Comments Add Comment

 ‘अन्धभक्त’ भएर ओलीको विरोध किन ?

KP Oli

केही समयदेखिको देशको राजनीतिक गतिरोध प्रधानमन्त्री केपी ओलीको राजिनामासँगै कोल्टे फेरिएको छ । देशभित्रकै त्यसमा पनि सत्तागठवन्धनकै सबैभन्दा ठूलो पार्टी नेकपा माओवादी केन्द्रले आफूले सरकारलाई दिएको साथबाट अल्ल्गीएको घोषणा गरेसँगै ओली सरकार ढलेको हो ।

सत्ता सम्हालेको नौ महिना पश्चात अनेकौ तिकडमहरुलाई पक्ष तथा विपक्षी द्वारा सार्थकतामा परिणत गर्दै सरकारबाट वाहिर धकेलिएका ओलीले देश र जनताका निमित्त विकास र समृदिको रेखा कोर्दै थिए, सपना देखाउँदै थिए । अत्यन्त कठिन परिस्थितिमा मुलुक सम्हाल्ने साहस गरेका ओलीले आफ्नो कार्यकालमा रास्ट्रियता र स्वाभिमानलाई काँही कतै लम्पसार पारेनन बरु जनताको साथ र सहयोगमा त्यसलाई अझै उचाइमा पुर्याउने काम गरे भन्दा अत्युक्ति नहोला ।

नाकाबन्दीको माध्यमबाट आफ्नो अनुकुलको नियम अथवा कानुन बनाउन मरिमेटेर लागेको भारत अन्ततः चट्टानी अडानसँग घुँडा टेक्यो भने सँगै नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने प्रजातन्त्रका पहरेदार भनाउँदाहरु समेत नतमस्तक बनेको कालान्तरसम्म कसैले भुल्ने छैनन् ।

हरेक मान्छेका आ-आफ्नै किसिमका स्वभावहरू हुन्छन, यस्तै स्वभाव ओलीमा पनि थियो जो सबैलाई जानकार रहेको छ । काम गर्ने सन्दर्भमा अभिव्यक्त ओलीका विचारहरु सँगै प्रवाह भएका उखान र टुक्काहरुले नेपाली राजनीति केहि समय सिनेमा क्षेत्र जस्तै भएको थियो । यही विषय उनको जरा काटनेहरुका लागि काफि पनि भयो तर न त ओलीले आफ्नो स्वभावमा परिवर्तन ल्याए न त ठेट उखान टुक्का भन्न नै छोडे अनि न त काम गर्ने लक्ष्यलाई चेतना भएर अचेतानामा बरबराउने जमातहरुको विरोधमा प्रभावित नै पारे ।

राजनीतिमा खडेरी लागिरहेका बेला देश र जनताका निमित्त काम गर्ने लक्ष्य र उद्देश्यलाई सफलिभुत सावित गर्नका निमित्त राजनीतिमा लाग्नु पनि एउटा समाजसेवा हो भन्ने कुरालाई उनले एकपछि अर्को गर्दै प्रमाणित गर्न थाले । चाहे त्यो धेरैलाई हाँस्यास्पद बनेको ग्याँस निकाल्ने काम होस अथवा हावाबाट विजुली निकाल्ने काम होस्, समुन्द्रमा भुपरिवेस्ठीत देशको अधिकारको प्रयोग गरेर पानी जहाज चलाउने योजना होस अथवा रेल कुदाउने नै किन नहोस् वा पेट्रोलियम खानी उत्खनन तथा अन्य अन्वेशण गर्ने काम ।

पक्कै पनि यी कामहरु सम्पन्न गर्न दीर्घकालीन समय लाग्दथ्यो, तर प्रक्रियागत रुपमा देखिनेगरी कामहरु खरायोको गतिमा शुरु हुन थालेसँगै केही तुइनहरु विस्थापित भए भने केही हटाउने काम आज पनि चालु छ । काठमाडौं-तराई जोड्ने द्रूतमार्ग भारतीयलाई दिने राष्ट्रघाती सम्झौता खारेज गरेर नेपालले नै बनाउने गरी प्रक्रिया अघि बढ्न थाल्यो, मृगौला रोगीलाई निःशुल्क डाईलाईसीस सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढ्न थाल्यो भने आगामी कार्ययोजनाका निमित्त बजेटले झनै जनमुखी कार्यक्रम प्रस्तुत गर्यो ।

जनतासम्म देखिनेगरी विकास र परिवर्तन ल्याउने किसिमको बजेटले यथास्थितिमा रमाउन चाहनेहरुलाई खपी नसक्नुको पिँडा भयो । जतिसुकै राम्रा कामहरु भएपनि विरोधीहरुले भएका र भैहाल्ने कामहरुलाई सस्तो लोकप्रीयता भनेर परिभाषीत गर्न थाले भने दिर्घकालिन कामहरुलाई दिउँसै देखेको सपना भनेर झ्याली पिटन थाले तर जति नै भ्रमको खेति गर्न खोजे पनि सरकारका कामहरु कार्यान्वयनमा देखिन थाले,जनताहरु ओली सरकार प्रति विश्वस्त हुने क्रम दिन दुइगुणा र रात चौगुणाले बढन थाल्यो ।

यस्तो माहोलमा टुलुटुलु भएका विकास र परिवर्तनलाई कैद बनाएर सँधै आफ्नो राजनीतिक अभिस्ट र स्वार्थ पुरा गर्नेहरु सरकारको कामलाई उखानटुक्का भनेर आलोचना गरेर मात्र नपुग्ने निश्कर्षमा पुगे । यदि नौ महिना नहुँदै प्रतिकुल परिस्थितिमा पनि अनुकुलता खोज्दै यतिका कामहरु अगाडि बढाउन सफल ओली सरकार आगामी चुनाव सम्म रहे यथास्थितिमा रमाउनेहरु अनि उग्र क्रान्तिकारितामा आफूलाई परिभाषित गर्नेहरु दुवैले आफ्नो भविष्य तिलमिलाउन सक्ने राष्ट्रघाती विशलेषण गर्न पुगे । के खोज्छस् काना आँखा भने झैँ नेपालको स्थायित्व र विकास कहिल्यै नचाहने भारतले यो विश्लेषणलाई भरमग्दुर उपयोग गर्दै थप मलजल गर्ने मौका पायो र १७ हजार नेपालीहरुको रगताम्मे लाशहरुमाथि उभिएको जनताको पार्टी भनेर उफ्रने माओवादी केन्द्र समेत स्थापनादेखि दिल्लीको निगाहामा चल्ने नेपाली कांग्रेसको पछ्यौरी समाउँदैलोकप्रीय बन्दै गरेकोसरकार गिराउनका निमित्त घुमाउरो गरी दिल्लीको शरणमा पुग्यो ।

Bharat-Shiwakoti
भरत शिवाकोटी

हुन त यहाँ कहिलेका १६ बुँदे अनि कहिलेका ९ बुँदे अनि कहिलेका भद्र सहमतिको रटान गर्नेहरु पनि कम छैनन । तर यी सबै प्रतिकुलतामा देखाउने अस्त्रहरू मात्र हुन, प्रधान कुरा चाँहि राजनीतिक सत्ता स्वार्थ मोह र भारतको चाहना नै हो । भद्र सहमति तथा अन्य समय-समयका समझदारीका विषयहरुमा पनि तर्क नै त गर्न सकिएला सँगै सरकारका गल्ति कमजोरीहरु पनि होलान् र छन् तर जुन कोशिसका साथ सरकार ढाल्नैपर्ने नजिर देखाइएको छ त्यो मिथ्या सावित भएको छ जो आफैमा तथ्यहिन प्रमाणित भैसकेको छ । किनभने आजपनि ओली सरकारले देश र जनताप्रति गरेका गल्तिहरु कसैले औंल्याउन सकेका छैनन्, यो नै अविश्वासको प्रस्तावलाई गलत भन्न सकिने बलियो प्रमाण हो ।

चाहे जे होस्, बजेटसँग आश्रित विधेयक सत्तामा जान आतुर गठबन्धनले  फेल गरे पश्चात ३ दिनसम्म अविश्वासको प्रस्तावमाथि संसदमा भएको दोहोरी जनताले राम्रै सँग नियाले । नेताहरुका अभिव्यक्ति कति तथ्यमा आधारित थिए, प्रधानमन्त्री सामु तेर्साइएका प्रश्नहरु कति गहकिला र यथार्थपरक थिए अनि आफुमाथि लागेका आरोपहरुलाई प्रधानमन्त्रीले कत्तिको चित्त बुझ्नेगरी जवाफ दिए, आम नेपालीहरुले हेरिसकेका छन, सुनिसकेका छन ।

संसदमा व्यक्त विचार र चित्रले  सत्य र यथार्थलाई धेरैथोरै पुस्टयाई गरेको छ,नेताहरुको अनुहार जनताले पढन पाएका छन । तरपनि सरकार ढाल्ने गठबन्धनधारिहरुलाई आज पनि जनताका अनेकौं प्रश्नहरु रहेका छन, जसको तथ्यपरक उत्तर न त कसैले दिएका छन, न कसैले दिने ल्याकत नै राख्छन, उत्तरहरु थाहा पाउन समयलाई नै पर्खनुपर्ने छ ।

२६ बर्षको ईतिहासमा पहिलोपटक नेपाली जनता सडकमा नै उत्रेर वर्तमान सरकारको नै निरन्तरता हुनुपर्छ भन्ने आवाज किन उर्लियो ? ओलीले देश र जनताका विपक्षिमा गरेका कामहरु के के हुन ? भारत र चिन भ्रमणमा जाँदा गरेका राष्ट्रियता विरोधी सन्धि र सम्झौताहरु के के हुन ? यी यावत सवालमा जनताले खोजेका उत्तरहरु दिने हिम्मत कसैमा छैन, छ त केवल वेतुक तर्क, जनता ढाँटने प्रवृति र सत्ताको रसस्वादन ।

यसो भनिरहदा पुर्वाग्रहको पट्टी बाँधनेहरुले, सत्य बोल्ने छाती हुन नसक्नेहरुले, स्वार्थमा कसैको डम्फु बजाउनेहरुले ओली भक्त वा ओलीको झोले भन्ने बिल्ला भिराउन सक्छन । विकास र परिवर्तनको पक्षमा उभिदा राष्ट्रियता र स्वाभिमानको पक्षमा उभिदा यदी ओली भक्त भन्न कोही चाहन्छन भने तिनीहरुले आफ्ना धमिला आँखाहरुमा पानी छ्यापेर हेरुन, यो देशमा आज ओली भक्तहरु कति छन् भनेर ।

यो देशमा २०४६ को परिवर्तन पश्चात नौ महिना वा त्यो समय भन्दा बढी संयुक्त सरकारको नेत्रित्व क-कसले गरे र कति समय सरकार सन्चालन गरेर देश र जनताका निमित्त के-के काम गरे ? अन्धभक्त भएर ओलीको विरोध गर्नेहरुले समीक्षा गरुन् ।

मुलुकमा कुनै कायापलट नभए अबको केही दिनमा नै कांग्रेस नेता रामचन्द्र पौडेलकै शब्दमा भन्नुपर्दा देशको निमित्त प्रधानमन्त्री बन्न लागेका प्रचण्डलाई निवर्तमान हुँदै गरेको सरकारले अघि सारेका दीर्घकालिन लक्ष्य र योजनाहरु कवाफमा हड्डी बन्ने निश्चित छ, हेरौं उनले यो हड्डीलाई निल्ने साहस गर्छन् वा ओकल्ने ? २-४ महिनामा देखिएला ।

– प्रवासबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment