Comments Add Comment

रुस-अमेरिका तनावः परमाणु सम्झौता तोडिएपछि दोस्रो शीतयुद्धको संकेत

Putin-and-obama

१८ असोज, काठमाडौं । रुसले अमेरिकासँग परमाणु सम्झौता तोडेककै दिन सोमबार अमेरिकाले सिरयाको विषयमा रुससँग वार्ता नगर्ने घोषणा गरेको छ । दुई देशवीच बढेको यो तनावलाई दोस्रो शीतयुद्धका रुपमा हेर्न थालिएको छ । यसैक्रममा मंगलबार संयुक्त राष्ट्र संघले सिरियामा अमानवीय सैन्य प्रहार रोक्न रुसलाई चेतावनी दिएको छ ।

अन्तरराष्ट्रिय मामिलाका जानकारहरुका अनुसार परमाणु शक्तिसम्पन्न दुई ठूला देशवीच बढेको यो तनावले सिंगै विश्वलाई खतरामा पार्न सक्छ ।

के थियो परमाणु सम्झौता ?

प्राकृतिक संसाधनबाट प्राप्त हुने युरेनियमलाई प्रशोधन गरेर प्लुटोनियम बनाइन्छ , जसको प्रयोग परमाणु हतियारमा गरिन्छ । पूरै संसारमा करिब १६ सय टन युरेनियमको भण्डारण रहेको अनुमान छ । यसमा बढीजसो युरेनियम परमाणु हतियार राख्ने देशहरुसँग छ, जसमध्ये सबैभन्दा धेरै रुससँग छ ।

सन् २०००मा दुबै देशवीच भएको परमाणु सम्झौताअनुसार आफ्नो भण्डारमा रहेको प्युटोनियम कमसेकम ३४-३४ टन आ-आफ्नो संयन्त्रमार्फत नष्ट गर्ने उल्लेख थियो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार नष्ट गर्ने भनिएको ६८ टन प्लुटोनियम १७ हजार परमाणु हतियार बनाउनका लागि पर्याप्त हुन्छ । दुवै देशवीचको यो सम्झौता परमाणु क्षमतालाई घटाउन एवं परमाणु हतियार चरमपन्थी गुटको पहुँचबाट बचाउनका लागि भएको थियो । सन् २०१० मा यो सम्झौतामाथि दोस्रोपटक हस्ताक्षर गरिएको थियो ।

रुसले सम्झौता किन निलम्बन गर्‍यो ?

यसैवर्षको अप्रिलमा रुसले भनेको थियो कि अमेरिकाले जुन प्रकारले प्लुटोनियम नष्ट गरिरहेको थियो, त्यसलाई फेरि फर्काएर परमाणु हतियारमा प्रयोग गर्न सकिन्छ ।

तथापि अमेरिकारले रुसको यो आरोपलाई इन्कार गर्दै भनेको छ कि नष्ट गर्ने यो तरिका सम्झौताको उल्लंघन होइन ।

अमेरिका-रुस मामिलाका जानकार एवं जवाहरलाल नेहरु विश्वविद्यालयकी प्रोफेसर अनुराधा चेनाईका अनुसार सन् २०१४ मा युक्रेनबाट क्रिमिया अलग भएपछि अमेरिका र युरोपेली संघद्वारा रुसविरुद्ध लगाएका केही प्रतिबन्धहरु अहिलको तनावको एउटा कारण हो । उनी भन्छिन्- रुसलाई चोट लाग्यो, त्यसैले अब ऊ बदलाको कारवाहीस्वरुप यसो गरिरहेको छ ।

रुसले दोस्रोपटक सम्झौता लागू गर्नका लागि अमेरिकाका लागि केही शर्तसमेत राखेको थियो, जसमा सन् २००० सेप्टेम्बरपछि सैन्य गठबन्धन नेटोमा जोडिने देशमा अमेरिकाको शक्ति कम गर्ने र रुसमाथिका सबै प्रतिबन्ध हटाउने विषयसमेत सामेल थियो ।

रुस-अमेरिका सम्बन्धमा खटपट किन आयो ?

पछिल्लो समय सिरियामा रुस र सिरयाली सेनाको हमला तीब्र भएपछि अमेरिका र रुसवीच तनाव बढ्यो । र, अमेरिकाले सिरिया युद्धमा रुससँगको वार्तालाप निलम्बित गरिदियो ।

दुबै देशवीच यस्तो सम्झौता भएको थियो, जसअनुसार सिरियामा युद्धविराम लागू हुनुपर्ने थियो । र, यो सफल हुने स्थितिमा अमेरिका र रुस दुबै जेहादीहरुमाथि निशाना बनाउनका लागि संयुक्त सैन्य सेल बनाउन सहमत भएका थिए ।

अमेरिकाले सिरिया र रुसमाथि नागरिक, अस्पताल र मानवीय सहयता संगठनमाथि निशाना बनाएर आक्रमण बढाएको आरोप लगाएको छ । राष्ट्र संघले पनि रुसमाथि यही आरोप लगाइरहेको छ ।

उता,रुसका विदेशमन्त्री सेर्गेई लावरोवले यसअघि नै बीबीसीलाई भनेका थिए कि सिरियाका राष्ट्रपति बसर अल असदलाई अपदस्थ गर्ने कोशिशका लागि अमेरिकाले एउटा जेहादी समूहलाई बचाइरहेको छ ।

के यसले दोस्रो शीतयुद्धतर्फ लान्छ ?

प्रोफेसर चेनाईका अनुसार सिरियामा रुस र अमेरिकावीचको तनाव अब छद्म युद्धका रुपमा देखा पर्न थालेको छ, जहाँ दुबै देशले एक-अर्काकाथि आरोप लगाइरहेका छन् । उनी भन्छिन्- यसलाई दोस्रो शीतयुद्ध त भन्न सकिँदैन, किनकि त्यसबेलाको अवस्था बेग्लै थियो । तर, स्थिति धेरै डरलाग्दो छ र नयाँ रुपको शीतयुद्धबाट आर्थिक मन्दीसँग जुधिरहेको विश्वलाई नोक्सानी पुग्न सक्छ ।

शीतयुद्धका बेला अमेरिका पुँजीवादी देश थियो र रुस साम्यवादी । अब दुबै देश पुँजीवादी भएका छन् र विश्वको केही हिस्सामा दुबैका आर्थिक र सामरिक सरोकारहरु छन् ।

परमाणु सम्झौता निलम्बित गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि आरोपसमेत लगाएका छन् कि रुससँग अमित्रतापूर्ण कदम उठाएर अमेरिकाले सामरिक स्थिरतामाथि खतरा पैदा गरिदिएको छ ।

प्रोफेसर चेनाइ भन्छिन्-कुनै तेस्रो शक्तिको कमीका कारण यो द्वीपक्षीय तनाव अरु बढेको छ र यसलाई समाधान गर्नका लागि संसारमा अन्य मुलुकहरु चाँडै साथमा आउन जरुरी छ ।

(दिल्लीस्थित बीबीसी सम्वाददाता दिव्या आर्यको विश्लेषणमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment