बार्सिलोना । देशमा परेका ठूला प्राकृतिक प्रकोपहरु हुन् वा सामाजिक घटनाक्रम, स्पेनबासी नेपाली समुदायले आर्थिक वा कुनै न कुनै रुपमा सहयोग गर्दै आएका छन् ।
पछिल्लो क्रममा बोक्सीको आरोपमा चरम दुर्व्यबहार र कुटपिटपछि मृत भेटिएकी काभ्रेकी ३२ बर्षीया लक्ष्मी परियारका बालबच्चाहरुलाई स्पेनबासी नेपालीहरुले सहयोग गरेका छन् ।
यस्ता घटनाहरुले राजनीतिक, सामाजिक, जातीय, क्षेत्रीय संघ संस्थाहरुलाई मात्र होइन स्पेनमा रहेका युवाहरुलाई पनि मन छोएको छ, त्यसैले परियारको सहयोगार्थ युवाहरुले रकम संकलनको अभियान थाले ।
युवाहरुले क्रिसमस तथा अग्रेजी नयाँ बर्षको अबसरमा च्यारिटी डिनरको आयोजना मात्र गरेनन्, लक्ष्मीका बालबच्चाहरुको लागि आर्थिक सहयोग पनि जुटाए ।
फलस्वरूप १ लाख २५ हजार रुपैयाँ संकलन गरेर पीडित परिवारलाई हस्तान्तरण गर्न युवाहरु सफल भएका छन् । यसरी सामान्य फुटबल खेल खेल्दा नामाकरण भएको माउन्ट एभरेष्ट युथ समूह हाल भने सामाजिक डोरीले बाँधिएको छ ।
आफूहरुले जुटाएको रकम हस्तान्तरणका लागि माउन्ट एभरेष्ट युथ समुहले स्पेन निबासी दिनेश राज रेग्मीलाई जिम्मेबारी दिएका थिए । यसैबीच रेग्मीले नेपाल पुगेलगत्तै आइतबार धुलिखेलमा एक कार्यक्रमको गरी आर्थिक रकम परिवारलाई हस्तान्तरण गरेका छन् ।
लक्ष्मीका छोराहरु सागर, सुमन र सुशीलको संयुक्त नाममा धुलिखेलस्थित राष्ट्रिय बाणिज्य बैंकको खातामा रकम राखिएको माउन्ट एभरेष्ट समुहका एक सदस्य सुरेश शर्माले जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा सहभागी थिए । बालबालिका पालनपोषण तथा शिक्षा दीक्षामा रकमको सदुपयोग हुनेमा समूह बिश्वस्त रहेको छ ।
समूहका सदस्य शर्माले भने, ‘यो सबैको प्रयासले नै सम्भव भएको हो, सोचे अनुरुप रकमलाई सही ढंगले बुझाएका छौं, यसले थप सामाजिक काममा लाग्न हामीलाई हौसला मिलेको छ ।’