News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माणाधीन छ र प्रतिनिधिसभा हल पूर्ण तयार नभएपछि बहुउद्देश्यीय हल अस्थायी रूपमा प्रयोग हुँदैछ।
- चैत १२ गते नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ लिनेछन् र १३ गते नयाँ प्रधानमन्त्रीको शपथ तयारी छ।
- निर्माण कार्यले म्याद थप गरिसक्दा पनि संसद् भवन ९५ प्रतिशत पूरा भएको छ र छिट्टै काम सकिने दाबी गरिएको छ।
१० चैत, काठमाडौं । चैत १० गते बिहान कार्यालय समय खुल्ने बेलामा अनलाइनखबरको टोली सिंहदरबारस्थित नयाँ संसद् भवन परिसर पुग्दा त्यहाँ धमाधम काम भइराखेको थियो । भवन परिसरदेखि भित्रीक्षेत्र कामदारले भरिभराउ थियो । कतै रंगरोगन त कतै टायल बिच्छ्याउने काम भइराखेको छ ।
प्रतिनिधिसभा हल र राष्ट्रियसभा हल पूर्ण रुपमा तयार भइसकेको छैन । राष्ट्रिय सभाको हलमा सांसदका लागि कुर्सी तयार छन् र बाँकी व्यवस्थापनको काम चलिराखेको छ ।
प्रतिनिधिसभाको हल तयार नभएपछि अस्थायी रुपमा निर्माणाधीन भवनको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रतिनिधिसभा हलको रूपमा प्रयोग गरिँदैछ ।
हलमा प्रवेश गर्दा बित्तिकै सभामुखको आसन, संसद्का महासचिव र अन्य कर्मचारीका राखिएका चेयर कुर्सी टेबल देख्न सकिन्छ । सांसदहरूका लागि २८० वटा कुर्सी राखिएका छन् ।
हरेक दुई जना सांसदका लागि एउटा माइकको व्यवस्था गरिएको छ । ती माइक जडान, साउण्ड सिस्टम चेकअप र भिडियो लाइभलगायतका व्यवस्थापनका कार्य चलिरहेको छ । यही हलमा चैत १२ गते नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ लिनेछन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बहुउद्देश्यीय हललाई अस्थायी रुपमा प्रयोग गर्न लागिएको हो । जहाँ शपथ पछाडि प्रतिनिधिसभाका केही बैठकहरू समेत बस्नेछन् ।
सांसदहरूलाई संविधानसहितको झोला
सांसदहरूको शपथ भएपछि भोलिपल्ट (१३ गते) नयाँ प्रधानमन्त्रीको शपथको तयारी छ । १६ गतेका लागि संघीय संसद् अधिवेशन आह्वानको तयारी छ ।
२१ फागुनको निर्वाचनबाट निर्वाचित सांसदहरूमध्ये सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी हुन् । ७८ वर्षीय केसीले १२ गते सांसदहरूलाई शपथ खुवाउनेछन् र सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।

शपथपछि नवनिर्वाचित सदस्यलाई प्रतिनिधिसभा सदस्यको प्रतीक चिह्न (लोगो) दिइनेछ । यसका अलावा संसद् सचिवालयले सांसदहरूका लागि संविधान, संसद् नियमावली, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी सँगालोसहितका सामग्री राखेर झोला दिँदैछ ।
निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठुलो, कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दल बनेर आएका छन् । यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दल बनेको छ । एक जना स्वतन्त्र उम्मेदवार छन् ।
वेलको स्पेस कम
अस्थायी हलमा सांसदहरूलाई दलीय आधारमा बस्ने गरी कुर्सी व्यवस्थापन गरिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको हलको तुलनामा बहुउद्देश्यीय हल साँघुरो छ । सभामुखको आसन र सांसदको कुर्सीका बीचमा थोरै मात्रै दुरी छ ।
‘वेलको स्पेस कम छ’ संसद सचिवालयका प्रवक्ता गिरी भन्छन्, ‘अस्थायी रुपमा प्रयोग गरिएको हलमा सोचे जस्तो स्पेस छैन ।’ सांसदहरूले वेल घेर्ने अवस्था आयो भने के गर्ने ? जवाफमा गिरी ‘त्यस्तो अवस्था तत्कालै नआउने अपेक्षा रहेको’ बताउँछन् ।

केही अफ्ठ्यारो भइहाले तत्कालीन समयमा आवश्यक निर्णय लिएर व्यवस्थापन गर्ने योजना रहेको उनले सुनाए । ‘केही समयलाई हो । छिट्टै हामी प्रतिनिधिसभाकै हलमा जान्छौं’ सहसचिव गिरीले भने ।
वेसको दुवै साइडमा सुरक्षार्थ मर्यादापालकहरू रहनेछन् । बहुउद्देश्यीय हलसँगै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको कार्यालय र कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष छ ।
प्रतिनिधिसभा बैठकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण र बैठक सञ्चालन गर्ने सम्बन्धमा सभामुखको अध्यक्षतामा पदेन सदस्य बाहेक बढीमा २१ जना सदस्य रहेको कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिने व्यवस्था छ ।
जसमा अध्यक्ष सभामुख, पदेन उपाध्यक्ष उपसभामुख र पदेन सदस्यका रुपमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहन्छन् । समितिको सदस्यहरूमा सत्तारुढ दलका मुख्य सचेतक, सचेतक, विपक्षी दलका प्रमुख सचेतक र सचेतक रहन्छन् । १० जना भन्दा बढी सांसद सदस्य भएको दलका प्रमुख सचेतक र राष्ट्रिय पार्टीले तोकेका सांसद पनि सदस्य रहन्छन् ।
सांसदलाई बेग्ला–बेग्लै चेम्बर
सिंहदरवारभित्र १५६ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन निर्माणाधीन छ । जसमा पाँच तलाका अग्ला भवन ठडिइसके । समग्र निर्माण प्रगति भने ९५ प्रतिशत छ ।
शहरी विकास मन्त्रालयका अनुसार सिंहदरबारभित्रै निर्माणाधीन संसद्को नयाँ भवन अत्याधुनिक सुविधासम्पन्न छ । सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको भवन नजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् । साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाइएको छ ।
प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।

सबै सांसदलाई बेग्लाबेग्लै चेम्बरको व्यवस्था छ । संघीय संसद् सचिवालय, राष्ट्रियसभा र प्रनिनिधिसभाका लागि आवश्यक संरचना नजिकै राखिएको छ ।
नयाँ संसद् भवन क्षेत्रको मध्यभागमा अति विशिष्ट व्यक्ति (भीभीआईपी) प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्य सबैका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्नेवित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एकापट्टि संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एकापट्टि संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रियसभा छ ।
७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभाहल ४०० र बाल्कोनीमा ३०० क्षमता छ । राष्ट्रियसभाको बाल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबी छ ।
तर, यी संरचनाहरू सम्झौताअनुसार समयमै बन्न सकेनन् । सुरुको सम्झौताअनुसार काम हुन सकेको भए नयाँ संसद् भवनको निर्माण १६ असोज २०७९ मै सकिने थियो । २०७९ को चुनावबाट आउने प्रतिनिधिसभाको बैठक राख्ने लक्ष्यसहित १६ असोज २०७६ मा संसद् भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।

उल्लेख्य प्रगति हुन नसकेपछि १ वैशाख २०८० बाट १९ चैत २०८० सम्म समय काम सक्ने गरी दोस्रो पटक म्याद थप भयो ।
काम नसकिएपछि २० असोज २०८० देखि १९ चैत २०८० सम्म काम सक्नेगरी तेस्रो पटक म्याद थप भयो । फेरि पनि काम सकिएन चौथो पटक १८ चैत २०८१ सम्मका लागि म्याद थपिएको थियो ।
पाँचौं पटक गत वर्ष १२ असारमा ६ महिनाका लागि म्याद थप गरिएको थियो । त्यसअनुसार गत पुस १६ मा सकिनुपर्ने काम नसकिएपछि छैठौं पटक ९० दिनका लागि मयाद थप गरेर काम भइराखेको छ ।
अब भने म्याद थप्न नपर्ने सम्बन्धित अधिकारीहरूको दाबी छ । निर्माण सम्पन्न भएसँगै नयाँ संसद् भवन क्षेत्रभित्र बगैंचा र सानो चौर रहनेछ । संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन छ ।
प्रेस र छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्न मल्निे पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र हुनेछ ।
तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

प्रतिक्रिया 4