Comments Add Comment

उपेन्द्र सुब्बाको कथा : ससुराली

upendra subba
उपेन्द्र सुब्बा

चुङ्चिवा खोला तरेर आधा घण्टा उकालो हिँडेपछि खोक्सुङले चौतारीमा आफ्नो झोला बिसायो र पारि आफ्नो गाउँ हेर्‍यो । उसले टार खेतमाथिको आफ्नो घर ठम्यायो ।

चुन र टिनले टल्केको तीनधुरे घर, क्याप्टेन हर्केजङले अट्ठाइस सालमा यो घर बनाएपछि क्याप्टेनको नामै फेरियो ‘ठूलाघरे क्याप्टेन’ । गाउँमा इन्डियन, मलाया, हङकङका अरु पनि क्याप्टेन ल्याप्टेनहरु थिए तर सबैको भन्दा ठूलो घर यही थियो ।

खोक्सुङले झोलाबाट चौंठो निकाल्यो । छेउमै भएको भोकटेको पात टिपेर दुना जस्तो बनायो अनि रक्सी सारेर स्वाट्टै पार्‍यो ।

‘बिहे गर्दिनँ’ भन्दै खोक्सुङ सात दिन सात रात रोएको थियो तर क्याप्टेनको अघि उसको केही सीप चलेन । उमेरले आफूभन्दा चार वर्ष जेठी बाउकै नम्बरीकी छोरीसँग धुमधामले बिहे भयो उसको

दौराको फेरोले मुख पुछेर एक पटक सुसेली हाल्यो । मन्द बतास पनि त्यहीबेला चल्यो, निधारको पसिना थोरै सुक्यो । खोक्सुङ झोला टिपेर लाग्यो उकालो ।

खोक्सुङ आज जोडतोडले हिँडेर रात-साँझ ससुराली पुग्नेछ…

दश वर्षअघि बिहे हुँदा खोक्सुङ मात्र चौध वर्षको थियो । ‘बिहे गर्दिनँ’ भन्दै खोक्सुङ सात दिन सात रात रोएको थियो तर क्याप्टेनको अघि उसको केही सीप चलेन । उमेरले आफूभन्दा चार वर्ष जेठी बाउकै नम्बरीकी छोरीसँग धुमधामले बिहे भयो उसको । यो अवधिमा थुप्रै घटनाहरु भयो । सबभन्दा ठूलो घटना त ठूलाघरे क्याप्टेन जै बिते । खोक्सुङका दुई दिदीहरुले सुखले कुटुम्बरघर गरिखाएका छन् तर उसकीले भने के खोजेकी हो कुन्नि ? फकाईफुल्याई गरिल्यायो, भागेर माइत पुगिजान्छे ।

गरेर खानलाई क्याप्टेनले प्रशस्तै खेतबारी जोडिएदिएका छन् । क्याप्टेन्नीले पनि बुहारीलाई नराम्रो गरेको होइन । बुहारीलाई पल्टनबाट ल्याएको स्लिकको साडी, टाटनको बर्को दिएकै हुन्, नौगेडी-शिरफूल, गहनापात शिर्जन्तै दिएकै हुन् तर बुहारी भने हप्ता दिनभन्दा बढी घर अडिन्न । भन्नेहरुले के के थोकसम्म भने खोक्सुङलाई !कति साथीभाइले त कसरी सुरु गर्ने ? लक कसरी लगाउने ? भन्नेसम्मका आइडिया दिन पनि भ्याइसकेका थिए ।

खोक्सुङ आज स्वास्नी लिन सातौं पटक ससुरात जाँदै छ । उसले सोचेको छ- यो अन्तिम हो, उप्रान्त जाने छैन…

बल्ल उकालो सकियो । खोक्सुङले अनुहारको पसिना पुछ्दै लामो श्वास फेर्‍यो र आफू आएको बाटोतिर हेर्‍यो ।तलको खोला धर्सो जस्तो मात्र देख्यो । अलिक मास्तिर फच्याकफुचुक परेका घरहरु । अबको बाटो तेर्सैतेर्सो मात्र भन्ने सोच्दा खोक्सुङको मन फुरुङ्ग भयो । बाटोछेउ चौरमा झोला बिसाएर उत्तानो पल्ट्यो ।

उज्यालोमै ससुराल पुग्न खोक्सुङलाई मन पर्दैन । बाटोमा अनेक मान्छे भेटिन्छन् । कति ढोग्नुपर्ने भेटिन्छन्, कति साली-भदैनीहरु भेटिन्छन् । साली-भदैनीहरु इत्रिएर लाजै पार्छन् । खोक्सुङले झोलाबाट चौंठो निकाल्यो र ठाडो घाँटी लगायो । तीन घुड्को लगाएपछि ‘आ…’ गर्दै मुख मिठ्यायो । झोला बोकेर ससुरालको बाटो हेर्‍यो- तेर्सैतेर्सो, डाँडैडाँडा, लेकैलेक । त्यहीँबाट अलिकति ओरालो झरेपछि पुगिन्छ ससुराली ।

खोक्सुङ बाटो लाग्यो । एक्लै बाटोमा हिँड्दा स्वास्नीसँग बिताएका केही अविष्मरणीय क्षणहरुको सम्झना आउन थाल्यो…

तेस्रो दशैंको रित बुझाएर खोक्सुङले स्वास्नी घर ल्याएको थियो । बोलचाल थिएन । आफ्नो मजेत्रो मात्र ओढेर स्वास्नी गुन्द्री ओछ्याएर भुइँमा सुत्थी । एक रात जाडोले निदाउनै नसकेपछि खोक्सुङकी स्वास्नीले आधा रातमै उठेर आँगनमा खरेटो लगाई, घरका भाँडाकुँडा धोई । तै पनि उज्यालो भएन । कोठामा आई । जाडोले लगलग काम्दै बसी । विरहमा पालम गाई । के सुरमा हो बोलिपठाई- ‘ए…, म दुःखियाको सुर्ती पनि सकिएछ … ।’

खोक्सुङ निदाएको थिएन । सिरानीमा राखेको सुर्तीको पोका स्वास्नीतिर फालिदियो । स्वास्नीले भनी, ‘ए…, धर्मै भयो ।’

बल गरेर थोरै स्वास्नीतिर सर्‍यो । उसलाई स्वास्नीको जीउबाट तातो राप आइरहेको जस्तो लाग्यो । उसले आँट गरेर स्वास्नीतिर हात बढाउन मात्र के खोजेको थियो, स्वास्नीले कोखामै एक घुस्सी मारी

स्वास्नीले सुर्ती बेरेर खाइसकी । अहँ, अझै उज्यालो भएन । बिहान झन् झन् चिसो बढ्दै गएपछि बिस्तारै आएर खोक्सुङ सुतेको खाटमा बसी । एकछिनपछि त्यही छेउमा ढल्किई । खोक्सुङको उसै घाँटी सुकेर आयो । आँट कसेर ओढेको सिरक स्वास्नीतिर फालिदियो । स्वास्नीले थोरै सिरक तानेर खुट्टासम्म छोपी ।

खोक्सुङको सास बढेर आयो, त्यस्तो जाडोमा पनि उसको निधारभरि चिटचिट पसिना आयो । सुकेको घाँटी थुकले भिजाउन खोज्यो, थुक निल्न सकेन । बल गरेर थोरै स्वास्नीतिर सर्‍यो । उसलाई स्वास्नीको जीउबाट तातो राप आइरहेको जस्तो लाग्यो । उसले आँट गरेर स्वास्नीतिर हात बढाउन मात्र के खोजेको थियो, स्वास्नीले कोखामै एक घुस्सी मारी । खोक्सुङ हल न चल भयो ।

स्वास्नी खाटबाट उठेर हिँडी । बिहान हुनेबेला खोक्सुङ भुसुक्कै निदायो । बिहान उठ्दा स्वास्नी घरमा थिइन । ऊ पहिलो पटक भागेकी स्वास्नी लिन ससुराल गयो । सासू-ससुराले आफ्नो छोरीलाई सम्झाएर, बुझाएर घर फर्काउने भए तर फर्किने दिन स्वास्नी घरमा छैन । खोधिखोजी गर्दा थाहा भयो- स्वास्नी त भागेर मावली पुगिछे । खोक्सुङ एक्लै घर फर्क्यो ।

त्यसपछि-

खोक्सुङक बाबु खस्ता मात्रै स्वास्नी घर आई । कार्जे सकेर कुल-कुटुम्ब सबै गएपछि घरमा आमा, खोक्सुङ र स्वास्नी मात्र रहे । एक रात खोक्सुङले आँट कस्यो- अब साथीभाइले भने जस्तै नगरी भएन । ऊ हिंस्रक आक्रमणमा उत्रियो तर कसोकसो कर नपरिरहेको मौका पारेर स्वास्नीले छातीमा जोर लात हानी । खोक्सुङ उछिट्टिएर कुनामा पछारियो । कुनामा ओथारो बसेको कुखुरा तर्सेर कराउँदै बाहिर निस्क्यो । घरभित्र सुतेकी आमा स्याल आएको भन्ठानेर हातमा अगुल्टो लिएर कराउँदै बाहिर निस्किइन् । त्यही मौकामा स्वास्नीले चम्पट हानिछे ।

खासमा खोक्सुङ आमाको करले मात्र स्वास्नी लिन जाँदै छ । उसलाई यो स्वास्नीले घर गरी खान्छ भन्ने फिटिक्कै विश्वास छैन । पल्टनमै सम्धि बोलेका बाउ पनि अब छैनन् । आमाले ‘बाउको वचन त राख्’ भनेकाले मात्र ऊ अन्तिम पटक ससुराल जाँदै छ ।

०००

खोक्सुङ ससुराल पुग्दा सासूआमा बाहिर सिकुमामै भेटिइन् । ज्वाइँलाई देख्नासाथ घरभित्र मुन्टो घुमाएर कराइन्, ‘कान्छी बाहिर निस्की ।’

खोक्सुङले सासूआमालाई ढोग्यो ।

खोक्सुङले शिरदेखि पाइतालासम्म सालीलार्इ एकखेप हेर्‍यो । अस्तिमको फुच्ची केटीमा अचम्मैको आकर्षण देख्यो तर केही नबोली मुस्कुरायो मात्र

‘ए, भेना पो !’ कान्छी सालीले सेवारी गरी । हतार-हतार खाटमा राढी ओछ्याउँदै साली हुनाको मजाक थपिहाली, ‘हाओ भेना ! तपाईं त ससुराल आउनै पो छोड्नुभो त ? दिदीले साह्रै पो चित्त दुखाइदियो कि ? दिदीको सट्टा कि मैं पो जाऊँ हाउ ?’

खोक्सुङले शिरदेखि पाइतालासम्म सालीलार्इ एकखेप हेर्‍यो । अस्तिमको फुच्ची केटीमा अचम्मैको आकर्षण देख्यो तर केही नबोली मुस्कुरायो मात्र । पानीको गाग्रो बोकेर आउँदै गरेकी स्वास्नीले पिँढीनेर आइपुग्दा खोक्सुङलाई देखी । बहिनीले दिदीको डोको समाई । गाग्री निकालेर खुट्टा बजार्दै स्वास्नी घरभित्र गएको खोक्सुङले हेरेन । त्यहीबेला सासूआमाले कान्छीलाघ कराइन्, ‘फतरफतर के बोलिबसेको ? भेनालाई भित्र बोला ।’

सालीले ‘लु भेना भित्र जाऊँ’ भनेको खोक्सुङलाई बडो अच्छा लाग्यो । ऊ भित्र के पस्यो, स्वास्नी चाहिँ फुत्तै बाहिर निस्किई । सासूआमाले सम्धिनीको सन्चोबिसन्चो सोध्दै गर्दा आइपुगेका ससुराबाले दैलोमै उभिएर सोधे, ‘को हाओ यो रुखको ठूटा जस्तो ?’

‘बाउ म पो,’ खोक्सुङले ससुराबा उभिएकै ठाउँमा गएर खुट्टामै ढोग्यो ।

‘ए नाक्चीको पोइ पो !’ ससुराबाले कम्मरमा बाँधेको खुकुरी खोलेर मूल खाँबोको काँटीमा झुण्ड्याए । त्यसपछि खाटमा उपरखुट्टी लाउँदै सोधे, ‘अनि किन पो आइस् त ?’

‘हजुरको सम्धिनीले बुहारी लिन पठाएर पो,’खोक्सुङले सानो स्वरमा भन्यो ।

‘तेरो स्वास्नी हो, आफैं फकाएर लैजा,’ ससुराबाले कुरा सके ।

‘भेना !राति डर लाग्छ भने भन्नू है ! म साथ दिन आउँछु ।’ खाटमा ओछ्यान लगाइदिँदै सालीले भनी ।
‘ल ।’

सालीले किनामा भुट्नलाई डढाएको खुर्सानीले खोक्सुङ नराम्ररी सर्कियो । ऊ नाकमुख छोपेर खोक्दै सिकुवामा निस्कियो । खाटमा बसेकी स्वास्नी फुत्त भित्र पसी ।

खाना खाएर खोक्सुङ बाहिर खाटमा बसिरहेको थियो, स्वास्नी र साली जूठा भाँडाकुँडा लिएर निस्किए । खोक्सुङलाई लाग्यो- मौका यही हो स्वास्नीसँग कुरा गर्ने । आजसम्म उसले स्वास्नीसँग दोहोरो बात मारेकै थिएन । छेउमा पुगेर उसले भन्यो, ‘घर गरिखाने हो भने भोलि घर हिँड्, होइन भने…’

खोक्सुङले पूरा कुरा सुन्नै नपाई स्वास्नीले हातको भाँडा पछारी र घरभित्र पसी ।

‘छि: भेना तपाईं त !बूढी फकाउन पनि नजान्ने !’ सालीले खितिति गरेर हाँसिदिई ।

खासमा खोक्सुङले पनि त्यसै भन्न चाहेको चाहिँ थिएन । उसले राम्ररी नै फकाउनु चाहेको थियो तर भन्दा त्यसै भनिपठायो । आफ्नो कुरै नसुनी स्वास्नी फन्केर हिँडेकोमा खोक्सुङको चित्त दुख्यो, रिस पनि उठ्यो ।

सालीले एक्लै धन्दा सकी । स्वास्नी बाहिर निस्किँदा पनि निस्किइन ।

‘भेना !राति डर लाग्छ भने भन्नू है ! म साथ दिन आउँछु ।’

खाटमा ओछ्यान लगाइदिँदै सालीले भनी ।

‘ल ।’

‘नसुती पर्खिनु है त ।’ सालीले आँखा पनि सन्काइदिई ।

खोक्सुङ हेरेकोहेर्‍यै भयो ।

सालीले भित्र पसेर ढोकामा आग्लो लगाएपछि खोक्सुङ सिरक ओढेर ओछ्यानमा ढल्क्यो । जुनेली रात थियो । गाउँका कुकुरहरु भुकेको सुनेर ससुराली घरको कुकुर पनि भुक्न थाल्यो । स्वास्नीको बारे मनमा अनेक कुरा खेलाउँदै, ओल्टोकोल्टो गर्दागर्दै खोक्सुङ आधा रात कट्नै लागेको बेला भित्रबाट ढाका खोलियो । खोक्सुङ तर्सियो तर मस्त निदाए जस्तो नाटक गर्‍यो ।

मनमा झिलिक्क लोभ आयो- ‘साली त होइन ?’ उसले सिरकलाई उचालेर हेर्‍यो । होइन, स्वास्नी चाहिँ रहिछ । ऊ चाल मारेर उठ्यो र बिस्तारै स्वास्नीको पिछा लाग्यो । स्वास्नी सुँगुरको खोर पछाडि पिसाब फेर्न बसी । खोक्सुङ त्यहीँ पुग्यो ।  स्वास्नी तर्सेर उठी ।

खोक्सुङले पाखुरामा च्याप्प समातेर आफूतिर तान्यो । स्वास्नीले फुत्कनका लागि सक्दो बल गरी, खोक्सुङले झनै कसिलो गरी कस्दै ल्यायो । केही छिनपछि स्वास्नीले बल गर्न छोडी । अब खोक्सुङले मनमौजी गर्न थाल्यो । गाउँभरिका कुकुरहरु उसै गरी भुकिरहेका थिए । ससुराली घरको कुकुर भने खोइ किन हो ? चुप थियो ।

बिहान साली आँगनमा खरेटो लाउँदै गर्दा खोक्सुङ ससुरालको नयाँ ओख्ली नियाल्दै थियो ।

‘के पो हेर्नुभो भेना त्यति साह्रो ?’ सालीले सोधी, ‘हाम्रो लेकमा धान कुटी खानु छैन क्यारे । यसो किनामा बनाई खानुलाई बनाको ।’

‘ओए कान्छी, ज्वाइँलाई गोरु फुकाइ दे !तल तोरीबारी जोतोस् ।’ पिँढीमा उभिएका ससुराबाले आदेश दिए ।

‘कान्छी, भेनालाई भित्र ले ! खाजा खाएर जानू !’ घरभित्रबाट सासूआमाले भनिन् ।

खोक्सुङ भित्र पस्दा स्वास्नी जाँड छान्दै थिई । रातिको हर्कत सम्झेर उसलाई लाज र डर दुवै भयो ।

‘उसै त भागिहिँड्ने, अब त झन् के मान्ली र घर जान । गोरु नारिराखेर उतैउतै धाईफाल दिनुपर्ला । भुत्रा गर्नु ससुरालीको काम ?अर्कै केटी ल्याइन्छ । साले झ्याइँ झ्याइँ बिहे गरिन्छ…’ यस्तै के के सोच्दै गर्दा खोक्सुङको अगाडि सालीले जाँड राखिदिई ।

खोक्सुङले शङ्का मान्दै डबमा उठायो । सोच्यो- ‘अमिलो होला पक्कै । यसले मलाई भगाउने जाँड बनाएको हुनुपर्छ ।’

एक सुरुप जाँड तानेपछि खोक्सुङ छक्कै पर्‍यो । उसले आजसम्म ससुराल घरमा यति मीठो जाँड पाएकै थिएन । सासै नफेरी डबका रित्यायो । सालीले तीन खेप थपेपछि बल्ल उठ्यो । खोक्सुङ जाँडले रमरम भएर आँगनमा निस्किँदा स्वास्नीले हल्लुँड जोतारो दिँदै भनी, ‘छिटो गरेर आउनू है ! घर जानु ढिलो हुन्छ ।’

अचम्म !

विश्वास नलागेर खोक्सुङले स्वास्नीलाई पुलुक्क हेर्‍यो । स्वास्नी रातीपिरी भएर लजाउँदै भित्रतिर गई । खोक्सुङले रातिको कुरा सम्झ्यो । फिस्स हाँसेर लाग्यो बारीतिर छिटोछिटो ।

(फिनिक्स बुक्सद्वारा प्रकाशित लाटो पहाड कथासङ्ग्रहबाट साभार गरिएको ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment