Comments Add Comment

कांग्रेसले पनि खोज्यो संविधान संशोधन स्वीकार गर्ने मधेसी मोर्चाको प्रतिवद्धता

congress-cc-meeting
१४ मंसिर, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसमा मधेसी मोर्चाले स्वीकार गरेमात्र संविधान संशोधन प्रक्रिया अघि बढाउनु पर्ने आवाज बलियो रुपमा उठेको छ । नभए सीमांकनलाई लिएर आन्दोलन हुने र समस्या थप्ने काम मात्र हुने नेताहरुको विश्लेषण छ ।

सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रमा पनि यो आवाज बलियो बन्दै गएको छ । मधेसी मोर्चाले भने संशोधन दर्ता नभई सहमति दिन नसकिने भन्दै आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।

कांग्रेसको प्राथमिकता प्रमुख विपक्षी एमालेको समेत सहमति लिने र नभए दुई तिहाई पुग्ने सुनिश्चिततासहित संविधान संशोधन अघि बढाउने भएको कांग्रेसका एक मन्त्रीले बताए । उनले भने, ‘असफल हुने प्रस्ताव लैजाँदा समस्या समाधान हुनु त कता हो कता, थप्ने काम मात्र हुन्छ ।’

उनका अनुसार अहिले नै एमाले सहमतिमा आउने अवस्था छैन । त्यसैले कम्तिमा मधेसी मोर्चाले सरकारले अघि बढाउने संशोधन प्रस्ताव स्वीकार गर्ने प्रतिवद्धता जनाउनु पर्छ । पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका एक नेताले भने, ‘तर, मधेसी मोर्चा नै जिम्मेवार देखिएन । उसका नेताहरु नै स्वीकार गर्दैनौं भनिरहेका छन् ।’

पास नहुने संशोधन दर्ता गर्दा सीमांकन हेरफेरलाई लिएर प्रदेश नम्बर ५ मा तनावमात्र बढ्ने उनले बताए ।

सोमबार बसेको कांग्रेसको बैठकमा अधिकांश नेताहरु सीमांकन हेरफेरको विपक्षमा उभिएका थिए । पार्टी सभापति शेरबहादुर देउवा र सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मात्र यो नयाँ नभएको भन्दै बचाउ गरेका थिए ।

कांग्रेसले अब मधेसी मोर्चासँग छलफलको तयारी गरिरहेको छ । र, यो बैठकहरुमा संविधान संशोधन स्वीकार गर्ने प्रतिवद्धता मागिने कांग्रेसका एक नेताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment