Comments Add Comment

बैंकको ब्याजदर छिटो परिवर्तन हुनबाट रोकियोस् : अध्यक्ष मुरारका


२८ चैत, काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पुशुपति मुरारकाले बैंक तथा वित्तीय सस्थाको ब्याजदरमा हुने छिटोछिटो परिवर्तनले उद्योगधन्दामा नकारात्मक असर परेको बताएका छन् । सोमबारदेखि सुरु भएको उद्योग वाणिज्य महासंघको बार्षिक साधारण सभामा उनले  यसलाई रोक्न  नेपाल राष्ट्र बैंक र सरकारसँग आग्रह समेत गरेका छन् ।

‘उद्योगको लगानी प्रभावित नहोस् भनेर ब्याजदरमा सुनिश्चितता हुने व्यवस्था गर्नुपर्याे,’ उनले भने । पछिल्लो समय एक महिनामै पनि ब्याजदर परिवर्तन हुन थालेको मुरारकाले उल्लेख गरे । साथै, उनले उद्योग क्षेत्रका मुद्धा मामिलालाई छिटो टुंगो लगाउन सरकारले व्यवसायिक अदालत समेत स्थापना गर्न सरकारसँग आग्रह गरेका छन् । उद्योगीका मुद्धा मामिला छिटो टुङ्गो नलाग्दा उद्योगिक वातावरण बिग्रने गरेकोले मुद्धा छिटो टुंगो लगाउनु पर्ने मुरारका बताउँछन् । साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले कर्जा योग्य लगानी अभावको कारण बढि ब्याज दिएर निक्षेप लिनु परेको र यही कारण कर्जाको ब्याजदर पनि बढाउनु परेको बताउँदै आएका छन् । बैंकहरुले केही महिनाको अन्तरालमा नै कर्जाको ब्याजदरमा ६ प्रतिशतसम्म वृद्धि गरेका छन् । यसरी ब्याजदर घटबढ हुँदा उद्योग क्षेत्रको लगानीमा समेत असर पर्ने भएकाले यसलाई निश्चित समयसम्म स्थिर राख्नपर्ने मुरारकाको भनाई छ ।

उद्योग क्षेत्र बिकासको लागि सरकारले स्वदेशी उद्योगका उत्पादन अनिवार्य रुपमा खपत गर्ने व्यवस्था समेत गरिदिन सरकारसँग मुरारकाले आग्रह गरे । साथै, उद्योग स्थापनाका क्रममा विभिन्न मन्त्रालयमा धाउन पर्ने बाध्यताका कारण लगानीमा असर परेकोले अब एकै स्थानबाट उद्योग स्थापना गर्ने व्यवस्था गर्नुपर्ने समेत उनले बताए ।

महासंघको साधारण सभाले नयाँ कार्य समिति चयन गर्नेछ । हालै महासंघले बिधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने नयाँ व्यवस्था गरेपछि अध्यक्ष बाहेक अन्य पदका लागि निर्वाचन हुने भएको हो । नयाँ व्यवस्थासँगै बरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा स्वतः अध्यक्ष बन्न लागेकी छन् । यस बाहेकका अन्य पदका लागि निर्वाचनको तयारी भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment