राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहमा विशेष सांस्कृतिक पहिरनसहित उपस्थित भएका छन् ।
किरात समुदायसँग जोडिएको परम्परागत सिलाम साक्मा लगाएर समारोहमा सहभागी हुँदा उनको पहिरनले सबैको ध्यान आकर्षित गरेको छ ।
सामान्य पोशाकभन्दा फरक, यो पहिरनले केवल बाहिरी सौन्दर्य मात्र होइन, गहिरो सांस्कृतिक अर्थ पनि बोकेको हुन्छ ।
किराती संस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतको रूपमा लिइन्छ । यसलाई मृत्यु वा अपशकुनको बाटो छेक्ने पवित्र चिन्ह मानिन्छ । यही कारणले गर्दा यस्तो पहिरन विशेष अवसर र धार्मिक–सांस्कृतिक सन्दर्भमा प्रयोग गरिन्छ ।
शपथ ग्रहण समारोहमा बालेनको छातीमा सुशोभित सिलाम साक्माले उनको व्यक्तित्वलाई अझ अर्थपूर्ण र आकर्षक बनाएको देखिन्छ । परम्परागत पहिरनलाई आधुनिक सार्वजनिक मञ्चमा प्रस्तुत गर्नुले विविधता, पहिचान र समावेशिताप्रतिको सम्मानको सन्देश दिएको रूपमा पनि हेरिएको छ । यसले नेपाली समाजमा परम्परा र आधुनिकताको सुन्दर समन्वय झल्काएको छ ।
बालेनको यो उपस्थितिले नेपाली राजनीति र सार्वजनिक जीवनमा सांस्कृतिक पहिचानलाई सम्मान गर्नु एकता र विविधताको सुन्दर अभिव्यक्ति भन्ने कुरा देखाएको छ ।
यसअघि हर्क साम्पाङ र बालेनबीच पहिलो भेट हुँदा हर्क साम्पाङले बालेनलाई सिलाम साक्मा लगाइदिँदा यसले चर्चा पाएको थियो ।
त्यसपछि नेपाली फिल्म जारी लगायतले यसलाई थप लोकप्रिय बनाउँदै सांस्कृतिक पहिचानका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
के हो सिलाम साक्मा ?
लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ छेक्नु हो । त्यसैले सिलाम साक्माको अर्थ ‘मृत्युको बाटो छेक्ने’ हुन्छ ।
यो केवल एउटा पहिरनको हिस्सा मात्र होइन, लिम्बू समुदायको सांस्कृतिक पहिचान, आस्था र विश्वाससँग गहिरो रूपमा जोडिएको प्रतीक हो । पछिल्लो समय यसको प्रयोग बढ्दै जानु सांस्कृतिक चेतना र आफ्नो पहिचानप्रतिको गर्वको संकेतका रूपमा पनि बुझ्न सकिन्छ ।
अतिथिलाई स्वागत गर्ने क्रममा सिलाम साक्माको प्रयोग हुने गरेको छ । सार्वजनिक समारोह तथा विवाहमा सहभागी हुन पनि सिलाम साक्मालाई छातीमा सजाएर पुग्ने गर्छन् ।
कसरी बनाइन्छ ?
हातले बुनिने चारकुने सिलाम साक्मामा छेउमा फुर्को बनाइन्छ । यसलाई दुईवटा बासको कप्टेरोमा विभिन्न रङ्गका धाकोबाट आकर्षक ढंगले बनाइन्छ । दैविक शक्तिलाई खुसी पारेर सुख, शान्ति, सद्भावको कामना गर्दै तङ्सिन गरिन्छ । सिलाम साक्मालाई जीवनको सुरक्षा कवजको रुपमा पनि लिइन्छ ।
प्रतिक्रिया 4