८ चैत, काठमाडौं । विपक्षी दलका नेता केपी शर्मा ओलीले महान्यायाधिवक्ता रमण श्रेष्ठ पदमा बस्न अयोग्य भएको दाबी गरेका छन् । श्रेष्ठ ‘उग्रपन्थी पार्टीको हुल्याहा कार्यकर्ता’ का रुपमा प्रस्तुत भएको ओलीको आरोप छ ।
एमालेको मेची-महाकाली अभियानका स्वयंमसेवकलाई धन्यवाद दिन मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले श्रेष्ठको चर्को आलोचना गरे । महान्यायाधिवक्ता जस्तो जिम्मेवार पदमा बसेका श्रेष्ठले जथाभावी बोल्दै हिँडेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मेरो झगडियाले जित्दैन भने बहस नै गर्दिनँ भन्नु अनिष्ठको संकेत हो ।’
राप्रपा विधानमा रहेको हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्वाचन आयोगको कदमप्रति संकेत गर्दै एमाले अध्यक्ष ओलीले महान्यायाधिवक्ता श्रेष्ठमाथि आयोगलाई गलत सल्लाह दिएको आरोप लगाएका छन् । यो चुनाव भाँड्ने षड्यन्त्र हुनसक्ने उनको आशंका थियो ।
उनले महान्यायाधिवक्ता श्रेष्ठबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।