पाइप बिच्छ््याइएको छ, पानी पोखरीसम्म पानी पु¥याउन बनाइएको लाइनलाई थोक वितरण प्रणाली भनिन्छ”–उनले भने ।

पानी आउनु अघि निर्देशनालयले ६८ किमी थोक र ६७० किमी ग्राहकको घरसम्म पुग्ने लाइन वितरण सञ्जाल बनाइसक्ने जनाएको छ । थोक प्रणालीबाट जाने पानी राख्न नौ स्थानमा पानीट्याङ्की निर्माण भइरहेको निर्देशनालयले जनाएको छ । आरुबारी, बाँसबारी (हेपाली हाइट), महाङ्कालचौर, थिमी (टिगनी), खुमलटार, महाराजगञ्ज (पानीपोखरी), बालाजु, कटुञ्जे (भक्तपुर) र कीर्तिपुरमा पानीट्याङ्की निर्माण भइरहेको छ ।

मेलम्चीबाट सुन्दरीजलमा झरेको पानी प्रशोधन गरेर ग्राहकका धारामा जाने प्रणाली निर्माण गरिए पनि बढी भएको पानी जम्मा गर्नका लागि पानीट्याङ्की निर्माण भइरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले  जानकारी दिए ।

“पानी वितरणका लागि थोक वितरण प्रणालीको ६८ किमीमध्ये २६ किमी र ग्राहकको धारासम्म पुग्ने ६७० किमीमध्ये हाल ३५२ किमी निर्माण सम्पन्न भइसकेको छ, भूकम्प र नाकाबन्दीले काममा असर गरे पनि मेलम्चीको पानी राजधानी आउनु अगावै वितरण प्रणाली बनिसक्छ”–उनले भने ।

वितरण सञ्जाल निर्माणका लागि बैंकको ६५ प्रतिशत र सरकारको ३५ प्रतिशत लगानी छ । कुल लागत ३०९ मिलियन अमेरिकी डलर अर्थात् करिब अनुमानित ३० अर्ब रूपैयाँ लाग्नेछ ।

ढल व्यवस्थापन
उपत्यकामा ढल व्यवस्थापनको काम पनि निर्देशनालयले गर्ने भएको छ । गुह्येश्वरीस्थित अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको हाताभित्र थप एक करोड ६० लाख लिटर ढल मिसिएको पानी प्रशोधन गर्ने केन्द्र निर्माण गरिने छ । यसअघि समितिले नै त्यस ठाउँमा एक करोड ६० लाख लिटर ढल प्रशोधन केन्द्र निर्माण गरिसकेको छ ।

मनोहरा र हनुमन्ते नदीेस्थित दुबै किनारमा मुख्य ढल लाइन निर्माण गरिने पनि निर्देशनालयले जनाएको छ । घरबाटै ढलसम्बन्धी जानकारी लिन सकिने अत्याधुनिक प्रणाली स्थापना गर्न लागिएको निर्देशनालयका उपनिर्देशक अनिलभद्र खनालले बताए ।

“उपत्यकामा बस्ती विस्तार भएकाले ढल प्रशोधन केन्द्र निर्माण गर्ने स्थान पाउन कठिन छ, खोकना र गोकर्णमा रहेको खाली जग्गालाई ढल प्रशोधन केन्द्र निर्माणका लागि अधिग्रहण गर्न सरकारसँग माग गरेका छौँ, ती जग्गा अन्य प्रयोजनका लागि दिन हामीलाई पनि दबाब आउने गरेको छ”–उनले भने।

खोकनामा ३० करोड लिटर प्रशोधन गर्नसक्ने केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण भएको छ । अब निर्माण हुने केन्द्र वरिपरिको सौन्दर्य वृद्धि हुने गरी वातावरण मैत्री बनाउने निर्देशनालयको योजना छ । “गुह्येश्वरी र धोबीघाटमा निर्माण हुने केन्द्रबाट विद्युत् पनि निकालिने छ, गुह्येश्वरीबाट २४० र धोबीघाटबाट २०३ किलोवाट विद्युत् उत्पादन गर्ने गरी ढल व्यवस्थापन गरिनेछ” – उपनिर्देशक खनालले भने ।

उपत्यकामा ३३ ट्युबवेल
उपत्यकामा मेलम्चीको पानी आउनुअघि खानेपानीको समस्या समाधानका लागि १३ ट्युबवेल निर्माण सम्पन्न भएको छ । तेह्र ट्युबवेलबाट दैनिक डेढ करोड लिटर पानी आपूर्ति भइरहेको छ । नख्खु खोलामा इन्टेक निर्माण गरी थप पानी बढाइएको निर्देशनालयले जनाएको छ ।

उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गत थप २० ट्युबवेल निर्माण गर्ने कार्यक्रम छ । उपत्यकामा वितरण गरिएको पानीको मुख्य प्रणालीमा असर परे ट्युबवेलको पानी वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment