+
+

सञ्चालन भएन धसिंगरे तेल उद्योग

रामबहादुर थापा/रासस रामबहादुर थापा/रासस
२०७५ चैत २ गते ९:१९

 २ चैत, बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा धसिंगरेको तेल उत्पादन गर्न खुलेको उद्योग सञ्चालनमा आउन सकेको छैन । उद्योग स्थापना भएको एक वर्ष बिति सक्दा पनि तेल उत्पादन शुरु हुन नसकेको हो ।

उद्योगका संरचना र यन्त्र, उपकरण प्रयोगमा नआउँदै जीर्ण जस्तै देखिन थालेका छन् । उद्योगको संरक्षण र रेखदेखसमेत हुन सकेको छैन । स्थानीयको सक्रियता नदेखिएपछि सञ्चालनमा केही ढिलाइ भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

‘आउँदो वैशाखदेखि तेल उत्पादन शुरु गर्ने तयारीमा छौँ,’ उद्योगका अध्यक्ष दल थापाले भने, ‘गत वर्ष संरचना बनाउँदैमा समय बित्यो ।’

उद्योग सञ्चालन भएपछि गाउँलेले आयआर्जनको अवसर पाउने स्थानीयवासी गोपाल श्रीसले बताए । ‘जतिसक्दो छिटो उद्योग चलाउने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘गाउँको समृद्धिको आधार यो पनि बन्न सक्छ । ‘जङ्गलबाट धसिंगरे निकाल्ने अघिल्लो याम (वैशाख–कात्तिक) अगावै उद्योग खुलेपनि तेल उत्पादन शुरु हुन सकेन ।

स्थानीय थामाको चुली सामुदायिक वनमार्फत उद्योग चलाउने योजना बनेपनि त्यसले मूर्त रुप लिएको छैन । कानूनी रुपमा उद्योग दर्ता गर्न पनि बाँकी रहेको अध्यक्ष थापाले बताए । यो वर्ष सबै प्रकृया र तयारी पुर्याएर तेल उत्पादन शुरु गरिने उनको दाबी छ ।

तत्कालीन जिल्ला वन कार्यालय बागलुङको रु पाँच लाख ५७ हजार र काठेखोला गाउँपालिकाको रु दुई लाख बजेट उद्योग स्थापनामा खर्च भएको छ । जङ्गलमा खेर गइरहेको वनस्पति धसिंगरेबाट तेल उत्पादन गरेर बेच्ने लक्ष्यसहित उद्योग खोलिएको हो ।

मछिनो भनेरसमेत चिनिने धसिंगरेको पात र मसिनो डाँठलाई ‘डिस्टिलेशन’ प्रविधिबाट आगोमा पकाउँदा निस्कने बाफलाई चिस्याएर तेल बनाउने गरिन्छ । यसरी उत्पादित तेल प्रतिलिटर छ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । जडिबुटी भनेर नचिन्दा यसअघि किसानले मछिनोलाई गोठमा वस्तुभाउलाई ओछ्याउने स्याउलाको रुपमा प्रयोग गर्दै आएका थिए ।

उनले आफूहरुको समेत पहलमा उद्योग स्थापना गरेपनि सञ्चालनमा भइरहेको ढिलाइप्रति गुनासो गरे । उद्योग सञ्चालक समिति जिम्वेवार बन्नुपर्ने उनको भनाइ छ ।

उद्योग शुरु हुँदा गाउँका किसानको पनि आम्दानीको बाटो खुल्ने देखिन्छ । मछिनो सङ्कलन गर्ने र उद्योगसम्म ल्याउने काम किसानले गर्नेछन् । जस वापत तोकिएको पारिश्रमिक उद्योगले उपलब्ध गराउनेछ । स्थानीय सामुदायिक वनले पनि मछिनो निकाले वापत उद्योगबाट रकम पाउनेछ ।

२०० किलो धसिंगरेको पातबाट एक लिटर तेल उत्पादन हुन्छ । उत्पादित तेल शरीर मालिस गर्न, मञ्जन र आयोडेक्समा प्रयोग हुने जनाइएको छ । नेपालमा उत्पादन हुने उक्त तेल विदेशमा समेत महङ्गो मूल्यमा निर्यात हुने गरेको छ । धम्जाको थामाको चुली र तीनचुले सामुदायिक वन क्षेत्रमा धसिंगरे प्रशस्त पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?