+
+
Shares

संसद् भवनको निर्माण प्रगतिबारे राष्ट्रिय सभा अध्यक्षको चासो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १४:३२

२३ माघ, काठमाडौं । सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधिन संसद् भवनको निर्माण प्रगतिबारे राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले चासो देखाएका छन् ।

यो विषयमा उनले निर्माण व्यवसायी, सहरी विकास मन्त्रालयका पदाधिकारीहरूसँग संयुक्त छलफलमा गर्दैछन् । छलफलमा संसद सचिवालयका पदाधिकारीहरू समेत रहनेछन् ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार छलफल दिउँसो साढे ३ बजे राष्ट्रिय सभाको अध्यक्षको कार्यकक्षमा हुनेछ ।

चुनावबाट आउने नयाँ प्रतिनिधिसभाको बैठक सोही निर्माणाधिन भवनमा राख्ने तयारी छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन जलेपछि सिंहदरबारस्थित संसद्को नयाँ भवनमै आउने प्रतिनिधिसभाको बैठक राख्ने गरी छलफल अघि बढेको हो ।

सिंहदरबार परिसरमा संसद्का लागि पाँच तलाका अग्ला भवन बनेका छन् ।

संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ । भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको छ ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै संसद्को आफ्नै नयाँ आधुनिक भवन बनेसँगै भाडाको तनावबाट संसद् सचिवालय मुक्त हुनेछ ।

आफ्नै भवन नभएका कारण संसद् सचिवालयले बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई विगत १९ वर्षसम्म निरन्तर भाडा तिर्नुपरेको थियो । सुरुमा वार्षिक १६ करोड ५० लाख भाडा तिर्ने गरी सम्झौता भएको थियो । आर्थिक २०७८–७९ मा १० प्रतिशत भाडा बढेको थियो । नयाँ आफ्नै भवन बनेसँगै संसद् सचिवालय अब यस्तो भाडा तिर्नुपर्ने तनावबाट मुक्त हुनेछ ।

शहरी विकास मन्त्रालयका अनुसार सिंहदरबारभित्रै निर्माणाधीन संसद्को नयाँ भवन अत्याधुनिक सुविधासम्पन्न छ । सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको भवन नजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रनिनिधिसभाका लागि आवश्यक संरचना नजिकै राखिएको छ ।

नयाँ संसद् भवन क्षेत्रको मध्यभागमा भीभीआईपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्नेवित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एकापट्टि संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एकापट्टि संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।

७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभाहल ४०० र बाल्कोनीमा ३०० क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबि छ ।

साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाएको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।

संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन हुनेछ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैंचा र सानो चौर रहनेछ ।

प्रेस र छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्न मिल्ने पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?