Comments Add Comment

राजतन्त्र हटेपछि बेवारिसे बनेकै हो त स्काउट ?

नेपालमा स्काउटको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

राजा त्रिभुवन वीरविक्रम शाहदेवले उद्घाटन गरेर विसं २००९ साल असार ५ गते स्थापना भएको नेपाल स्काउटलाई गणतन्त्र फापेन भन्दा त्यसको गलत अर्थ लाग्न सक्छ । तर, गणतन्त्र स्थापनापछि नेपाल स्काउटले जुनरुपमा आफ्नो गति लिनुपर्ने थियो, त्यो हुन सकेन ।

Tribhuvanवास्तवमा स्काउट भनेको आत्मानुशासन सिकाउने अतिरिक्त क्रियाकलाप मात्र होइन, सम्वृद्ध मुलुक निर्माणमा आवश्यक योग्यतम र चरित्रवान नागरिक उत्पादन गर्ने स्वयंसेवी अभियान पनि हो । एकपटक फेरि स्काउट अभियानलाई गणतन्त्र नेपालको पहरेदार बनाउन स्काउट दिवसकै अवसरमा प्रण गर्नुपरेको छ ।

गणतन्त्र स्थापनाअघिसम्म नेपाल स्काउटको संरक्षक राजारानी र प्रमुख आयुक्त युवराज हुने गर्थे । लोकतान्त्रिक आन्दोलनको सफलता लगत्तै गणतन्त्र स्थापना नहुँदै तत्कालीन गिरिजाप्रसाद कोइराला पहिलोपटक संरक्षक भएर स्काउट राजदरबारबाट जनताको तहमा आएको हो ।

विगतमा राजारानी र युवराजलाई हेर्नका लागि पनि स्काउट अभियानका अभियन्ताहरु गाउँ गाउँबाट आफ्नै खर्चमा काठमाडौंमा आउँथे । अहिले स्काउट अभियान तीब्ररुपमा अघि बढे पनि अपेक्षित हुन नसकेको तर्फ सबैको ध्यान जानु आवश्यक छ । एक किसिमले भन्ने हो भने गणतन्त्रमा स्काउट अभियान बेवारिसे बन्ने हो कि भन्ने चिन्ता छाएको छ ।

अब स्काउटलाई अघि बढाउन नयाँ ढंगको सोचका साथ अघि बढ्नु परेको छ । स्काउट दिवसको अवसरमा हामी सबैले प्रण गर्नु परेको छ- स्काउट अभियानलाई फेरि जनजनमा गाउँमा पुर्‍याउँ । स्काउट शिक्षाको मूल उद्देश्य नै व्यवहारमा सकारात्मक परिवर्तन ल्याई असल र योग्य नागारिक तयार गर्नु हो ।

जसरी शिक्षालयका विषयगत शिक्षकबाट विद्यार्थीको बानी व्यहोरा, चालचलन र व्यवहारमा परिवर्तन ल्याउन निर्धारित पाठ्यक्रमको माध्यमबाट अध्यापन गराइन्छ, त्यस्तै स्काउटिङले विभिन्न युवा कार्यक्रममार्फत् नेतृत्व विकास, समूहगत कार्यशिल्पको वृद्धि, योजना तर्जुमा एवं कार्यान्वयन, रचनात्मक सोचको विकासजस्ता पक्षको विकास गर्छ ।

नेपालमा स्काउट अभियान शुरु भएदेखि अहिलेसम्मको अवधिलाई हेर्ने हो भने यो अभियानमा लाखौं नेपाली सहभागी भए । माओवादी सशस्त्र द्वन्द्वको करीव एक दशकको अभियानमा स्काउट अभियानले धक्का खायो ।

कतिपय ठाउँमा हाम्रा तालिमप्राप्त स्काउटहरुलाई माओवादी विद्रोहीले आफ्नो युद्धमा सामेल गराए भने कतिपय ठाउँमा दोहोरो चेपुवामा पर्ने अवस्था रहृयो । सैन्य खालको पोशाक र तालिम पनि प्राप्त गरेका हुनाले स्काउट भनेपछि राज्य र विद्रोही दुबैको नजर पर्नेनै भयो । त्यो एक दशकमा स्काउट अभियानले धक्का खाए पनि स्थापनादेखि अहिलेसम्मको अवस्थाले उत्साह अवश्यक थपेको छ ।

६५ वर्षअघि स्काउटकेा विधिवत शुरुवात हुँदा यो देश जहानियाँ एकतन्त्रीय शासनबाट मुक्त भएर आधुनिकताको झ्याल खुलेको अवस्थामा थियो ।

scoutस्काउटको विकास र विस्तार नेपालमा जुन रफ्तारमा भएको थियो, मुलुक गणतन्त्रमा प्रवेश गरेपछि अपेक्षित रुपमा किन हामीले स्काउटलाई महत्व दिन सकेका छैनौं ? यो सबैले मनन गर्नुपर्ने विषय बनेको छ । योग्य, सक्षम, अनुशासित र चरित्रवान नागरिक उत्पादन गर्ने प्रशिक्षण प्रतिष्ठान जस्तै हो स्काउट । तर, यसप्रति राज्य र नागरिक सबै तहबाट उपेक्षाभाव दुःखद पक्ष हो ।

नेपालमा स्काउट शुरु भएको ६५ वर्ष र विश्वमा स्काउटको स्थापना भएको १०९ वर्ष पूरा भएको यो क्षणमा एकपटक हामीले फेरि प्रतिज्ञा गर्नु परेको छ- सम्वृद्ध नेपालका लागि सक्षम, अनुशासित र योग्यतम नागरिक बनाउँ । त्यसका लागि घर-घर, स्कूल स्कूल, कलेज कलेजमा स्काउट अभियान चलाउँ ।

गीतामा धर्मनाश हुँदा भगवानले नयाँ अवतार लिनेछन् भनिएको छ । हामीमा अनुशासन, कर्तव्य र चरित्र नाश भइरहेका बेला स्काउट अभियानको अपरिहार्यता अझ बढेको छ । बीचमा केही सुषुप्त अवस्थामा रहेको स्काउट अभियान अब फेरि गाउँ गाउँसम्म आक्रामक रुपमा जानुपर्ने देखिएको छ ।

कहाँबाट आयो स्काउट ?

इङल्याण्डका फौजी कमाण्डर वेडेन पावेलले सन् १९०७ मा लण्डनमा युवाहरुको एउटा समूह लिएर स्काउट तालिम शुरु गरेका थिए । पछि उनको यो अभियानमा बहिनी एगनेस वेडेन पावेल सहभागी भएर केटीहरुलाई तालिम दिन थालियो । यसरी बालबालिका र युवासम्मका तालिमहरुसँगै तीन वर्षको बीचमा स्काउट विश्वभर फैलिएको थियो ।

हाल विश्वभर दुई १६ देशका ४ करोडभन्दा बढी मानिस स्काउटमा आवद्ध छन् । नेपालमा स्काउटको स्थापना विसं २००९ सालमा भए पनि यसले विश्व स्काउटको विधिवत पूर्ण सदस्यता विसं ०२६ सालमा मात्र प्राप्त गरेको हो ।

यसबीचमा नेपाल स्काउटले देशका प्रायः सबै जिल्लामा आफ्नो अभियान बिस्तार गरेको छ । वास्तवमा स्काउटिङ भनेकेा शैक्षिक उद्देश्यहरु सहितको एउटा युवा अभियान हो । यो एउटा अतिरिक्त क्रियाकलाप हो,जसले बालवालिका र युवालाई खेलको मज्जा पनि दिन्छ । योग्य, अनुशासित र चरित्रवान बन्न प्रेरित गर्छ । स्काउट तालिम लिएको विद्यार्थी जीवनमा सधैं मेघाबी बन्छ भन्ने मान्यता पनि स्थापित भएको छ । स्काउट तालिमले आत्मरक्षाको उपाय पनि सिकाइरहेको हुन्छ भन्ने मान्यता छ ।

नेपाल स्काउटको लामो कालखण्ड सामान्य गतिमा बित्यो । यसबीचमा यसले द्रूत मार्ग लिएको छ । हिजो राजा प्रमुख संरक्षक हुन्थे, आज प्रधानमन्त्री प्रमुख संरक्षक हुने गरेकाले पनि स्काउटबारे सरकारलाई जानकारी हुन थालेको छ ।

युवा तथा खेलकुद मन्त्री नै प्रमुख आयुक्त हुने भएकाले जनताको पहुँचमा स्काउट अझ विस्तार गर्न सजिलो भएको छ । यस अवधिमा स्काउटबाट मुलुकको छवि विश्वभर चम्किएको छ भन्दा हामीलाई गर्व लाग्छ ।

आज नेपालभर २ लाखभन्दा बढी स्काउट सदस्य छन् । उनीहरु कुनै पनि दैवी प्रकोपका बेला स्वयंसेवीका रुपमा अब्बल साबित भएका छन् । गत वर्ष विनाशकारी महाभूकम्प लगत्तैको उद्धार, राहत र पुनर्निर्माण अभियानमा स्काउटका सदस्यहरुको खटाई अविश्मरणीय  छ ।

“तयार होउ” भन्ने आदर्श वाक्यबाट अभिप्रेरित नेपाल स्काउटका सदस्यहरुले गत वैशाख १२ गतेको भूकम्पलगत्तै नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय लैनचौरको पूर्वपट्ट रहेको नारायणहिटी दरबार संग्रहालयको पर्खाल भत्किएपछि त्यसमा पुरिएका ४ जनालाई जीवितै उद्धार गर्न नेपाली सेनासँग सहकार्य गरेका थिए ।

भूकम्प आएपछि तत्काल उद्धारमा जुटेको नेपाल स्काउटले तत्पश्चात एक मिडिया सेन्टर स्थापना गरी भुकम्प पीडितहरुलाई उद्धार र राहत सेवा उपलब्ध गराउन समन्वय गरेको थियो । नेपाल स्काउटका प्रमुख आयुक्त एवम् अन्य आयुक्त लगायतका पदाधिकारी तथा कर्मचारीहरु समेत २४ सै घण्टा भूकम्प पीडितहरुको राहत र उद्धार लगायतका कार्यहरु गर्न लागिपरेका थिए ।

नेपाल स्काउटका २७०० भन्दा बढी रोभर/रेन्जर, स्काउट लिडर र आयुक्तहरु भूकम्प पीडितहरुलाई सेवा प्रदान गर्न भूकम्प पीडित स्थानमा खटिएका थिए ।

विश्व स्काउट संगठनको सिद्धान्त एवं नेपाल स्काउटको नीति नियमको परिधी भित्र रही बालबालिका, किशोर, किशोरी एवं युवाहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्ने शसक्त माध्यम स्काउटिङ्ग नै भएको सन्दर्भमा नेपाल स्काउटले आफनो संस्थाको उदेश्य पूर्तिको लागि निरन्तर काम गरि रहेको छ ।

यसबीचमा रसुवामा ५ हजार ८ सय ९० मिटरको हिमालको नाम नै स्काउटका जन्मदाता वेडेन पावेलका नामबाट नामाकरण गरिएपछि विश्वभर नेपाल चर्चामा छ ।

हालसम्म अष्ट्रेलिया, सिंगापुर, बेलायत, फिनल्याण्ड, कोरिया जस्ता देशका स्काउटले वेडेन पावेल हिमाल आरोहण गरिसकेका छन् । अब चाँडै नै नेपालमा स्काउटको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । यसले नेपालको प्रतिष्ठा माथि पुग्ने नै छ ।

स्काउटको लक्ष्य नै सधैं तयार रहनु हो । युवा शक्तिले चरित्रलाई असल बनाएर अफ्नो, आफ्नो समाजको र देशको भविष्य निर्माण गर्ने अन्तर्राष्ट्रिय भावनालाई अभिवृद्धि गर्ने काममा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । स्काउटले सिकाउने भनेकै पनि त्यही हो ।

स्काउटले ईश्वरप्रति सेवा भाग जगाउँछ । आस्था फरक भए पनि आ-आफ्ना आस्थाका ईश्वरको सेवामा जागृत गराउनाले मान्छे कर्तव्यपरायण हुन्छ । अरुप्रतिको सेवा स्काउटको मूल मन्त्र हो । त्यसैले स्काउट अभियानमा आजैदेखि लागौं ।

(भण्डारी नेपाल स्काउटका सदस्य सचिव हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment