Comments Add Comment

प्रधानमन्त्रीको चेतावनीः भूकम्पपीडितलाई हेलिकप्टरमा पैसा बाँड्नु नपरोस्

Pm-Prachanda

२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प पीडितलार्इ दिइने अनुदान रकम छिटो वितरण गर्न पुनःनिर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् ।

व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा उनले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि प्रदान गर्ने अनुदानमा एक लाख वृद्धि गरिने बताए ।

सुशील कोइराला नेतृत्वको सरकारले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि रु दुई लाख अनुदान दिने निर्णय गरेको थियो । सरकारले यो रकममा वृद्धि गरी तीन लाख पुर्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले भने, यही हप्ताभित्र भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि रु एक लाख थप गर्ने निर्णय गर्न लागेको म जानकारी गराउन चाहन्छु ।’

बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् निर्णयको कार्यान्वयनलाई आफूले दैनिक रुपमा मुख्य सचिवमार्फत अनुगमन गरिरहेको बताए । उनले भने, ४५ दिनभित्र पहिलो किस्ताबापतको रकम भूकम्पपीडितलाई वितरण गर्न मैले पटक पटक प्राधिकरणलाई निर्देशन दिएको छु । यसमा आलटाल हुन्छ भने म हेलिकप्टरमा पैसा राखेर वितरण गर्ने कार्यमा लाग्नेछु । यस्तो दिन आउन नदिनुहोस् ।’

भदौ महिनाभित्र निर्वाचनको तयारी पूरा हुने  

प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलोका रुपमा रहेको निर्वाचन सम्पन्न गर्न आवश्यक प्राविधिक, कानुनी तथा राजनीतिक सहमतिको वातावरण भदौ महिनाभित्र बनिसक्ने जानकारी दिए ।

यसका लागि उच्च राजनीतिक तहमा छलफल भइरहेको उनले बताए । ‘स्थानीय तहको निर्वाचनका लागि मैले निर्वाचन आयोग, राजनीतिक नेतृत्वमा छलफल चलाइसकेको छु, छिट्टै सहमतिमा पुगिन्छ, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

आफूले भदौ ३० गतेदेखि छिमेकी देश भारतको भ्रमण गर्ने भन्दै उनले भ्रमणका क्रममा हुलाकी सडकका बारेमा कुराकानी हुने बताए ।

सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न सो बैठकले भूकम्पपीडित जनताको सुनुवाइ गर्न, भूकम्पपीडित सुकुम्बासी तथा ऐलानी जग्गामा बस्दैआएकाको समस्या १५ दिनभित्र सम्बोधन गर्न, पुनःनिर्माणमा आर्थिक अभाव हुन नदिन, भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न निर्माण सामग्री बैंक स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment