Comments Add Comment

शंखरापुरलाई कागेश्वरीमा बिलय गराउन खोजिएको भन्दै आन्दोलन घोषणा

५ फागुन, काठमाडौं । शंखरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा विलय गराउने स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सच्याउन माग गर्दै स्थानीयले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

शंखरापुर नागरिक समाजले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै शंखरापुर नगरपालिकालाई यथावत कायम राख्न माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

समाजले फागुन ६ गते कोणसभा, ७ गते मसाल जुलुस, ८ गते काठमाडौं जिल्ला प्रशासन कार्यालय घेराउ र ९ गते शंखरापुर नगरपालिका बन्द गर्ने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का सांसद दीपकप्रसाद कुइँकेलले शंखरापुर नगरपालिकालाई यथावत कायम नगरे आन्दोलनको आगो सल्काउने चेतावनी दिए ।

उनले भने, ‘काठमाडौं ८ देखि ११ वटा नगरपालिका आवश्यक छ भनेर हामीले सुझाव दिएका थियौं तर, स्थानिय तह पुनसंरचना आयोगले गलत प्रतिवेदन तयार पार्‍यो ।’

कुइँकेलले शंखरापुरका जनताको परिचय, त्यहाँको इतिहास मेटाउने गरी शंखरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा विलय गराउन नहुने बताए । उपत्यकाको पुरानो र भौगोलिक रुपमा ठूलो यस साँस्कृतिक शहर शंखरापुर नगरपालिकालाई यथास्थितिमा नै निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

शंखरापुुर नागरिक समाजका संयोजक रुपेश श्रेष्ठले भने, ‘शंखरापुर नगरपालिकालाई सार्ने काम गरिन्छ र अर्को नामले विलय गराइन्छ भने हामी यसका बिरुद्धमा आन्दोलन गर्छौं ।’

श्रेष्ठले सो नगरपालिका विलय गरिएमा दुर्गम पहाडी स्थानका जनताले स्थानीय नगरपालिकाबाट पाउनुपर्ने सेवा र सुविधाबाट वञ्चित हुने र जनजातिको पहिचान खतरामा पर्ने बताए ।

२०७१ मंसिर १६ गते शंखरापुर र कागेश्वरी मनहरा नगरपालिका घोषणा गरिएको थियो । हाल शंखरापुर नगरपालिकामा २५ हजार तथा कागेश्वरी मनहरा नगरपालिकामा ७५ हजार जनसंख्या रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment