Comments Add Comment

प्रस्तर कलाले थपिदियो रानीपोखरीमा चमक

पश्चिम चितवनको चित्रवनमा रहेको ऐतिहासिक रानीपोखरीमा बच्चा मरेपछि विह्वल अबस्थामा रहेकी एक महिलाको ढुङ्गामा कुदिएको आकृति । तस्वीर रासस
पश्चिम चितवनको चित्रवनमा रहेको ऐतिहासिक रानीपोखरीमा बच्चा मरेपछि विह्वल अबस्थामा रहेकी एक महिलाको ढुङ्गामा कुदिएको आकृति । तस्वीर: रासस

५ मंसिर, चितवन । हेटौँडाका एक मूर्तिकारले चित्रवन नगरपालिकामा रहेको ऐतिहासिक रानीपोखरीमा सुन्दर युवती (रानी) पानीमा नुहाएर लामो कपाल फिजाई निस्किँदै गरेको दृश्य विशाल ढुङ्गामा उतारे ।

‘विगतमा यो पोखरीमा रानी थिइन् होला, रानीले पौडी पनि खेल्थिन् होला, रमाउँथिन् होला,’ रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङले कलाकारको भनाइ उद्धृत गर्दै भने, ‘त्यही उतार्छु भनेर ढुङ्गा खोप्न थाल्नुभयो, पछि दुरुस्तै पारेर जानुभयो ।’

जिल्ला सदरमुकाम भरतपुरबाट करिव १५ किलोमिटरको पश्चिममा पर्ने रानीपोखरीमा आएका आन्तरिक पर्यटक रानीसँग सेल्फी नलिई फर्कने कमै हुन्छन् । द्वारभित्र पस्ने वित्तिकै दायाँपट्टि रानीको मूर्ति छ । त्यसको बायाँपट्टि केही पर एउटा दर्दनाक दृश्य ढुङ्गामा खोपिएको छ । एउटा शिशुको अकालमै मृत्यु हुन्छ । अनि त्यो आमालाई पीडा कति हुँदो हो । आमाले मरेको शिशुलाई काखमा च्यापेर घोप्टो परी भावविह्वल भएको दृश्य एउटै ढुङ्गामा उतारिएको छ । आमाको मात्र वात्सल्य देख्दा जो कोही पनि भावविह्वल हुन्छन् ।

रानीपोखरी घुम्न आएका आन्तरिक पर्यटक मनोज अर्याल भन्छन्, ‘गहिराइमा पुगेर करिव १५ मिनेट घोत्लिनुस् तपाईको मन थामिँदैन ।’ त्यो ढुङ्गाको दृश्यले आफूलाई भावुक बनाएको अर्याल बताउँछन् ।

एउटा ढुङ्गामा निकुञ्ज उतारिएको छ । निकुञ्जमा हुने जनावरहरु हात्ती, गैंडा, अर्ना, जरायो, माछाका आकृतिले रानी पोखराको चमक थपिदिएको छ । मूर्तिकार गोविन्द चौधरीले एउटै ढुङ्गामा एकापट्टि पञ्चनाग र अर्काेपट्टि थारु महिलाको आकर्षक तस्बिर कोरे । भीम श्रेष्ठले कमलको फूलमाथि युगल जोडीको प्रेमिल सम्बन्ध उतारिदिए ।

झापाका हिम्मत नेम्वाङले ढुङ्गालाई नयाँ आकार दिँदै अग्रभाग घोडाको जस्तो र पश्चभाग कछुवाको आकृतिमा ढालेर नयाँ सन्देश छाडेका छन् ।

‘मानिस जहिले पनि घोडाको जस्तो छलाङ मार्नुपर्छ र कछुवाको जस्तो स्थिर रुपमा काम गर्नुपर्छ भन्ने सन्देश हो,’ कलाकारकै शब्द सापटी लिँदै अध्यक्ष गुरुङ भन्छन्, ‘पहिले रानीपोखरीमा हाँस प्रशस्तै थियो अहिले लोप भयो तर कलाकार इन्दिरा श्रेष्ठले कहिल्यै लोप नहुने गरी ढुङ्गामै भएपनि हाँस बनाउनुभयो । कतै भ्यागुताका आकृति छन्, त कतै अमूर्त आकार कोरिएका छन् ।’

देशका विभिन्न क्षेत्रका २४ जना कलाकारले चितवनको जुगेडीबाट लगिएको विशाल ढुङ्गामा २४ मूर्ति कोरेर गएपछि रानीपोखरीको चमक थपिएको छ ।

स्थानीयवासी विलबहादुर नेपाली भन्छन्, ‘अहिले रानीपोखरीको मुहार नै फेरियो, आन्तरिक पर्यटक समेत यो मूर्ती बनेपछि बढेका छन् ।’

पचास लाख रुपैयाँको लागतमा २०७१ सालमा ललितकला प्रज्ञाप्रतिष्ठानको सहयोगमा राष्ट्रिय प्रस्तर मूर्ति रचना कार्यशालामा बनाइएका ढुङ्गाका आकर्षक मूर्तिले रानीपोखरीको मुहार नै फेरिदिएको हो ।

‘अन्तराष्ट्रिय कार्यशाला गर्ने सोच छ, तर बजेट अभाव छ,’ अध्यक्ष गुरुङले भने, ‘खुला मूर्ति सङ्ग्रहालय बनाउने सोच हाम्रो हो, म सबैसँग सहयोग गर्न आग्रह गर्छु ।’

साविक शारदानगर गाविसको वडा नम्वर ४ र ५ मा पर्ने यो रानीपोखरी हाल चित्रवन नगरपालिकाको ४ र ५ वडामा पर्छ । स्थानीयवासीले थाहा पाएअनुसार मल्लकालमै यहाँ रानीका नाममा पोखरी खनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment