Comments Add Comment

एमालेले माफी नमागेसम्म प्रतिवाद हुन्छः कर्ण

'स्थानीय तहको संख्या पनि अमान्य'

२३ फागुन, काठमाडौं । मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले नेकपा एमालेले माफी नमागेसम्म गल्ली-गल्लीमा प्रतिवाद भइरहने बताएका छन् । मेची-महाकाली अभियानमा भएको अवरोधलाई उनले एमाले आफैले निम्ताएको परिणामको संज्ञा दिए ।

‘एमालेले विगतमा गम्भिर गल्ती गरेको थियो । उसले मधेसमा कालो दिवस मनाउँदै गर्दा कालो मान्छेले कालो दिवस मनाउनु नौलो कुरा होइन भनेर भन्यो,’ रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कारमा कर्णले भने, ‘आन्दोलनमा मान्छे मर्दा चार वटा आँप खस्यो भनेर प्रतिक्रिया दिए । यो भनेको रंगभेदी काम हो ।’

‘सप्तरीको अवस्था हेर्नुहुन्छ भने पुलिस प्रशासनको ब्यारेक बनाइएको छ । कार्यक्रम स्थल सारिएको छ,’ कर्णले भने, ‘एमाले मधेसमा जानुभन्दा पहिले माफी माग्नुपर्ने थियो । मान्छेबाट गल्ती हुन्छ, तर गल्ती सच्याउनुपर्छ ।’

सदभावना पार्टीका सहअध्यक्ष समेत रहेका नेता कर्णले अहिलेकै अवस्थामा स्थानीय तहको चुनाव हुनै नसक्ने ठोकुवा गरे । ठूला भनिएका दलहरुले सत्ता स्वार्थका लागि चुनावको नौटंकी गरेको कर्णले टिप्पणी गरे ।

‘निर्वाचन कसले गर्ने ? कहाँ हुने ? निर्वाचन केन्द्र कहाँ हुने ? वाड कहाँ रहने भन्ने कुरा नै अहिलेसम्म टुंगो नलागेकोले निर्वाचन कसरी हुन्छ ?’ कर्णले प्रश्न गर्दै भने, ‘एउटालाई सरकारमा जान हतार छ, अर्कोलाई कुर्सी लम्ब्याउने चिन्ता छ, एमालेलाई कतिखेर सरकारमा जाऊँ भन्ने दाउ छ । मधेसीलाई दोष लगाएर निर्वाचनको नौटंकी अब नदेखाए हुन्छ ।’

संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा नजाने कर्णले स्पष्ट पारे । हालै स्थानीय तहको संख्या बढाएको कुरा पनि आफूहरुले नमान्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment