Comments Add Comment

लोकमानबारे माओवादीभित्र धुकचुक धुकचुक !

maoist-hq-meeting

४ कात्तिक, काठमाडौं । लोकमानसिंह कार्कीविरुद्ध बुधबार साँझ संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि हामीले विहीबार माओवादी केन्द्रका केही नेतालाई यसको रहस्यबारे सोध्यौं ।

नाम उल्लेख नगर्ने शर्तमा कुराकानी गर्न तयार भएका उनीहरुभित्र महाअभियोगको प्रश्नमा केही धुकचुक देखियो ।

विहीबार लाजिम्पाटमा माओवादी हेडक्वार्टरको बैठक सकेर बाहिरिएका पूर्ववैद्य समूहका एक नेतालाई हामीले सोध्यौं, ‘लोकमानसिंहलाई महाअभियोग लगाउने प्रस्ताव तपाईहरुकै पहलमा अघि बढेको देखिन्छ, यस्तो प्रस्ताव ल्याउनुको कारण के हो ?’

उनले यो प्रश्नको जवाफमा विगतको स्मरण गरे । मोहन वैद्य र आफूहरुले त्यतिबेलै लोकमानलाई अख्तियार प्रमुख नबनाउन प्रचण्ड र बाबुरामलाई भनेको उनले स्मरण गरे । ‘त्यसबेलै हामीले लोकमानलाई नियुक्त नगरौं, यो मानिस पछि घाँडो हुन्छ भनेका थियौं, तर उहाँहरुले गर्नुभयो ।’

तर, अहिले लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव आएकोमा चाहिँ पूर्व वैद्यसमूहका ती माओवादी नेताले स्पष्टसँग केही बताउन सकेनन् । उनले भने-‘यो विषय अहिले अदालतमा विचाराधीन छ, कि पहिल्यै यस्तो प्रस्ताव ल्याउनुपथ्र्यो । अदालतमा विचाराधीन विषयमा संसदले प्रस्ताव ल्याएको छ, यस्तो बेलामा विधि र पद्दतिलाई पनि विचार गर्नुपर्ने हुन्छ ।’

त्यसैगरी पूर्वमन्त्रीसमेत रहेका अर्का माओवादी नेतालाई हामीले सोध्यौं, लोकमानलाई महाअभियोग लगाउनेबारे तपाईहरुकै सांसद प्रस्तावक भएर प्रस्ताव दर्ता गरिएको छ, अब उनलाई हटाउनेबारे पार्टी अगाडि बढिसकेको हो कि पछाडि फर्किने सम्भावना छ ?

यो प्रश्नको जवाफ दिन ती माओवादी नेतासमेत अन्कनाए । सांसदसमेत रहेका उनले भने- ‘यस विषयमा अहिल्यै टुंगो लागिसकेको छैन, हामी अझै पनि छलफलमै छौं, टुंगो लागिसकेपछि भनौंला ।’

तर, माओवादीको पदाधिकारी तहका एक नेताले भने लोकमानविरुद्ध फायर खोलिसकेको अवस्थामा अब पार्टी पछि र्फकन नसक्ने बताए । उनले भने- ‘हामीले फायर खोलिसक्यौं, यो बेलामा अल्मिलिने र पछाडि फर्किने हो भने माओवादी पार्टी बदनाम हुन्छ, जनमत हाम्रो विरुद्धमा जान्छ, त्यसैले यो विषयमा माओवादी अब पछाडि जान सक्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment