Comments Add Comment

तीजमा खानपान र स्वास्थ्य

 

नेपाली समाजमा धेरै चाडपर्व छन् । हाम्रो सबैजसो चाडपर्वमा खानपान अभिन्न पाटोको रुपमा रहेको छ । चाडपर्वमा भेला हुने र खाने, खुवाउने चलनै छ । मीठो पाए अलि बढी खाइहाल्ने हामीमध्ये धेरैको बानी हुन्छ ।

Dr.-Milan-Prajkash-Shresthखाने क्रममा आज एकदिन त हो नि, यति खाएर के हुन्छ र, कति बार्नु जस्ता कुराले मन थाम्न नसक्ने धेरै देखिन्छन् । तर, त्यसरी खाँदा स्वास्थ्यमा नकारात्मक असर पनि पर्छ कि भन्ने कुरा धेरैले सोचेको पाइन्न ।

भदौ महिना लागेपछि त हामीकहाँ चाडपर्वको शृंखला नै सुरु हुन्छ । रमाइलो जमघटमा पाहुनाको सत्कार गर्न र कुनै भोजभतेर गर्न माछामासुलाई नै महत्व दिइन्छ । यस्तो लाग्छ, माछामासु बिना त भोजभतेरको कल्पनै गर्न सकिन्न । अर्कातिर, आफू अलि सम्पन्न छु भन्ने देखाउन पनि यस्ता कुरालाई प्राथमिकता दिएको पाइन्छ । अझ कतिपयले त विदेशी पेयपदार्थको पनि खोलै बगाउने गरेको देखिन्छ ।

यसरी खानु र खुवाउनु नराम्रो पक्कै होइन । तर, अनियन्त्रित खानपान, अत्यधिक बोसोयुक्त खाना,धूमपान, मद्यपान आदिले ग्याष्ट्रिक, अपच, कव्जियत, फूड प्वाइजन जस्ता असरहरु तत्कालै देखिन सक्छन् । यस्तै, वजन वृद्धि, रक्तचाप, रगतमा सुगर र कोलेष्ट्रोलको मात्रा बढ्न गई दीर्घकालीन रुपमा सुगर र मुटुरोग नै लाग्ने सम्भावना रहन्छ ।

माछामासु खाँदा के विचार गर्ने ?

शरीरलाई चाहिने प्रोटिनको मुख्य स्रोत भएकाले माछामासु खानु नराम्रो होइन । तर, हाम्रो चाडपर्वमा रातो मासुको खपत ज्यादा गरिन्छ । रातो मासु भन्नाले चारखुट्टेको मासु जनाउँछ भने सेतो मासु भन्नाले कुखुरा वा माछालाई जनाउँछ ।

हाम्रो समाजमा खसीको मासुको सेवनमा धेरैको ध्यान जान्छ । रातो मासुमा चिल्लोको मात्रा बढी हुने भए पनि  मासु पकाउन तेलको प्रयोग पनि बढी हुने गर्छ । रातो मासुको साटो सेतो मासुको प्रयोग गर्दा लाभदायक हुने कुरा थारैलाई मात्र थाहा छ । खसीको मासुको तुलनामा कुखुरा, माछा, अष्ट्रिज, इमु लगायतको सेवन फाइदाजनक हुन्छ ।

रातो मासुमा कोलस्ट्रोल र फ्याटी एसिड अत्यधिक हुने भएकाले स्वास्थ्यलाई बढी हानि गर्छ । यसले मुटु रोगीका लागि बढी हानिकारक हुन्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । रातो मासुमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । त्यसले रगतमा कोलस्ट्रोलको मात्रा बढाउँछ ।

छालाका साथै जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगलाई निम्तो दिन्छ । खसीबोका लगायतका जनावरको छालामा काटिएर रहेका रौं पनि रहने भएकाले छाला नभएको मासु खानु बढी स्वस्थकर हुन्छ ।

मासुका साथै यस्ता फ्याट दूधबाट बनेका परिकार, बेक गरिएका र बढी फ्राइ गरिएका कुरामा पनि पाइन्छ । अमेरिकन हार्ट एसोसिएसनका अनुसार, शरीरलाई चाहिने दैनिक क्यालोरीमध्ये स्याचुरेटेड फ्याटको मात्रा ५ देखि ६ प्रतिशतभन्दा बढी हुनुहुँदैन । स्वस्थ रहन स्याचुरेटेटड फ्याट बढी भएका खानाहरु नखानु नै वेश हुन्छ ।

स्याचुरेटेड फ्याटको तुलनामा मोनो अनस्याचुरेटेड फ्याट भएका ओलिभको तेल, बदामको तेल, तिलको तेल प्रयोग बढी लाभदायक हुन्छ । त्यसैले यस्ता तेललाई भुटनका रुपमा प्रयोग गर्न सके राम्रो हुन्छ । यस्तो फ्याटले रगतमा नराम्रो कोलस्ट्रोल बढ्न नदिने र राम्रो कोलस्ट्रोलको मात्रा बढाउने गर्छ । एभोक्याडो, पिनट बटर, आलसको गेडा लगायतमा यस्तो फ्याट बढी पाइन्छ । नरिवलको तेलमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुने हुँदा बढी प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

पोलि-अनस्याचुरेटेड फ्याटले पनि नराम्रो कोलस्ट्रोल घटाई राम्रो कोलस्ट्रोल बढाउन मद्दत गर्छ । सोयाबिनको तेल, मकैको तेल, सनफ्लावरको तेल आदिमा पाइने पोलि-अनस्याचुरेटेड फ्याटले शरीरलाई आवश्यक पर्ने भिटाभिन इ का साथै एन्टि अक्सिडेन्टको आवश्यकता पनि पूरा गर्छ । साथै, शरीरलाई चाहिने तर शरीरमा उत्पादन नहुने ओमेगा ३ तथा ओमेगा ६ फ्याटी एसिडको आवश्यकता पनि पूर्ति गराउँछ । मुटुरोग, रक्तचाप, प्यारालाइसिस लगायत रोगबाट टाढा रहन खानामा स्याचुरेटेड फ्याटको मात्रा कम र मोनो र पोलि (अनस्याचुरेटेड फ्याट) को मात्रा बढी हुनुपर्ने अमेरिकन हार्ट एसोसिएसनको सुझाव छ ।

बजारमा पाइने प्याकेटका धेरैजसो खाद्यपदार्थको खोलमा कम्पोजिसन भनेर लेखिएको पाइन्छ । अलिकति ध्यान दिने हो भने ती खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थहरु रहेछन् भनेर बुझ्न सकिन्छ ।

मसलाले खराब गर्न सक्छ

हाम्रा चाडपर्वमा तयार गरिने परिकारहरुमा मसलाको प्रयोग अत्यधिक हुने गर्छ । चाडबाडलाई नेपालीहरु अरु बेलाभन्दा पनि चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खाने विशेष समयको रुपमा लिन्छन् । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ ।

मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन । तिनीहरूको  मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्छ । बढी चिल्लो, अमिलो र पिरो खानेकुराका कारण ग्यास्ट्रिक, कोलस्ट्रोल, अपच, कब्जियत, फुड प्वाइजन जस्ता समस्या देखा पर्छन् ।

त्यसैले मसला, चिल्लो, पिरोको प्रयोग सकेसम्म कम गर्नुपर्छ । मासु कम सेवन गर्नु पनि जरुरी छ । यस्तै, मासु पकाउने विधिमा समेत विचार पुर्‍याउनुपर्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी मासु पकाउनु राम्रो हुन्छ । पहिले उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ । खानेकुराहरु त्यही दिन पकाएर त्यही दिन नै सक्नु राम्रो हुन्छ । बासी खानाले फूड प्वाइजनको सम्भावना बढाउँछ ।

धूमपान र पेय पदार्थ

चाडपर्वको बहानामा धेरै धूमपान र मद्यपान नगर्दा नै वेश हुन्छ । रोगी मान्छेले त झन् बिल्कुल गर्नु हुँदैन । धूमपानले मुटु र फोक्सोलाई हानि गर्छ भने मद्यपानले मुटुरोगको खतरा बढाउँछ । जथाभावी मद्यपान गर्दा सुगर र प्रेसरको समस्या बढ्न सक्छ । रक्सी, वाइन, बियर, जिन, लोकल, छ्याङ् जे भने पनि सबै रक्सी नै हुन् । खालि अल्कोहोलको मात्रा फरक हुने हो । शरीरको वजन बढाउन, रक्तचाप र रगतमा सुगरको मात्रा उच्च राख्न पनि यसको विशेष भूमिका हुन्छ ।

अर्कातिर, पाहुनाको स्वागत गर्दा सफ्ट ड्रिंक्सले गर्ने हाम्रो संस्कार नै बनिसकेको छ । तर, यस्ता ड्रिंक्सहरुमा अत्यधिक रुपमा रहने गुलियो पदार्थको सेवन स्वास्थ्यको लागि घातक हुन सक्छ । सुगर रोगीका लागि कोल्ड ड्रिंक्स, आइसक्रिम, मह, जाम, केक लगायत हानिकारक हुन्छ । सुगरका साथै प्रेसर र मुटुका बिरामीलाई समेत यसले फाइदा गर्दैन ।  यस्ता कुराको साटो सादा पानीको सेवन गर्नु नै बुद्धिमानी हुन्छ ।

चाडपर्वमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै खानुपर्छ । शाकाहारी भोजन स्वास्थ्यको लागि राम्रो हुन्छ । तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन । उच्च फाइबरयुक्त खाना गहुँ, गेडागुडी, हरियो सागपातले मुटुलाई फाइदा गर्छ यस्तै, फापर, कोदो, जौ, मकै लगायतले पनि मुटुलाई फाइदा पुर्‍याउँछ । मासु खाए पनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रुपमा खानुपर्छ ।

सकेसम्म शाकाहारीमा जोड दिनुस्, व्यायाम गर्नुस्, मज्जाले नाच्नुस् ।  व्यायाम गर्ने, नियमित रुपमा हिँडडुल गर्ने र सक्रिय काममा सहभागी हुने गरेमा खाना पचाउन सहयोग पुग्छ नै, शरीरमा स्फूर्ति पनि बढ्छ ।

तीजमा महिला दिदीबहिनीहरु नाचेर पनि रमाउँछन् । नाच्नु राम्रो शारीरिक व्यायाम पनि हो । जति बढी खानुहुन्छ, त्यति नै बढी नाच्नुस् ।

आफ्नो उँचाइ र वजनको पनि ख्याल गर्नुहोस् । उँचाइ अनुसार हुनुपर्ने भन्दा वजन बढी हुँदै गएमा मुटुरोग, सुगर, रक्तचाप हुने सम्भावना बढ्दै जान्छ । त्यसैले चाडपर्वभन्दा अगाडि र पछि वजन नाप्ने बानी बसाल्नाले समयमै सचेत हुन सहयोग गर्छ ।

सम्पूर्ण नेपाली दिदीबहिनीमा तीजको शुभकामना ! स्वस्थ खानुस्, स्वस्थ रहनुस् ।

(डा. श्रेष्ठ ग्राण्डी इन्टरनेशनल हस्पिटल, काठमाडौंका कार्डियोलोजिष्ट हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment