Comments Add Comment

पोलिफार्मेसीको शिकार हुँदैछन् हजुरबा-हजुरआमा

बुढेसकालको स्वास्थ्यबारे ध्यान दिन जरुरी

old

रोगले मानिसलाई ठूलो-सानो भन्दैन । यो जुनसुकै बेला जो-कसैलाई लाग्न सक्छ । अझ वृद्धावस्थामा यसको जोखिम झन् बढी हुन्छ ।

विशेषगरी ६० को दशक पार गरेपछि मानिसको शरीरमा रोगसित लड्ने क्षमता कम हुँदै जान्छ । परिणामस्वरुप वृद्धवृद्धामा शरीर खिइने, दम, पखाला, पिसाबको संक्रमण लगायतका समस्या बढी मात्रामा देखा पर्दछ ।

त्यस्तै, मौसम परिवर्तनका कारण देखिन रुघाखोकी, ज्वरो लगायतका संक्रमणले पनि उनीहरुलाई चाँडै असर गर्दछ । परिणामस्वरुप अन्य विरामीका तुलनामा वृद्धावृद्धाले औषधिको प्रयोग बढी गर्नुपर्छ । तर, यस्ता औषधिको तालमेल कसरी मिलाउने भन्ने ज्ञान हामीमध्ये धेरैमा नहुँदा विरामीहरुमा थप समस्या उब्जने गरेको छ ।

सामान्यतयाः वृद्धावस्थामा विभिन्नखाले समस्याका लागि जम्माजम्मी आठ देखि नौ प्रकारका औषधि आवश्यक छन् । त्यसमा पिसाब, पखाला, बाथ, रक्तचाप नियन्त्रणलगायत समस्याका औषधि समावेश हुन्छन् ।

तर, हाम्रो समाजमा औषधिको महत्व नबुझेर र यस्ता विरामीलाई कसरी हेरचाह गर्ने भन्ने ज्ञान नहुँदा आवश्यकताभन्दा बढी औषधी खुवाउने प्रचलन छ । जसलाई पोलीफार्मेसी भनिन्छ ।

‘पोलिफार्मेसी’ भनेको वृद्धावस्थामा प्रयोग हुने अनेक प्रकारका औषधिको संग्रह हो । यस्ता औषधि विरामीलाई दिनैपर्छ भन्ने जरुरी हुँदैन । बरु अधिक मात्रामा विभिन्न औषधिको प्रयोगले विरामीलाई अन्य प्रकारको समस्या निम्त्याउने खतरा उत्तिकै रहन्छ । जसलाई ‘साइड इफेक्ट’ पनि भनिन्छ ।

बारम्बार एकै प्रकारको औषधिको प्रयोग, एउटा औषधिमा हुने केमिकल्सको मात्रा अर्को औषधिमा पनि पाइनु, एउटा औषधिको मात्रालाई अर्को औषधिको मात्राले प्रभावित गर्नु, सेवन गररहेको औषधि थपघट हुनुले पनि उनीहरुमा ‘साइड इफेक्ट’को सम्भावना बढेर जान्छ ।

त्यस्तै, हिजो एउटा रोगका लागि खाइरहेको औषधि भोलि अर्को रोगको कारक बन्न सक्छ । बढी मात्रामा औषधिको प्रयोगले कमजोर स्वास्थवस्था भएका व्यक्तिलाई झन् कमजोर बनाउनुका साथै उनीहरुको स्वास्थ्यमा थप समस्या उत्पन्न गराउँछ ।

यसबाट बच्न परिवार तथा चिकित्सकले बिरामीले सेवन गरिरहेको औषधि कस्तो हो ? त्यसले उनीहरुलाई असर गर्छ कि गर्दैन ? वृद्धवृद्धाको शरीरले त्यसलाई थेग्छ कि थेग्दैन भनेर जानेको खण्डमा मात्र पनि उनीहरुलाई धेरैखाले औषधीको प्रयोगबाट छुटकारा दिलाउन सकिन्छ ।

त्यसैगरी विरामीलाई औषधि खुवाउनुपूर्व उसले पहिले कस्तो औषधि सेवन गरेको थियो, उसलाई कुन-कुन रोगको समस्या छ भनेर पुरा विवरण लिएर मात्र नयाँ औषधि दिन जरुरी छ । जसको अभ्यास नेपालमा कमै मात्रामा भएको पाइन्छ । फलस्वरुप पोलीफार्मेसीको शिकार पछिल्लो समय वृद्धवृद्धा बन्दै गएका छन् ।

यसबाट बच्न सर्वप्रथम वृद्धवृद्धाको अवस्था तथा मनोभावना बुझेर मात्र उनीहरुलाई उपचार गर्न जरुरी छ । त्यसैगरी सम्भव भएसम्म वृद्धवृद्धालाई एउटै डाक्टरबाट मात्र उपचार गराउनु पर्दछ ।

बिरामीको रहनसहन, सरसफाइ, सामाजिक पृष्ठभुमि तथा रोगको अवस्था पहिचान गरेर मात्र उनीहरुको उपचार गरेको खण्डमा यस्ता समस्याबाट उनीहरुलाई सजिलै बचाउन र पोलिफार्मेसी बचाउन सकिन्छ ।

(जेरियाट्रिक मेडिसिन कन्सल्ट्यान्ट डा. क्षेत्रीसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment