Comments Add Comment

तनावका बीच सप्तरीमा एमालेको शक्ति प्रदर्शन, ओलीले भने-अब मधेसमा अड्डा जमाएर बस्छौं


२३ फागुन, राजविराज । मधेसी मोर्चाको अवरोधका बीच नेकपा एमालेले सप्तरीमा शक्ति प्रदर्शन गरेको छ ।

मेची-महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा एमालेले सभा गरेको छ, जसलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २/४ जनाले कालोझण्डा देखाउँदैमा एमालेको अभियान नरोकिने बताए ।

एमालेको कार्यक्रम विथोल्ने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले सोमबार विहानैदेखि प्रदर्शन गरेका थिए । तर, ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई रोके र, एमालेको कार्यक्रम स्थलसम्म पुग्न दिएनन् ।

प्रदर्शनकारीलाई रोक्न प्रहरी सडक छेउको खेतसम्मै पुगेको थियो । र, त्यस क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच पटक-पटक झडप समेत भएको छ ।

बाहिर तनावपूर्ण अवस्था रहेपनि एमालेले औद्योगिक क्षेत्रभित्र आफ्नो कार्यक्रम सम्पन्न गरेको छ ।

झण्डै १० हजार सहभागी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले मधेसको रैथाने पार्टी भएको बताए । २/४ जनाले भन्दैमा एमाले मधेस विरोधी पार्टी नहुने भन्दै उनले भने, ‘एमाले मधेस पस्यो, अब अड्डा जमाएर बस्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको अघिल्लो सरकारले तराई मधेसमा विकासका दर्जनौं योजनाहरु ल्याएपछि विरोध भएको बताए ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेसको धर्तीपुत्र आफू भएको बताए । मैथिली भाषामा सम्बोधन गरेका उनले नजिकै रहेका एमाले अध्यक्ष ओलीलाई देखाउँदै भने, ‘मभन्दा पुरानो धर्तीपुत्र केपी ओली हुन् ।’

एमालेको अभियान सप्तरीको कञ्चनपुर पुगेर बास बस्नेछ । एमालेको कार्यक्रम सकिएपनि प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताको झडप भने ठाउँ-ठाउँमा भइरहेको छ ।

झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले दर्जनौं अश्रुग्यासका साथै हवाई फायर गरेको छ । एउटा मोटरसाइकलमा आगजनी पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment